कार्तिक २१,
डि.बी. सुस्लिङ/ग्लोबल आवाज
बुटवल । रुपन्देहीको सैनामैना नगरपालिकामा पर्यटन प्रवर्धनका लागि विभिन्न महत्वकांक्षी आयोजनाहरु सञ्चालनहुँदै गर्दा वडा नम्बर २ सोरौलीमा अवस्थित हिलपार्क पिक्निक स्थल यस वर्ष थप व्यवस्थित हुने भएको छ । पार्कले सैनामैनाको पर्यटन प्रवर्धन र विकासमा आयाम थप्ने काम गरेको छ । वि.स. २०६८ सालमा बोलबम सामुदायिक वन उपभोक्ता समितिको पहलमा पिक्निक स्पोर्टका रुपमा विकास गर्दै आएको हिलपार्कले ९ दशमलव २५ हेक्टर क्षेत्रफल ओगटेको पार्क व्यवस्थापन समितिका अध्यक्ष तेजप्रसाद घिमिरेले बताए ।
नगरलाई पर्यटन विकासँगै लुम्बिनी करीडोरसँग जोड्ने दिर्घकालीन योजनाका साथ अगाडी बढेको बताउँदै नगर प्रमुख चित्रबहादुर कार्कीले हिलपार्कको विकासका लागि डिपिआर तयार भइसकेको हुँदा त्यसै अनुसार काम अगाडी बढ्ने बताए । गत वर्षनै डिपिआर तयार भएको हिलपार्क व्यवस्थापनका लागि प्रदेश ५ सरकारको वन मन्त्रालयबाट ५० लाख रुपैया बजेट विनियोजन भएको नगरप्रमुख कार्कीले बताए । विनियोजित बजेटले पार्कसम्म पुग्ने मोटरबाटो निर्माण गरिने तथा आगामी वर्ष डिपीआर अनुसार काम अगाडी बढ्ने बताए । पूर्व पश्चिम राजमार्गदेखि १ किलोमिटर उत्तरमा रहेको हिपार्कबाट लुम्बिनीसम्मको दृश्यावलोकन गर्न सकिन्छ । सैनामैना नगरका सबै वडाहरुलाई छुने गरी बनाइँदै गरेको रिङरोडदेखि करिब ३ सय मिटर उकालो चढेपछि पुग्न सकिने पार्कमा वार्षिक २ तीन हजार आन्तरिक पर्यटकहरु आउने गरेको पार्क व्यवस्थापन समितिका अध्यक्ष घिमिरेले बताए । प्रयाप्त भौतिक संरचनाहरु तयार भएर प्रचारप्रसार समेत हुन सकेमा थप पर्यटक भित्र्याउन सकिने उनले दाबी गरे । विशेष गरी कार्तिक देखि फागुन महिनासम्म आन्तकि पर्यटकहरुको आवागमन बढी हुने हिलपार्कमा यसै वर्ष सैनामैना नगरपालिकाले विनियोजन गरेको ४५ लाख रुपैयाँ बजेटबाट खानेपानी पुर्याउने काम जारी रहेको छ ।
भूमिगत जलश्रोतबाट लिफ्टिङ गरी पार्कमा निर्माण गरिएको ५० हजार क्षमताको ट्यांकीमा पानी पुर्याउने काम अन्तिम चरणमा पुगेको नगरप्रमुख कार्कीले बताए । पार्कलाई रमणीय र वातावरण मैत्री बनाउनका लागि विभिन्न समयमा अमृसो, अमला लगायत अन्य जातका विरुवाहरु समेत लगाइएको छ । पुर्व-पश्चिम र उत्तरमा जँगलले घेरिएको पार्कको दक्षिणमा आवादी रहेको छ । स्थानीयको अग्रसरता र साविकको पर्रोहा गाविसको पहल र बोलबम सामुदायिक वनको योजनानुसार स्थापना गरिएको हिलपार्कले पछिल्लो समय वनभोज खानका लागि आउने पर्यटक तथा युवाहरुको आकर्षण बन्दै गएको स्थानीय ताराबहादुर खड्काले बताए ।
प्रतिक्रिया