कार्तिक २७,
ग्लोबल आवाज
काठमाडौँ । सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै नयाँ तरिकाबाट साइबर अपराध हुने गरेको छ । फेसबुक, ट्वीटर, भाइवर, गुगलजस्ता सञ्जालमा नयाँ खाता खोलेर मानिसले पैसा लुट्ने र अर्को व्यक्तिको हैसियत सिध्याउने घटना बढेर गएको हो । पछिल्लो समय ‘इमेल फिसिङ’ मार्फत करोडौँ रुपैयाँ ठगी हुने गरेको छ । महानगरीय अपराध महाशाखामा मासिक १० देखि १५ उजुरी ‘इमेल फिसिङ’को पर्ने गरेको छ ।
‘इमेल फिसिङ’ भनेको दुईजना व्यवसायी वा आफन्तबीच इमेलमा भएको कुराकानी अपरिचित व्यक्तिले बीचमा बसेर गोप्य निगरानी गर्ने र व्यवसायी वा आफन्तबीच इमेलमार्फत रकमको कारोवार हुन थालेपछि मेल आइडी, बैंकको खाता नम्बर र देशसमेत इमेलमार्फत परिवर्तन गरेर रकम ठगी गर्नु हो ।अपराध महाशाखा साइबर शाखाका प्रमुख, प्रहरी निरीक्षक लिलाराज डाँगी नेपालबाट विदेशमा हुने कारोवारमा बढी ‘इमेल फिसिङ’ हुने गरेको बताउँछन् । ‘विदेशबाट सामान आयात गरेर इमेलमार्फत रकम भुक्तानी गर्दा, ट्रेकिङ, ट्राभल्स, टुर्स कम्पनीको बढी ‘इमेल फिसिङ’ हुने गरेको छ’, उनी भन्छन् । यस्तै, प्रतिष्ठित व्यक्तिको फेसबुक, ट्वीटर ह्याक गरेर गोप्य सूचना लिएर रकमको बार्गेनिङ गर्ने, अर्काको नाममा फेसबुक तथा ट्वीटर खोलेर गोप्य सूचना लिने र दुःख दिने गरेको उजुरी प्रहरीकोमा आउने गरेको महाशाखाले जनाएको छ । महाशाखामा चालू आर्थिक वर्षको पछिल्लो तीन महिनामा साइबर अपराध सम्बन्धी ४५२ उजुरी दर्ता भएका छन् ।
महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सहकुलकुमार थापा सामाजिक सञ्जाल फेसबुक, ट्वीटरमा चिठ्ठा पर्यो भनेर एक करोडसम्म ठगी गरेको उजुरी महाशाखामा परेको बताउँछन् । ‘विदेशमा बसेर सामान पठाइदिन्छु पैसा पठाइदिनुहोस् भनेर समेत ठगी भएको छ’, उनी भन्छन् ।महाशाखाका अनुसार युवावर्ग बढी सङ्ख्यामा साइबर अपराधमा लागेका छन् । जसमध्ये १० वर्षदेखि २० वर्ष उमेर समूहका २२.०५ प्रतिशत, २० देखि ३० वर्ष समूहका ३९.९२ प्रतिशत, ३० देखि ४० वर्ष उमेर समूहका २९.९१ प्रतिशत र ४० देखि ६० वर्ष उमेर समूहका ७.९८ प्रतिशत व्यक्ति साइबर अपराधमा लागेका छन् । ‘सामाजिक सञ्जालमा निःशुल्क डाउनलोड गर्नु वा हेर्नु भनेको हुन्छ र अनावश्यक कुरा हेर्दा वा डाउनलोड गर्दा साइबर अपराध बढी हुने गरेको छ’, उनी भन्छन् । साइबर कानूनका बारेमा विद्यालय, कलेज तथा क्याम्पसमा शिक्षा दिनु जरुरी रहेको महाशाखाले जनाएको छ ।
साइबर अपराधको ३५ दिनभित्र सत्यतथ्य सूचना अदालतमा दर्ता गरिसक्नुपर्ने प्रावधान रहेको छ ।महाशाखामा चालू आवमा साइबर अपराधमा ४५२ उजुरी दर्ता भए पनि ११ जनाविरुद्ध मुद्दा चलाइएको छ । सामाजिक सञ्जालमा छ, ह्याकिङ गर्ने दुई र जथाभावी एसएमएस गर्ने तीनजना विरुद्ध मुद्दा दर्ता भएको छ ।यस्तै आव ०७३/०७४ मा एक हजार १९७ उजुरी दर्ता भएकोमा २६ जनाविरुद्ध मुद्दा चलेको थियो । आव ०७४/०७५ मा एक हजार ४८२ उजुरी दर्ता भएकोमा ६८ जनाविरुद्ध मुद्दा दर्ता भएको तथा आव ०७५/०७६ मा एक हजार ९३८ उजुरी दर्ता भएकोमा ६७ जनाविरुद्ध मुद्दा दर्ता भएको महाशाखाले जनाएको छ । - राजधानीबाट
प्रतिक्रिया