ताजा अपडेट »

अपहरणमा परेको नाटक गरी ५० लाख फिरौती माग्ने युवा पक्राउ

बुधबार, ०९ चैत्र २०७८, २० : ४६
28 Shares
बुधबार, ०९ चैत्र २०७८
28 Shares

दाङ । आफू अपहरणमा परेको नाटक गरि आफ्नै साहुसँग ५० लाख रुपैयाँ फिरौती माग्ने एक जनालाई दाङमा प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ । रुकुम पश्चिम बाफिकोट गाउँपालिका ९ घर भई हाल तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ नयाँबस्तीका हरि प्रसाद रिजालको ड्राइगन फ्रुट कृषि फर्ममा काम गर्दै आएका २४ वर्षीय जनक देवकोटालाई प्रहरीले लमही नगरपालिका ९ अमिलिया जङ्गलबाट नियन्त्रणमा लिई बुधबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो

। देवकोटाले फर्म सञ्चालक रिजाललाई डर, त्रास र धम्की दिई ५० लाख रुपैयाँ फिरौती मागेको प्रहरीले जनाएको छ । आफू अपहरणमा परेको नाटक गरि मध्यरातमा म्यासेज मार्फत ५० लाख रुपैयाँ नदिए देवकोटालाई सिध्याइदिने धम्की दिएका थिए । फागुन २७ गते फर्ममा प्लाष्टिकको पाइपमा कालो टेपले बेरेर बम जस्तो बस्तु राखेका थिए । उक्त बस्तुलाई नेपाली सेनाले डिस्पोज गरेको थियो ।

त्यसपछि ३० गते फर्म सञ्चालक रिजाल आबद्ध रहेको पार्टी र स्वयंले अमेरिकी सहयोग सम्झौता एमसीसीको पक्षमा रहेको भन्दै धम्कीपूर्ण भाषामा नो एमसीसी लेखेको पत्र राखेका थिए । लगत्तै चैत्र ६ गते देवकोटा तुलसीपुर बजार जान्छु भनी निस्काएको र त्यहाँबाट बैंकमा गई उनी नेपालगञ्ज गएका थिए ।

बेलुका घरमा श्रीमती पवित्रा देवकोटालाई तपाईंको बूढो हामी सँग सुरक्षित छ हामी एउटै पार्टीका रहेछौ हजुर आफू सुरक्षित ठाउँमा जानु होस, हामी हजुरको बुढोलाई केही गर्दैनौ, हामीले हरिप्रसाद रिजाल सँग बदला लिनु छ भनेर मोबाइलमा म्यासेज लेखेर सम्पर्क विहीन भएका थिए । त्यसपछि प्रहरीले जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी मुकुन्द रिजाल, इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी श्यामु अर्याल र वडा प्रहरी कार्यालय घोराहीका प्रमुख प्रहरी निरीक्षक हृदय सापकोटाको टोली उद्धार र अनुसन्धानमा खटेको थियो ।

देवकोटाले रिजालको घर व्यवहारका बारेमा सबै बुझेकाले सजिलै सँग पैसा कमाउने सोचले उक्त घटना रचेको दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले बताए । देवकोटा विरुद्ध झुटा अफबाह फैलाउन नहुने कसुरमा मुलुकी फौजदारी संहिता २०७४ को परिच्छेद ३ को दफा ७० ९ झुटा अफबाह फैलाउने ० र सोही ऐनको परिच्छेद ७ को दफा १४० बमोजिम कृत्रिम विस्फोटक पदार्थ बनाउन वा प्रयोग गर्न नहुने कसुरमा सजाय अन्तरगत मुद्दा चल्ने उनको भनाई छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।