ताजा अपडेट »

देशकै ठूलो नगरपालिका सितगंगामा कसले जित्ला ? यस्ता छन् आकांक्षीहरु

विहीबार, १० चैत्र २०७८, १८ : १२
20 Shares
विहीबार, १० चैत्र २०७८
20 Shares

बुटवल । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको मिति घोषणा भएसँगै चुनावी गतिविधि तिव्र भएका छन्। साथै चिया चौतारीदेखि घर–घरमा चुनावी बहस हुने गरेको छ । कुन पालिकामा कुन पार्टीले ? जित्ला भनेर विभिन्न अड्कलबाजी पनि हुने गरेका छन् ।

देशकै ठूलो नगरपालिका सितगंगामा आगामी नेतृत्व कुन दलका कसले हात पार्ला भनेर विभिन्न कौतुहलताको विषय बनेको छ। हालका मेयर सूर्यप्रसाद अधिकारी पुनः उम्मेद्वार बन्ने आंकाक्षा व्यक्त गरेका छन् । मेयर अधिकारीसँगै कांग्रेसबाट पूर्व जिल्ला सचिव छविलाल पौडेल, सितगंगा नगर कमिटि अध्यक्ष मोती बेल्वासे, युवा नेता प्रदिप बेल्बासे र पूर्व शिक्षक एवम् पार्टीका प्रदेश सदस्य राजेन्द्र केसीले आकांक्षा व्यक्त गरेका छन् ।

कांग्रेसमा आकांक्षी धेरै भएपनि मेयर अधिकारी र पौडेल मध्य एकले टिकट पाउने सम्भावना रहेको कांग्रेस वृत्तमा चर्चा छ । पौडेल गत निर्वाचनमा पनि मेयरका प्रत्यासी रहेका थिए । तर, अन्तिम समयमा पार्टीले व्यापारिक पृष्ठभूमिका सूर्यप्रसाद अधिकारीलाई टिकट दिएको थियो ।

नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि समेत रहेका मेयर अधिकारीले गत निर्वाचनमा पनि आफूले टिकट पाउनु पर्छ भनेर दाबी नगरेको र पार्टीले सर्वसम्मत रुपमा जिम्मेवारी दिएको बताउँदै यस पटक पनि मेयरमा उठने बताउँछन् । ‘गत निर्वाचनमा पनि म टिकट पाउनै पर्छ भनेर अरु नेता जस्तो दाबी त गरेको थिएन् । अहिले पनि अरुले जस्तै आफूले नै पाउनै पर्छ भन्दिन । पार्टीले यस पटक पनि जिम्मेवारी दिए लिन्छु ।’ उनले भने ।

अधिकारीले सितगंगा नगरपालिका भूगोलमा धेरै ठूलो भएकाले सबै ठाउँमा देख्ने गरी काम नभए पनि सबै स्थानमा विकासका कामहरुका लागि आधार तय गरेको बताए । साथै उनले जिल्लामा गठबन्धन गरेर जाने निर्णय भएकाले सितगंगाको हकमा गठबन्धन भएमा कांग्रेसले मेयर र माओवादीले उपमेयर लिएर तालमेल हुन सक्नेतर्फ संकेत गरे ।

यता नेकपा एमालेमा भने शितगंगा नगरपालिकाका अध्यक्ष बसन्त कुमार श्रेष्ठ मेयरको उम्मेद्वार बन्ने पक्का पक्की जस्तै छ । श्रेष्ठ गत निर्वाचनमा पनि नेकपा एमालेबाट मेयर पदका उम्मेद्वार हुन् । उनी १ हजार ६८७ मत अन्तरले पराजित भएका थिए । २०७४ कांग्रेस र माओवादीका संयुक्त उम्मेद्वार सूर्यप्रसाद अधिकारीले ८ हजार ६७७ मत पाउँदा श्रेष्ठले ६ हजार ९९० मत ल्याएका थिए ।

पार्टी विभाजनको असर कम रहेको र विगतको तुलनामा एमाले सितगंगामा बलियो रहेकाको बताउँदै श्रेष्ठ यो निर्वाचन नेकपा एमालेको पक्षमा आउने दाबी गरे । ‘२०७४ सालको तुलनामा त एमाले यहाँ धेरै बलियो भएको छ । सितगंगामा त नेकपा माओवादीका धेरै प्रवेश गर्नु भएको छ । एकृकीत समाजवादीले बढीमा एमालेको १/२ सय भोट काट्न सक्छ ।’–उनले भने ।

सितगंगा नगरपालिकामा साढे ४ वर्षको अवधीमा १ किलोमिटर सडक पनि कालोपत्रे हुन नसेकाले विकासका लागि भए पनि सितगंगावासीले एमालेलाई जिताउनु पर्ने उनी बताउँछन् ।

नेकपा माओवादी केन्द्रबाट उपमेयर समेत रहेका टिका रेश्मी, नगर कमिटि अध्यक्ष मणिराम अधिकारी र प्रदेश कमिटी सदस्य विष्णु गैरेले मेयरमा दाबी गरेका छन् । आकांक्षी मध्ये नगर अध्यक्ष मणिराम अधिकारीलाई मेयरको बलियो दाबेदारका रुपमा हेरिएको छ । उनले अन्य पार्टीबाट समेत भोट काट्न सक्ने भएकाले अधिकारीलाई नै मेयरको टिकट दिनु पर्ने पार्टी भित्र मत रहेको पाइन्छ ।

उनले टोपबहादुर रायमाझी एमालेमा गएपछि अर्घाखाँचीमा धेरै माओवादी नेता कार्यकर्ता एमालेमा गए भनेर गलत प्रचार गरिएको बताए । उनले भने ‘टोपबहादुर रायमाझी एमालेमा गए पनि तल्लोे तहका नेता कार्यकता खासै जानु भएको छैन नि । बाहिर प्रचार भने सबै माओवादीहरु एमालेमा आए भनेर प्रचार गरिएको छ । केही साथी जानु भएको कुरा सत्य हो । तर, बाहिर भने जस्तो कहि जानु भएको छैन्। गएका भन्दा बढी त अन्य पार्टीबाट माओवादीमा प्रवेश गर्नु भएको छ ।’

नेकपा एमालेबाट विभाजन भएर बनेको नेकपा एकृकीत समाजवादीबाट दक्षिण खाँचीका पुराना नेता पिताम्बर सारु र युवा नेता नारायण शर्मा आकांक्षी रहेका छन् । सारु एकीकृत समाजवादीका केन्द्रिय सदस्य तथा अर्घाखाँचीका सहइन्चार्ज हुन् भने शर्मा अनेरास्ववियूका केन्द्रिय सचिव तथा एकृकीत समाजवादीका अर्घाखाँची जिल्ला कमिटि उपसचिव हुन् ।

सारु दक्षिण खाँचीका पुराना र लोकप्रिय नेता भएकाले मेयरमा उठे एमालेका धेरै कार्यकता र अन्य दलकाले पनि व्यक्तिगत रुपमा पनि उनलाई भोट दिएर जित्ने एकृकीत समाजवादीका नेताहरुले दाबी गर्दछन् । एकीकृत समाजवादीका नगर कमिटि इन्चार्ज समेत रहेका शर्मा युवाका बीचमा बढी लोकप्रिय रहेका छन् । सितगंगामा आफूहरु बलियो रहेकाले गठबन्धन भएमा आफूले मेयर पद आउनु पर्ने दाबी गर्दछन् । ‘सितगंगाको हकमा त हामीहरु बलिया छौं। गठबन्धन भए त हामीले नै प्रमुख पद पाउनु पर्छ ।’–उनले भने ।

सत्ता गठबन्धमा रहेका दलहरुले नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र जनमोर्चाले केन्द्रले जस्तो निर्णय गरे पनि अर्घाखाँचीमा आफूहरु सबै निर्वाचनमा गठबन्धन गरेर जाने सहमति गरि सकेका छन् ।

सत्ता गठबन्धनमा आवद्ध दलहरुले अर्घाखाँचीमा चुनावी तालमेल गर्ने सहमति गरे पनि कुन पालिकाको नेतृत्व कुन दलले पाउने भन्ने सहमति भन्ने गरेका छैनन्। चुनावी तालमेल भएको खण्डमा सितगंगा नगरपालिकामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र मध्य एक दलले मेयर र अर्को दलले उपमेयर पाउने सम्भावना देखिन्छ ।

बसन्त आचार्य
लेखकको बारेमा
बसन्त आचार्य

आचार्य ग्लोबल आवाज अनलाइनका डेस्क संयोजक हुन् ।