ताजा अपडेट »

कांग्रेस लुम्बिनीः उम्मेद्वार छनोटमा मापदण्ड तय, स्थानीय आवश्यकता अनुसार गठबन्धन

विहीबार, २६ फागुन २०७८, ११ : ४७
8 Shares
विहीबार, २६ फागुन २०७८
8 Shares

बुटवल । नेपाली कांग्रेस लुम्बिनी प्रदेश आसन्न स्थानीय तहको निर्वाचनमा जुटेको छ । स्थानीय तहका उम्मेद्वार छनोट गर्दा निश्चित विधि र मापदण्ड बनाएर टिकट वितरण गरिने कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिहं पुनले बताए ।

बुधबार कांग्रेस लुम्बिनी प्रदेश कार्यसमितीको बैठकले गरेको निर्णय सार्वजनिक गर्नका लागि आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै सभापत्ति सिंहले स्थानीय तहको निर्वाचनमा टिकट वितरण गर्दा पार्टीमा गरेको योगदान, जनाधारको मूल्याङ्कन, कार्य क्षमता, दक्षता सहितको समावेशीतालाई प्राथमिकता, क्रियाशिलता, निरन्तरता, निष्ठा र त्यागको मूल्याङ्कन, प्रतिस्पर्धी पार्टीका उम्मेदवार समेतलाई मध्यनजर गरी उम्मेद्वारी छनोट गरिने बताए।

साथै स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस गठबन्धन नगरी पनि निर्वाचन लड्न सक्षम रहेको बताउँदै अन्य पार्टीहरुसँग गठबन्धन गर्ने वा नगर्ने तत् तत् तहको स्थानीय तहको आवश्यकता र परिस्थित अनुसार पार्टीको केन्द्रिय नीति, निर्देशनका आधारमा मात्रै गठबन्धन हुने सभापति सिंहले बताए । साथै आवश्यकता परेको अवस्थामा सत्ता गठबन्धन भन्दा बाहिरका दलसँग पनि आवश्यकता अनुसार गठबन्धन हुन सक्ने बताए । बैठकले चार वर्षे कार्ययोजना समितीले प्रस्तुत गरेको चार वर्षे कार्य योजनाको ड्राफ्ट फागुन ३० गते भित्र प्रदेश कार्यसमितिकोे कार्यालयमा प्राप्त हुने गरी जिल्ला सभापति र प्रदेश कार्यसमितीका सदस्यहरुलाई ईमेल गरी पठाउन निर्देशन दिएको छ ।

‘टिकट खोज्न नेताको घर होइन जनताको घरमा जानुहोस्’
कांग्रेस लुम्बिनी प्रदेशका सभापति पुनले स्थानीय तहको निर्वाचनको टिकट खोज्न नेताको घरमा भन्दा पनि जनताको घर–घरमा जना आग्रह गरेका छन् । पत्रकार सम्मेलनमा बोल्दै सभापति पुनले भने ‘टिकट खोज्न नेताको घर घरमा होइन जनताको घर घरमा जानुहोस । पैसामा टिकट वितरण हुदैन् । जसले जनताको घर घरमा गएर स्थानीयको मन जित्छ उसैले टिकट पाउन्छ ।’

स्थानीय तहको निर्वाचनमा कांग्रेसलाई हार्ने छुट नभएको बताउँदै सभापति पुनले स्थानीय तहको निर्वाचन नजिते प्रदेश र प्रतिनिधिसभाको निर्वाचन जित्न ग्राहो हुने बताएका छन् । संविधान बचाउँनका लागि भए पनि अहिले नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचन जितनै पर्ने आवश्यकता रहेको दाबी गरे । साथै सभापति पुनले नेपाली कांग्रेसले लम्बिनी प्रदेशमा बहुमत संख्यामा स्थानीय तह जित्ने बताए ।

यस्तै एमसीसी जनताको हितमा भएकाले केही दलले चुनावमा जान लागि कुनै एजेण्डा नभएर गलत प्रचार गरेको आरोप लगाए । चुनावी खर्च धेरै भएकाले पनि चुनाबी खर्च कम गर्नु पर्नेमा समेत उनको जोड रहेको छ ।

लुम्बिनी प्रदेश कोषाध्यक्षमा राना मनोनित
नेपाली कांग्रेसले लुम्बिनी प्रदेशको कोषाध्यक्षमा प्रकाश रानालाई मनोनित गरेको छ । नेपाली कांग्रेसको विधान अनुसार कोषाध्यक्ष मनोनित गर्ने व्यवस्था भए बमोजित रानालाई कोषाध्यक्षमा मनोनित गरिएको सभापति पुनले बताए । प्रदेश उपसभापति भूवनप्रसाद श्रेष्ठले प्रशिक्षण विभागको प्रमुखको जिम्मेवारी पाएका छन् ।

बसन्त आचार्य
लेखकको बारेमा
बसन्त आचार्य

आचार्य ग्लोबल आवाज अनलाइनका डेस्क संयोजक हुन् ।