काठमाडौँ। स्क्यानर मेसिन बिग्रिएपछि वर्षौंदेखि प्रेस काउन्सिल नेपालमा रहेका अखबार टहरोमा अव्यवस्थित रूपमा थुपारिएको छ । डिजिटाइज हुन नसक्दा ती अखबार धुजाधुजा हुन थालिसकेका छन् ।अखबारको सुरक्षाका कुनै उपाय अपनाइएको छैन । कर्मचारीहरू ती अखबार भित्रभित्रै मुसाले खाएको हुनसक्ने बताउँछन् । सुरक्षाका लागि धेरै वर्षदेखि चासो नराख्दा जमिनको ओसले अखबार कुहिएको हुनसक्ने पनि अनुमान गरिएको छ । सुरक्षित राख्नुपर्ने अखबारका चाङमाथि बिग्रिएका फर्निचरसमेत मिल्क्याइएका छन् । अखबार भण्डार गरिएको अवस्था हेर्दा तिनको महìव प्रेस काउन्सिलका कर्मचारीले नबुझेको प्रष्ट हुन्छ ।
प्रवक्ताको समेत जिम्मेवारी पाउनुभएका काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनालले भने, “स्क्यानर बिग्रिएको पाँच वर्ष भयो । त्यसपछि स्क्यानको काम ठप्प भयो । पत्रपत्रिकालाई डिजिटाइज गर्न नपाउँदा भण्डार गर्नुपरेको हो ।” त्यहाँ गोरखापत्रलगायत उपत्यकाबाट प्रकाशन हुने सबै दैनिक अखबारका साथै साप्ताहिक पत्रिका पनि राखिएका छन् ।
प्रेस काउन्सिलले २०३१ देखि २०७० सालसम्मको गोरखापत्रका हरेक अङ्कलाई डिजिटाइज गरेको छ । त्यस्तै २०६२ सालसम्मका साप्ताहिक पत्रिका डिजिटाइज गरिएको छ । त्यसयताका कुनै पनि पत्रिकाको डिजिटाइज हुनसकेको छैन । त्यो कोठामा डिजिटाइज गर्न नभ्याइएका निकै पुराना पत्रपत्रिका पनि राखिएका छन् ।
प्रवक्ता खनालले नयाँ स्क्यानर मेसिन ल्याउन दुई वर्षअघि टेन्डर भएको तर बीचमा कोभिड–१९ का कारण सो प्रक्रिया अवरुद्ध भएको बताउनुभयो । “७५ लाख रुपियाँ खर्च गरेर स्क्यानर मेसिन झिकाउँदै थियौँ तर कोभिड–१९ का कारण टेन्डरको समय सकिएकाले रद्द गर्नुप(यो,” उनले भने ।
त्यस बेला काउन्सिलका पदाधिकारीले स्क्यानर मेसिनका एक उत्पादक कम्पनीलाई दिन सोही अनुरूपको स्पेसिफिकेसन मागेको तर अर्को कम्पनीले त्योभन्दा राम्रो मेसिन कम मूल्यमा दिने भनी टेन्डर हालेपछि कुरा बिग्रिन पुगेको थियो । काउन्सिलका पदाधिकारीको गलत नियत थाहा आएपछि सूचना विभागका तत्कालीन महानिर्देशकको निर्देशनमा टेन्डर प्रक्रिया रद्द गर्नुपरेको कुरा काउन्सिलका एक पदाधिकारीले आफ्नो नाम उल्लेख नगरिदिने सर्तमा बताए ।-प्रकृति अधिकारी गोरखापत्र
काउन्सिलका प्रवक्ता खनालले पुनः टेन्डर आह्वान गर्न छलफल सुरु गरिएको जानकारी दिए। उनले कोभिड–१९ का कारण स्क्यानर मेसिनको अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धि भएको बताउँदै भने, “त्यो मेसिनको बजार भाउ बढेको छ । त्यसैले स्टिमेट बढ्ने देखिएको छ ।” काउन्सिलमा डिजिटाइज गरेका अखबारका डिजिटल कपी किन्न पाउने व्यवस्था छ ।
प्रेस काउन्सिलले प्रेस सङ्ग्रहालय स्थापनाको कार्यलाई निकै अगाडि बढाएको छ । सङ्ग्रहालय भवनको विस्तृत परियोजना प्रतिवेदन तयार गर्न प्रक्रिया अगाडि बढाइएको छ । काउन्सिलका प्रवक्ता खनालले प्रारम्भिक प्रतिवेदन प्राप्त भइसकेको र अन्तिम प्रतिवेदन तयार हुन बाँकी रहेको जानकारी दिँदै डीपीआर अध्ययनका लागि २० लाख रुपियाँ लाग्ने बताए । सङ्ग्रहालय स्थापनाका लागि बीउ पुँजीका रूपमा नेपाल सरकारले १० लाख रुपियाँ उपलब्ध गराएको र चालू आर्थिक वर्षमा पाँच लाख रुपियाँ विनियोजन भएको छ । गत वर्ष प्राप्त रकमले सङ्ग्रहालयमा आवश्यक पर्ने सङ्कलित सामग्री राख्न अस्थायी टहरो निर्माण गरिएको थियो ।
मुद्रण विभागबाट छपाइसम्बन्धी पुराना केही मेसिन ल्याइएको छ । त्यस्तै पुराना कम्प्युटर, प्रिन्टर, टाइप राइटर जस्ता सामग्री पनि सङ्कलन भइसकेको छ । पुराना ब्लक, छपाइमा प्रयोग हुने अक्षर लगायतका सामग्रीको पनि जोहो गरिएको छ । गोरखापत्रले पनि न्युज म्युजियम ९न्युजियम० स्थापना गर्न गत वर्षदेखि पुराना सामग्री सङ्कलन गरिरहेको छ । न्युजियमको अवधारणा भएका सङ्ग्रहालय विश्वमा केही मुलुकमा मात्र छ ।
प्रतिक्रिया