धर्मराउँदै टिकेको कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धन र एमालेबीच स्थानीय निर्वाचनमा प्रतिस्पर्धा हुने निश्चित भएको छ । एमाले कमजोर नभएको निष्कर्षका आधारमा गठबन्धन बनेको हो ।
भन्न चाहिँ गठबन्धनमा रहेका पार्टीका नेताहरू एमालेलाई लक्षित गर्दै प्रतिगमनकारी शक्तिलाई पराजित गर्न गठबन्धन गर्नुपरेको बताउँछन् । जसरी र जुन आधारमा गठबन्धन बने पनि सैद्धान्तिक रूपमा मेल नभएका पार्टीहरूबीच गठबन्धन भएको हो । भिन्न राजनीतिक कार्यक्रम र कार्यदिशा भएका पार्टीहरूबीच भएको हो ।
र, गठबन्धनको जोडबल गर्नेमध्येको एउटा पार्टी हो,– नेकपा माओवादी केन्द्र । यही पार्टीका नेता हरिबोल गजुरेलसँग गठबन्धन गर्नुपर्ने बाध्यता र गठबन्धनको निरन्तरतालगायत सवालमा केन्द्रित रहेर गरेको कुराकानीको सम्पादित अंश प्रस्तुत छ:
राजनीतिक र सैद्धान्तिक धार नमिल्ने नेपाली कांग्रेससहितका दलहरूसँग निर्वाचनमा गठबन्धन गर्नुको अर्थ के हो ?
प्रतिगमनका खतराहरू टरेका छैनन् । कायमै छन् । खतरा कायम रहँदासम्म गठबन्धनको आवश्यकता रहिरहन्छ । कांग्रेस पनि प्रतिगमनविरुद्ध लडेको दल हो । र, प्रतिगमनलाई निर्वाचनबाट फेरि परास्त गर्न कांग्रेससहितका गठबन्धन बनेको हो ।
कमजोर भएपछि गठबन्धनको सहारा लिन माओवादी बाध्य भयो होइन ?
गलत । माओवादी कमजोर भयो र गठबन्धन गर्यो भन्दै हिँड्यो भने त्यो पूरै गलत हुन्छ । त्यस्तो कसैले सोच्नु हुँदैन । माओवादी कमजोर भएका कारणले भन्दा पनि अहिलेको आवश्यकता र औचित्यको आधारमा भएको हो । फेरि, गठबन्धन प्रतिगमनको विपक्षमा एउटै मोर्चामा उभिएको हो । सडक संघर्ष गरेको हो ।
यस्तो राजनीतिक पृष्ठभूमिबीच हामी (माओवादी) के प्रतिगमनको पक्षधरसँग गएर मिल्ने त ? नैतिकताले दिन्छ ? सिद्धान्तले दिन्छ ? कम्युनिस्टको नाममा देशलाई प्रतिगमनमा लैजाने शक्तिसँग कसरी हुन्छ हाम्रो गठबन्धन ?
तर, माओवादी कमजोर त छ नै । त्यही भएर गठबन्धन चाहेको सत्य हो । स्वीकार्नु हुन्छ ?
निर्वाचन परिणामको आधारमा त २०६४ सालको निर्वाचनपछि कमजोर भएकै हो । त्यो त सबैले देखिराखेकै हो । बुझेकै हो । तर, के एजेण्डाको आधारमा माओवादी कमजोर हो त ? कमजोर भन्न मिल्छ ?
उसो भए जनमतको आधारमा माओवादी कमजोर हुँदै जानुको कारण के हो ? तपाईंको विश्लेषण के छ ?
अध्यक्ष प्रचण्डले प्रष्टसँग पार्टीको महाधिवेशनमा भनिसक्नु भएको छ त– वैचारिक अस्पष्टता भयो । अर्थात् विचारको विकास भएन । कटुवाल प्रकरणजस्ता घटना घटे । यस्ता घटनाले माओवादीलाई ठूलो क्षति पु¥यायो । र, कहिले मोहन वैद्य ‘किरण’, बाबुराम भट्टराई, रामबहादुर थापा ‘बादल’ त कहिले नेत्रविक्रम चन्द ‘विप्लव’को दबाब र प्रभावमा परेर आफूलाई लागेको भन्दा फरक निर्णय गर्दा पार्टी यो अवस्थामा आइपुग्यो भनिसक्नु भएको छ । अब म सच्चिने र तपाईंहरू पनि सच्चिनुपर्छ भन्नु भएको छ ।
अर्को प्रसङ्ग, गठबन्धन जाने चाहिँ कहाँसम्म हो ?
कहाँसम्म भन्ने भन्दा पनि पहिले बुझ्नुपर्ने कुरा के हो भने यो गठबन्धन विशिष्ट उद्देश्यका लागि बनेको हो । हामीले जनतालाई पनि बुझाउनुपर्ने छ । कार्यकर्तालाई पनि बुझाउनुपर्ने छ । किनभने प्रतिगमनविरोधी गतिविधिको रूपमा दुई चोटी संसद् भंग भयो । त्यो देखिरहेका छौँ । पुनर्स्थापित संसद् पनि ६ महिना बढी समयदेखि अवरुद्ध छ । यसले गर्दा एमालेलाई कसरी कमजोर बनाउने भन्ने उद्देश्यले गठबन्धन भएको हो । यो उद्देश्य पूरा नहुँदासम्म गठबन्धन कायम रहन्छ ।
अर्को कुरा गठबन्धन आवश्यक भइसक्यो । सामान्य स्थितिमा पनि गठबन्धन नभइ स्थिर सरकार नबन्ने भयो । त्यही भएर निर्वाचनमा पनि गठबन्धन गर्ने अवस्थामा पुगेका हौँ । गठबन्धन गरेर निर्वाचन लडेपछि नजिता पनि राम्रै हात पार्न सकिन्छ । अलग अलग भएर निर्वाचन लड्दा त्यस्तो नहुन सक्छ । र, फेरि ६/६ महिनामा सरकार ढाल्ने खेल हुन्छ । त्यसकारणले पनि गठबन्धन आवश्यक छ । गठबन्धन प्रदेश र संघीय निर्वाचनपछिसम्म जान सक्छ ।
कांग्रेसले त स्थानीय आवश्यकताअनुसार गठबन्धन गर्ने निर्णय गर्यो । गठबन्धनको ‘मोडालिटी’बारे माओवादीको धारणा के हो ?
होइन, गठबन्धन गर्दा स्थानीय आवश्यकतालाई ध्यान दिनैपर्छ नि । सबै ठाउँमा एकै रूपले गठबन्धन कहाँ हुन्छ ? हुँदैन । त्यही भएर हामी (माओवादी) स्थानीय आवश्यकताअनुसार नै गठबन्धन गर्नुपर्ने पक्षमा हो ।
प्रतिक्रिया