ताजा अपडेट »

तिलोत्तमाबाट सुरु भएको सामुदायिक विद्यालयमा दिवा खाजाले ल्याएको परिवर्तन

शुक्रबार, १३ फागुन २०७८, १७ : ०३
203 Shares
शुक्रबार, १३ फागुन २०७८
203 Shares

बुटवल । भर्खर विद्यालय आउने बानी बसाल्दै गरेका बालबालिकालाई अक्षर चिन्नुभन्दा ठूलो चुनौती भोक खटाउनु थियो । अभिभावकबाट एकछिन पनि छुट्टिएर बस्ने बानी नभएका बालबालिकाहरुले विद्यालयमा बस्दा अभिभावकलाई त भुल्न सक्लान् तर भोकलाई भुल्न सक्ने कुरै भएन । नेपालका प्रायःजसो सामुदायिक विद्यालयमा रहेका गरिब तथा विपन्न परिवारका बालबालिकाहरुको लागि शिक्षाको पहुँचमा आउन भोकले नै छेक्ने गरेको तितो यथार्थता हो ।

विगत ३ दशकदेखि तिलोत्तमा-५ स्थित शान्ति नमुना माविमा अध्यापन गराइरहेका कुलप्रसाद लामिछानेले ४ वर्षअघिको अवस्थालाई सम्झिँदै भन्छन्–‘बालबालिकाहरुमा समान आहार तथा पोषणको व्यवस्था गर्न नसक्दा शैक्षिक क्रियाकलाप सञ्चालन गर्न धेरै चुनौती थियो ।’ विगतको अनुभव सुनाउँदे उनी भन्छन्-‘भर्खर विद्यालय आउन सिक्दै गरेका अधिकांश विद्यार्थीले खाजा खान पाउँदैन्थे, खाजा बोकेर विद्यालय आएका विद्यार्थीहरुको टिफन पनि सुख्खा चिउरा र बिस्कुटले भरिएको हुन्थ्यो । कतिपय अभिभावकहरुले त बालबालिकाले चपाउनै नसक्ने भुटेका मकै बोकाएर पठाउथे ।’ विद्यालय चिन्न सुरु गरेका बालबालिकाहरुले भोग्नुपर्ने यस्तो अवस्थाले उनीहरुको कोमल मष्तिस्कमा अक्षरकोभन्दा बढी अभाव र ठूलो सामाजिक विभेदले ठाउँ पाउँथ्यो । अभिभावकहरुको आर्थिक अवस्था वा चेतनाको अभावले पनि यी समस्याहरु आउने गरेका थिए ।

शान्ति नमुना माविका प्रधानाध्यापक समेत रहेका लामिछानेले विगत २६ वर्षदेखि देख्दै र भोग्दै आएको समस्या पछिल्ला वर्षहरुमा समाधान भएको छ । उनको विद्यालयमा हरेक दिन फरक–फरक परिकारहरु पाक्ने गर्छन् । बालविकासदेखि कक्षा ५ सम्मका विद्यार्थीहरुले समान रुपमा खाजा खान पाउँछन् । ४३ सय बढी विद्यार्थी रहेको उनको विद्यालयमा बालबालिकासदेखि कक्षा ५ सम्म अध्ययन गर्ने बालबालिकाहरुको संख्या मात्रै ८३७ जना छ ।

बाल विकासमा १७२ जना तथा कक्षा १ र २ का १९३ जना गरी ३६५ जना बालबालिकाहरुका लागि खाजा पकाउन ४ जना कर्मचारीको व्यवस्था गरिएको छ । खाजा व्यवस्थापनको जिम्मा विद्यालयकी शिक्षिका गोमता ढकालले पाएकी छन् । उनले नै सम्बन्धित कक्षा शिक्षक, खाजा पकाउने कर्मचारी तथा प्रधानाध्यापकसँग समन्वय गरी बालबालिकाहरुका लागि खाजाको जोहो गर्ने गर्छिन् । कक्षा ३ देखि ५ सम्मका विद्यार्थीहरुका लागि विद्यालय भित्रै रहेको क्यान्टिनमा विद्यालयको निर्देशन अनुसार स्वास्थ्यवद्र्धक परिकारहरु तयार पारिएको हुन्छ ।

तिलोत्तमाको शान्ति नमुना विद्यालयमा मात्रै होइन नगरका सबै सामुदायिक विद्यालयहरुमा विगत ४ वर्षदेखि यसैगरी बालबालिकाहरुका लागि खाजा पाक्ने गर्दछ । मुलुक संघीयतामा गएपछि स्थानीय सरकार आएसँगै तिलोत्तमा नगरपालिकाले ‘भोक’ को समस्यालाई अन्त्य गर्ने संकल्प गर्यो । सोही योजना अनुसार मुलुकमै पहिलो अभ्यासका रुपमा दिवा खाजा कार्यक्रम सञ्चालन गरेको यो अभियानले बालबालिकाहरुको भोकलाई मेटाउन सफल भएको देखिन्छ ।

तिलोत्तमाकै विद्यालय जनजागृत माविको खाजा घरमा पनि यसैगरी हरेक दिन फरक–फरक परिकारहरु पाक्ने गर्छन् । विद्यालयमा पाक्ने खिर, चना, अण्डा, हलुवा, फ्राई राईस तथा स्याउ, अङ्गुर, केरा लगायतका फलफूल तथा परिकारका स्वाद बालबालिकाहरुले हरेक दिन फेरी–फेरी खान पाउँछन् ।

अघिल्लो दिन नै तय गरिएको तालिका अनुसार तयार भएका खाजा खुवाउनका लागि विद्यालयका प्रअ टंकप्रसाद पौडेलले शिक्षकहरुलाई व्यवस्थापनको जिम्मेवारी दिने गर्दछन् । विद्यार्थीको तथ्याङ्क संकलन गरी सोही अनुसार खेर नजाने गरी खाजा तयार गरिन्छ । यसरी यो विद्यालयमा बालबालिकाहरुका लागि खाजा पाक्न थालेको ४ वर्ष पुग्यो । विद्यालयमा दिवा खाजा पाक्न थालेपछि विद्यार्थीहरु नियमित उपस्थित हुनुका साथै बीचमै कक्षा छाड्ने समस्या पनि हटेको प्रअ पौडेलले बताउँछन् । बाल विकासमा रहेका २८ जना तथा कक्षा १ देखि ५ सम्मका १९३ विद्यार्थीले निःशुल्क रुपमा खाजा खान पाउँछन् ।

दिवा खाजा कार्यक्रमले विद्यार्थीहरुको अध्ययनमा क्रियाशिलता बढ्नुका साथै सम्पन्न परिवारका विद्यार्थीले खाएको बेला विपन्न परिवारका विद्यार्थीले हेर्ने अवस्थाको पनि अन्त्य भएको उनले बताए । सबै विद्यार्थीहरुले एकै ठाउँमा बसेर एकै प्रकारकार परिकार खान पाउने भएकाले सामाजिक र सामुहिक भावना विकास हुने गरेको पौडेलले बताउँछन् । स्थानीय सरकार गठन भएपछि तिलोत्तमा नगरपालिकाले २०७५ सालदेखि नमूना कार्यक्रमका रुपमा सुरु गरेको ‘दिवा खाजा कार्यक्रम’ उदाहरणीय मात्र होइन अनिवार्य कार्यक्रमको रुपमा स्थापित भएको छ ।

तिलोत्तमाको पहिलो नगर प्रमुखको रुपमा आएका बासुदेव घिमिरेले नगरलाई शैक्षिक रुपमा नमूना विकास गर्ने लक्ष्यसहित ल्याएको ‘दिवा खाजा कार्यक्रम’ सफल र अनिवार्य कार्यक्रमको रुपमा स्थापित भएको हो । नगरपालिकाले सुरुका दिनमा तिलोत्तमा भित्र रहेका ४४ वटा विद्यालयमा अध्ययनरत बालविकास कक्षाका सम्पूर्ण तथा कक्षा १ देखि ५ सम्म अध्ययन गर्ने गरिव तथा जेहन्दार विद्यार्थीलाई छनोट गरी खाजा खुवाउने व्यवस्था गर्यो । प्रति विद्यार्थी २५ रुपैयाँका दरले खाजा खुवाउने गरी वार्षिक रुपमै बजेट विनियोजन गरी ‘दिवा खाजा कार्यक्रम’ सञ्चालन गर्यो । आर्थिक रुपमा घरबाट खाजा ल्याउन सक्ने कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई निःशुल्क टिफिनकारी समेत नगरपालिकाले दियो । भोकले अध्ययन कार्य प्रभावित हुन्छ भन्ने मान्यताको आधारमा तिलोत्तमाले दिवा खाजा कार्यक्रम सुरु गरेको हो ।

यो कार्यक्रम निकै सफल र प्रभावकारी हुँदै जाँदा तिलोत्तमाले पछिल्लो दुई वर्षमा संघीय सरकारको समेत साथ पायो । अर्थात् दिवा खाजाको लागि संघीय सरकारले समेत बजेट उपलब्ध गराउन थाल्यो । तिलोत्तमा आफैंले सुरु गरेको कार्यक्रममा संघीय सरकारको समेत साथ भएपछि दिवा खाजा कार्यक्रम अझैं फराकिलो भएको छ । तर, संघीय सरकारले प्रतिविद्यार्थी १५ रुपैंयाँ दरले खाजा रकम दिने गरेको छ । स्थानीय सरकारले सुरु गरेको कार्यक्रमलाई संघीय सरकारले समेत साथ दिँदा जनप्रतिनिधिहरुलाई हौंसला मिल्नुको साथैं आफूहरुले राम्रो कार्यक्रम सुरु गरेको महशुस भएको छ ।

स्थानीय सरकारको सीमित बजेटका कारण गरिब तथा विपन्न परिवारका विद्यार्थीहरुलाई मात्रै छनोट गरी खाजा खुवाउन थालेको तिलोत्तमाले संघीय सरकारको साथ पाएपछि भने सबै विद्यार्थीले एक साथ खाजा खान पाएका छन् । तिलोत्तमा नगरपालिकाले सुरुवात गरेको यो अभियानलाई २ वर्षपछि नेपाल सरकारले निर्देशिका नै जारी गरी देशभर लागू गर्यो । विश्वव्यापी रुपमा प्रभावकारी बन्दै गएको यो कार्यक्रमलाई प्रयोग गरेर सरकारको समेत ध्यानाकर्षण गराउन तिलोत्तमा सफल भयो ।

विद्यालय खाजा कार्यक्रमले विद्यार्थीको आर्कषण बढेको मात्रै छैन बच्चाहरुले पौष्टिक तत्वको खाजा समेत खान पाएका छन् । पहिले चक्लेट, बिस्कुट र चाउचाउ झोलामा बोकेर आउने स–साना बालबालिकारुले अहिले साप्ताहिक रुपमा चना, केराउ, रोटी, खिर जस्ता खाजाहरु खान पाएका छन् । यसले विद्यार्थीहरुको स्वास्थ्यमा समेत फाइदा गर्नुका साथै प्रभावकारी पनि देखिएको छ ।

‘दिवा खाजा कार्यक्रम’ लागुभएपछि नगरको शैक्षिक विकासमा सकारात्मक परिवर्तन भएको छ । ‘हरेक सामुदायिक विद्यालयमा आउने बालविकासका विद्यार्थीहरु मध्ये २५ प्रतिशत मात्रैले नास्ता लिने गरेपनि सो नास्ता समेत जंगफुडकै हुने गर्दथ्यो ।’–तिलोत्तमा नगरपालिकाका शिक्षा शाखा प्रमुख गंगाराम आचार्यले भने ‘अहिले त्यो अवस्था अन्त्य भएको छ । हाम्रो नगरमा मात्र होइन देशैभर यो नियम लागू भएको छ ।’
विद्यालयहरुले साप्ताहिक रुपमा तालिकानै बनाएर खाजा विद्यार्थीहरुलाई दिदै आएको शंकरनगर दुर्गादत्त माविका प्रअ चण्डिप्रसाद पाण्डेले बताए । तिलोत्तमा–२ मा अवस्थित यस विद्यालयले खाजा पकाउनका लागि विद्यालयको आन्तरिक श्रोतबाट नै एक कर्मचारीको व्यवस्था गरेको उनले बताए । अहिले विद्यालयमा बालबालिकाहरुले दाल, चाम र ध्यू मिश्रत जाउलो, हलुवा, खिर, चना अण्डा, रोटी तरकारी, आलु पुरी र फलफुल समेत खुवाउने गरेको पाण्डेले बताए ।

‘जंग फुड खान छोडेपछि विद्यार्थीमा रिष्ठपुस्ट समेत भएको हामीले पाएका छौ ।’ प्रअ पाण्डेले आफ्नो विद्यालयका विद्यार्थीहरुको बारेमा विगत ४ वर्षदेखि संगालेको अनुभव सुनाउँदै भन्छन्–‘विद्यालयले खाजा खुवाउन पाउँदा बच्चाहरुले समय अनुसार नियमित खाजा खान पाएका छन् भने फरक फरक खाजाले विद्यार्थीहरुमा खाना प्रतिको रुची समेत बढेको छ ।’ घरमा एक्लै भएको बेलामा बच्चाले सबैकुरा खान नरुचाउने गरेपनि विद्यालयमा साथीसँग विद्यार्थीले खाजा खान रुचाउने समेत गरेको बताइएको छ ।

‘सामुदायिक विद्यालयमा आकर्षण बढाउँदै विद्यार्थीहरुको पोषणमा सुधार ल्याउने लक्ष्यका साथ दिवा खाजा कार्यक्रम सञ्चालन गरिएको हो ।’ तिलोत्तमा नगरपालिकाका नगर प्रमुख बासुदेव घिमिरेले भने–‘अहिले त्यसको परिणाम देखिँदै गएको छ ।’ नगर प्रमुख घिमिरेले २०७५ जेठ ८ गते विद्यार्थीलाई टिफिनकारी बाकस र प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरलाई खाजा रकमको चेक हस्तान्तरण गरी सुरु गरिएको यो अभियानले देशव्यापी रुप लिएपछि नमूना शैक्षिक कार्यक्रमका लागि तिलोत्तमा सफल भएको मान्न सकिन्छ ।

नगरपालिका शिक्षा शाखा प्रमुख आचार्यका अनुसार बालविकास तथा कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई खाजाका लागि नगरपालिकाले विद्यालय खुलेको दिनको हिसाबले दैनिक प्रति विद्यार्थी २५ रुपैंयाँका दरले विद्यालयलाई रकम उपलब्ध गराउँदै आए पनि संघीय सरकारले नै यो अभियान सञ्चालन गरेपछि नगरपालिकाले प्रत्यक्ष रकम उपलब्ध गरउन छाडेको छ । तिलोत्तमा नगरपालिकामा ४४ सामुदायिक विद्यालय छन् ।

नगरपालिकाले पहिलो वर्ष विद्यालय खाजा कार्यक्रम सुरु गर्दा १३ सय विद्यार्थी थिए भने पछि कक्षा ५ सम्मका अति विपन्न बालबालिकालाई समेत विद्यालय खाजा कार्यक्रममा सहभागी गराउँदा २१ सय ९३ जना प्रत्यक्ष यो कार्यक्रममा संलग्न भएका थिए । यसैगरी दोस्रो वर्ष बालविकासका ८ सय बढी तथा कक्षा १ देखि ५ सम्मका १ हजार ७५५ विद्यार्थीलाई खाजा उपलब्ध गराएको शिक्षा शाखाको तथ्याङ्कमा छ । नगरपालिकाले दिवा खाजा कार्यक्रमका लागि पहिलो वर्ष १ करोड ६ लाख विनियोजन गरेको थियो भने दोस्रो वर्ष १ करोड ७३ लाख विनियोजन गरेको थियो ।

दिवा खाजा कार्यक्रमको साथसाथै नगरपालिकाले विद्यालयमा जङफूडलाई निषेध गरेपछि निजी विद्यालयहरुले समेत दिवा खाजामा सन्तुलित र पौष्टिक आहारलाई प्राथमिकता दिने गरेका छन् । नगरभित्र कक्षा १२ सम्म ४० हजार बढी विद्यार्थी मध्ये १६ हजार बढी विद्यार्थी सामुदायिक विद्यालयमा अध्ययनरत छन् । सामुदायिक विद्यालयमा भएको शैक्षिक सुधार तथा गुणस्तर बढ्दै जाँदा विद्यार्थीको आकर्षण पनि बढ्दै गएको छ । दिवा खाजा कार्यक्रम सञ्चालन भएको वर्ष १२ हजार बढी विद्यार्थी सामुदायिक विद्यालयमा अध्ययनरत थिए भने हाल उक्त संख्या बढेर १६ हजार बढी हुनुलाई सकारात्मक सूचकका रुपमा मान्न सकिन्छ ।

नगरपालिकाले विद्यालय खाजा कार्यक्रम प्रभाव भए नभएको बारेमा अनुगमन समेत गर्ने गरेको छ । निर्वाचित सम्बन्धित वडाको जनप्रतिनिधिको संयोजकत्वमा समिति निर्माण गरेर अनुगमन समेत गरिएको नगरका प्रवक्ता सुरेन्द्र श्रीले बताउँछन् । ‘सम्बन्धित विद्यालयका प्राचार्य, खाजा व्यवस्था समितिका सदस्य, एक शिक्षक र अभिभावक सदस्य रहने गरी समिति निर्माण गरिएको छ ।’ प्रवक्ताले भने ‘विद्यालयमा उपलब्ध गराएको खाजा विद्यार्थी सामु सहि रुपमा पुगेको छ÷छैन, समितिले अनुगमन गर्ने गर्दछ ।’

यसरी कार्यक्रम सुरु गरेको पहिलो वर्ष नै तिलोत्तमामा ४ सय ८३ जना बालबालिका बाल विकास केन्द्रमा भर्ना भए । दोस्रो वर्ष उक्त संख्या करिब हजारको हाराहारीमा पुग्यो । यो कार्यक्रमले प्रभावकारी भएसँगै संस्थागत विद्यालय छाडेर सामुदायिक विद्यालयमा विद्यार्थीहरु आउने क्रम समेत बढेको प्रवक्ता श्रीको दाबी छ । जनप्रतिनिधिहरु नआउँदा यहाँ सामुदायिक विद्यालयहरुले बालविकासमा समेत नयाँ शैक्षिक सत्र सुरु भएपछि वैशाखमा मात्र विद्यार्थी भर्ना गराउथे । त्यसअघि निजी विद्यालयले बसन्त पञ्चमीमा अक्षाराम्भसँगै विद्यार्थी भर्ना गराउथे । तर, खाजा कार्यक्रमसँगै यहाँका सामुदायिक विद्यालयहरुले पनि निजीले जस्तै बसन्त पञ्चमीबाटैं बालबालिकाहरुलाई अक्षाराम्भ गराउन थालेका छन् । यो अभ्यासले पनि सामुदायिक विद्यालयमा सकारात्मक प्रभाव पारेको छ ।

तिलोत्तमा नगरपालिकाले नमूना शैक्षिक कार्यक्रमका रुपमा सञ्चालन गरेको दिवा खाजा कार्यक्रमले गरिब तथा विपन्न परिवारका विद्यार्थी र सम्पन्न परिवारका विद्यार्थी बीचको सम्बन्धलाई एक ठाउँमा ल्याएर जोड्न सफल भएको देखिन्छ । यो कार्यक्रमले कसैले खाने र कसैले हेर्ने अवस्थाको अन्त्य मात्र गरेको छैन भोककै कारण विद्यालय आउन छोड्ने विद्यार्थीको संख्यामा समेत यसले कमी ल्याउन सफल भएको छ । मुलुक संघीयतामा गएपछि बनेको तिलोत्तमा नगरपालिका नयाँ र आधुनिक शहरको रुपमा विकास हुँदै गर्दा यहाँको शैक्षिक स्तर उकास्न दिवा खाजा कार्यक्रमले ल्याएको प्रभाव सकारात्मक देखिन्छ । ग्रामीण भेगहरु समेत मिलेर बनेको तिलोत्तमाले गरिबीको रेखामुनि रहेका अभिभावकहरु मात्र होइन सम्पन्न परिवारका विद्यार्थीहरुलाई समेत सामुदायिक विद्यालयतर्फ आकर्षित गर्न सफल भएको छ ।

नगरपालिकाले २५ रुपैंयाँ दिएकोमा संघीय सरकारबाट खाजा रकम घटेर आएकोले अहिलेको रकमले प्रर्याप्त र सन्तुलित खाजा व्यवस्थापन गर्न समस्या हुने गरेको तिलोत्तमा ५ मणिग्राममा अवस्थित शान्ति नमूना माध्यमिक विद्यालयका प्रधानाध्यापक कुलप्रसाद लामिछानेले बताए । साना बालबालिकाहरुलाई लामो समय विद्यालय बस्दा एक पटक खुवाइने खाजाले मात्र प्रर्याप्त नहुने हुँदा पटक–पटक आहारको व्यवस्था गर्न सके थप प्रभावकारी हुने उनको सुझाव छ । विद्यालय तथा अभिभावकहरुबाट समेत रकम कम भएको गुनासो आएपछि तिलोत्तमा नगरपालिकाले थप रकम उपलब्ध गराउने विषयमा छलफल गरिरहेको शिक्षा शाखा प्रमुख शर्माले बताए ।

दिवा खाजा कार्यक्रमको औचित्य
सरकारले लागू गरेको दिवा खाजा निर्देशिकामा उल्लेख गरिए अनुसार विद्यालय दिवा खाजाको उपलब्धताले बालबालिकामा सुरुवाती दिनका विकासात्मक कमजोरी परिपूरण गर्दछ । शारीरिक विकास तथा वृद्धिका गतिलाई निरन्तर कायम राख्दै बालबालिकालाई विकासका पूर्ण सम्भावनामा योगदान पुर्याउँछ । यो निष्कर्ष विश्व बैंकको अनुसन्धानले निकालेको हो ।

खासगरी न्यून आय भएका र खाद्य जोखिममा रहेका परिवारका बालबालिकालाई भोकका समयमा स्वस्थकर खाना उपलब्ध हुनाले त्यस्ता समुदायका लागि दिवा खाजा सामाजिक सुरक्षा कार्यक्रम समेत बन्न पुगेको छ । यस्तो खाजाको उपलब्धताले भोक न्यूनीकरण भई शारीरिक विकासका गतिलाई निरन्तरता दिन मद्दत गर्छ । यसले शैक्षिक सुधारमा महत्वपूर्ण योगदान गर्छ । विद्यालय खाजा कार्यक्रमलाई मानव पुँजी विकास गर्ने एउटा भरपर्दो लगानीका रूपमा लिने गरिएको छ । विपन्न समुदायलाई सामाजिक सुरक्षा प्रदान गरी स्थानीय अर्थतन्त्रप्रतिको लगानी समेत बढ्दछ । जसबाट दिगो विकासका भोक र गरिबी उन्मूलन जस्ता लक्ष्य हासिल गर्न पनि सघाउ पुग्ने देखिन्छ ।

विद्यालय दिवा खाजा कार्यक्रमका कारण बालबालिकाको शैक्षिक स्तरमा सुधार भएको व्यक्तिको उत्पादकत्व वृद्धि भएको, विपन्न परिवारको आयस्तर वृद्धि भएको र स्वास्थ्य सम्बन्धी परिणामहरू सुधार आएको परिणामस्वरूप दिवा खाजामा भएको प्रत्येक १ डलर बराबरको लगानीबाट ५ दशमलव २ डलर बराबरको आर्थिक लाभ आजीवन प्राप्त भई देशको अर्थतन्त्रमा टेवा पुगेको नेपालको सन्दर्भमा गरिएको दिवा खाजा कार्यक्रमको लाभ लागत विश्लेषणले देखाएको छ ।

नेपालको संविधानले आधारभूत शिक्षा प्राप्तिलाई मौलिक अधिकारको रूपमा प्रत्याभूत गरेको र अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा ऐन २०७५ मा विपन्न, खाद्य संकटमा रहेका बालबालिकाको शिक्षा सुनिश्चित गर्न दिवा खाजा उपलब्ध गराउने व्यवस्था उल्लिखित भइसकेकाले विद्यालयमा दिवा खाजाको अपरिहार्यता बढ्न गएको छ ।

नगरमा रहेका निजी विद्यालयहरुमा समेत बालबालिकाहरुलाई सन्तुलित दिवा खाजाको व्यवस्था गर्नुपर्ने आवश्यकता देखिन्छ । संस्थागत विद्यालयहरुले निश्चित मापदण्ड बनाएर यसलाई लागू गर्न सकेको अवस्थामा बालबालिकाहरुमा बालबालिकाहरुले सन्तुलित आहर तथा पोषण प्राप्त गर्न सक्ने छन् । विद्यालयमा जङ्ग फुडलाई समेत निषेध गरेको तिलोत्तमाको अभियानलाई दिवा खाजा कार्यक्रमले थप टेवा पुग्ने देखिन्छ ।

दिवा खाजाको मापदण्ड
सरकारले लागू गरेको दिवा खाजा कार्यक्रमको निर्देशिका अनुसार खाना भोक हटाउन मात्र नभई शरीरलाई आवश्यक पर्ने सूक्ष्म पोषक तत्व र बृहत् पोषक तत्व आपूर्तिको लागि अत्यावश्यक हुन्छ । निर्धारित मात्रामा आवश्यक पोषक तत्त्व उपलब्ध भएको खाना मात्र स्वस्थ्यकर मानिन्छ र स्वस्थ्यकर खानाले शारीरिक स्वास्थ्य कायम गर्न सहयोग गर्दछ ।

पोषक तत्वयुक्त खाना सफा र स्वच्छ पनि हुनुपर्दछ खानामा उपलब्ध हुनुपर्ने पोषक तत्वको मात्राको राष्ट्रिय मापदण्ड निर्धारण गरी सो मापदण्ड अनुरूपका खाना मात्र उपलब्ध गराउने प्रचलन संसारका धेरै देशहरूमा छ । निर्धारित राष्ट्रिय मापदण्ड अनुरूप पोषक तत्व आपूर्ति हुने गरी दिवा खाजा आवश्यक परिमाणमा उपलब्ध गराउनुपर्दछ भन्ने मान्यता विकास भएको छ । यस्तो खाजा सफा, स्वच्छ र स्वस्थ्यकर पनि हुनुपर्दछ । यसका लागि आवश्यक सामग्री र पूर्वाधार समेत प्रबन्ध गरिनुपर्दछ ।

डि. बी. सुस्लिङ
लेखकको बारेमा
डि. बी. सुस्लिङ

सुस्लिङ ग्लोबल आवाज अनलाइनका समाचार संयोजक हुन् ।