ताजा अपडेट »

स्थानीय निर्वाचन: एमालेले लुम्बिनीका उपमहानगरपालिकामा आफ्नो वर्चश्व जोगाउन सक्ला ?

मंगलबार, २५ माघ २०७८, १४ : २६
94 Shares
मंगलबार, २५ माघ २०७८
94 Shares

बुटवल । सरकारले आगामी ३० बैशाखमा एकै चरणमा स्थानीय तहको निर्वाचन घोषणा गरेसँगै राजनितीक दलका नेता कार्यकर्ताहरुकाे सक्रियता बढेकाे छ । मुलुक संघीयतामा गएपछि पहिलो पटक २०७४ सालको स्थानीय तहकाे निर्वाचनमा जित हात पारेका ठाउँहरुलाई यसपटक पनि आफ्नाे पाेल्टामा पार्ने दाउमा राजनीतीक दलहरु रहेका छन् । गत निर्वाचनमा नेकपा एमालेका उम्मेद्वारहरु सबै भन्दा धेरै स्थानीय तहमा निर्वाचित भएका थिए ।

लुम्बिनी प्रदेशका ४ उपमहानगरपालिका मध्ये नेकपा एमाले एक्लैले ३ उपमहानगरपालिकामा जित हासिल गरेको थियो भने राप्रपाले एउटा उपमहानगरपालिकामा जित निकालेको थियो । अहिले लुम्बिनी प्रदेशमा रहेका उपमहानगरपालिकामा विगतको साख जोगाउन सबैभन्दा बढी चूनौति नेकपा एमालेलाई देखिएको छ ।

५ दलीय गठबन्धन् र एमाले विभाजनले उसलाई चुनाैती थपिएकाे हाे । यसअघि जितेका बुटवल उपमहानगरपालिका, घोराही उपमहानगरपालिका र लमही उपमहानगरपालिकामा एमालेलाई जसरी पनि जित हासिल गर्नुपर्ने चूनौती छ । नेकपा एमालेले २०७४ सालमा बुटवल उमहानगरपालिकामा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेस बीच चुनावी तालमेल गर्दा समेत जित निकालेको थियो ।

अन्य प्रदेशको तुलनामा एमाले विभाजनको असर लुम्बिनी प्रदेशमा कम परेको एमालेले दाबी गरेको छ । यता एमालेबाट विभाजित भई एकिकृत समाजबादीमा गएका नेता कार्यकता भने आफ्ना मतदाताको मत कांग्रेस वा माओवादीलाई हालेर भएपनि जसरी पनि एमालेका उम्मेद्वार हराएर बदला लिने दाउ पर्खेर बसेका छन् । यद्यपी निर्वाचन पछि मात्रै एमालेमा पार्टी फुटकाे असरलाई प्रष्टसँग देख्न सकिने छ। गठबन्धन ताेड्न सकेकाे अवस्थामा एमालेले आफ्नाे साख बचाउन सहज हुने नेताहरुकाे अनुमान छ ।

२०७४ सालमा लुम्बिनीका ४ उमहानगरपालिकामा दलहरुले पाएको मतपरिमाण हेरौँः

बुटवल उपमहानगरपालिका
बुटवल उपमहानगरपालिकामा नेपाली कांग्रेस र माओवादीका संयुक्त उम्मेदवार खेलराज पाण्डेयलाई पराजित गर्दै नेकपा एमालेका शिवराज सुवेदीले जितेका थिए ।

एमालेका शिवराज सुवेदीले २३ हजार २४९ मत प्राप्त गर्दा कांग्रेस-माओवादी गठबन्धन्का उमेद्वार पाण्डेयले २० हजार ८५१ मत ल्याएका थिए । राष्ट्रिय जनमुक्ति पार्टीका जनकबहादुर थापा मगरले १ हजार १५१ मत पाएका थिए । यस्तै उपप्रमुखमा एमालेकी गुमादेवी आचार्यले २५ हजार ३०१ मत पाएकी थिइन् भने गठबन्धन्का तर्फबाट नेकपा माओवादीका जगत पोखरेलले १४ हजार ७९२ मत ल्याएका थिए । जनमुक्तिकी धनी आलेले १ हजार ५०६ मत पाएकी थिइन्।

घोराही उपमहानगरपालिका
घोराही उपमहानगरपालिकामा गत स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका उम्मेद्वार नरुलाल चौधरी निर्वाचित भएका थिए । चौधरी २२ हजार ३ मत प्राप्त गरि घोराही उपमहानगरपालिकाको प्रमुखमा निर्वाचित भएका थिए । उनका निकट प्रतिस्पर्धी नेपाली कांग्रेसका भुपबहादुर डाँगी क्षेत्रीले १७ हजार ४८४ मत, नेकपा माओवादी केन्द्रका जीवन गौतमले १२ हजार ८२ मत र राप्रपाका भोलानाथ योगिले १ हजार १३६ मत ल्याएका थिए । यस्तै उपप्रमुखमा एमालेकी सिता सिग्देल न्यौपानेले २० हजार ७९२ मत र कांग्रेसकी पुष्पा श्रेष्ठले १७ हजार ६०३ मत र माओवादी केन्द्रकी सिता शर्माले १२ हजार ८२४ मत पाएकी थिइन् । अन्य दल तथा उम्मेद्वारले निर्वाचनमा १ हजार मत कटाउन सकेका थिएन् । यस उपमहानगरपालिकामा पनि कांग्रेस- माओवादी बीच गठबन्धन् भएकाे थियाे ।

तुलसीपुर उपमहानगरपालिका

तुलसीपुर उपमहानगरपालिकाको प्रमुखमा एमालेकै धनश्याम पाण्डे २२ हजार ८५७ मत ल्याएर निर्वाचित भएका थिए । उनका निकट प्रतिस्पधी नेपाली कांग्रेसका गेहेन्द्र गिरीले १८ हजार ९०७ मत र माओवादी केन्द्रका शेषुराम भण्डारीले ८ हजार ६९३ मत पाएका थिए । यस्तै उपप्रमुखमा एमालेकी माया शर्माले २१ हजार ३७ मत ल्याएकी थिइन् भने नेपाली कांग्रेसकी देविका नेपाली घिमिरेले २० हजार १८५ मत र माओवादी केन्द्रकी सिता वलीले ९ हजार ५१ मत पाएकी थिइन् ।

नेपालगञ्ज उपमहानगरपालिका
नेपालगञ्ज उपमहानगरपालिकाको प्रमुखमा राप्रपाका धवलशम्शेर राणा निर्वाचित भएका थिए । राणा १२ हजार ५५१ मत ल्याएर निर्वाचित भएका थिए भने उनका निकट प्रतिस्पर्धी नेपाली कांग्रेसका सुरेश कुमार कनौडियाले १० हजार ७३१ मत, माओवादी केन्द्रका दामोदर आचार्यले ७ हजार १९८ र नेकपा एमालेका समसुद्दीन सिद्दिकीले ६ हजार ९६५ मत ल्याएका थिए । यस्तै उपप्रमुखमा नेपाली कांग्रेसकी उमा थापाले १० हजार ७३१ पाएकी थिइन् भने राप्रपाकी रमा रानी गुप्ताले ८ हजार ९२४, एमालेकी शान्तादेवी ढकालले ७ हजार ७७३ र माओवादीकी कलामुन अन्सारीले ७ हजार ६७ मत र नयाँ शक्तिकी शोमा कुमारी लखेरले ५ हजार ३८९ मत ल्याएकी थिइन् ।

बसन्त आचार्य
लेखकको बारेमा
बसन्त आचार्य

आचार्य ग्लोबल आवाज अनलाइनका डेस्क संयोजक हुन् ।