ताजा अपडेट »

फोहरलाई मोहरमा परिवर्तन गर्नका लागि योजना

शनिबार, १६ कार्तिक २०७६, १६ : १५
103 Shares
शनिबार, १६ कार्तिक २०७६
103 Shares

फोहोरबाट ग्यास, तेल र मल उत्पादन गर्न सकिने

कार्तिक १६,
डि.बी. सुस्लिङ/ग्लोबल आवाज
बुटवल । फोहोरलाई मोहरमा परिवर्तन गर्नका लागि दिर्घकालीन योजना सहित परियोजना लागू गर्न गौतमबुद्ध स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेड बुटवलले रुपन्देहीका नगरपालिकाहरुलाई आफ्नो अवधारणा प्रस्तुत गर्ने भएको छ । बढ्दो शहरीकरण र आधुनिकिकरणको वृद्धिसँगै फोहरमैला बढ्दै जानेहुँदा यसको व्यवस्थापनका लागि भविष्यमा ठूला चुनौतीहरु आउन सक्ने कुरालाई ध्यानमा राखी अवधारणा प्रस्तुत गर्न लागिएको संस्थाका अध्यक्ष भोजप्रसाद श्रेष्ठले बताए । शहरमा उत्पादन हुने फोहर–मैलालाई वैज्ञानिक व्यवस्थापन गरी ग्यास तथा फर्निसिङ्ग तेलको सहज आपूर्ती र अन्तराष्ट्रिय मापदण्ड अनुसार मिक्सिङ्ग गर्ने नीतिलाई अवधारणाले जोड दिएको छ ।

रुपन्देहीका १६ स्थानीय निकायहरुमध्ये १ उप-महानगरापलिका सहित ५ वटा नगरपालिका रहेका छन् । प्रदेश ५ को अस्थायी राजधानी रहेको बुटवल उप-महानगरापलिका, देवदह नगरपालिका, सैनामैना नगरपालिका, तिलोत्तमा नगरपालिका, सिद्धार्थ नगरपालिका र लुम्बिनी साँस्कृतिक नगरपालिकामा एक साथ अवधारणा पत्र पेश गरिँदै छ । फोहोर मैलाको प्रशोधन गरी वैज्ञानिक व्यवस्थापनका लागि यस अघि एसीयाली विकास बैंक (एडिबी)ले लगानी गर्न चासो देखाएपनि बुटवल उपमहानगर पालिकाले चासो नदेखाएका कारण एडिबिले कार्यक्रम फिर्ता लिएको संस्थाका अध्यक्ष तथा यस क्षेत्रका जनप्रतिनिधि भोजप्रसाद श्रेष्ठले बताए ।

केही समय अघि गौतम बुद्ध स्वास्थ्य सेवा सहकारीकै अगुवाईमा भारतका महत्वपूर्ण शहरी तथा आर्थिक केन्द्रहरु मुम्वई महानगरपालिका, नासिक महानगरपालिका, पूंणे महानगरपालिका, लोनावाला शहर, कोलापुर शहर र प्रसिद्ध पर्यटकीय प्रान्त गोवा शहर लगाएतका क्षेत्रहरुको अवलोकन भ्रमण गर्ने क्रममा त्यहाँ प्रयोग गरिएको फोहरमैला व्यवस्थापनको वैज्ञानिक प्रविधि यहाँ पनि प्रयोग गर्न सकिने देखिएपछि अवधारणालाई अगाडी बढाइएको श्रेष्ठले बताए । संस्थाका अध्यक्ष भोजप्रसाद श्रेष्ठका अनुसार रुपन्देहीका सबै नगरापलिकाहरुको संयुक्त लगानी वा निजी क्षेत्रलाई अगाडी बढाएर समेत फोहर व्यवस्थापनको नयाँ प्रविधि प्रयोगमा ल्याउन सकिन्छ । ५० टन फोहर व्यवस्थापन गर्न सक्ने परियोजना निर्माणका लागि ४० करोड लागत लाग्ने बताउँदै श्रेष्ठले सुरुमा लगानी धेरै भएपनि दिर्घकालमा सस्तो पर्ने दाबी गरे । उनका अनुसार बुटवल उपमहानगरले मात्रै फोहोर व्यवस्थापनका लागि वार्षिक ५० लाख खर्च गर्ने गरेको छ । ‘नगरपालिकाहरुले आफै लगानी गर्न नचाहेको अवस्थामा कानून् निर्माण गरी नीजी क्षेत्रलाई परियोजना दिन पनि सक्छ ।’–अध्यक्ष श्रेष्ठले भने ‘नगरपालिकाहरुले कानून निर्माण गरि अधिकार दिएको खण्डमा आम्रो संस्थाले यस परियोजनाका लागि लगानी गर्न सक्षम छ, तयार छ ।’

सैनामैना नगरपालिकाले भने फोहर प्रशोधन केन्द्र निर्माणका लागि यसअघि नै जग्गा पहिचान गरी डिपीआर तयार पारिसकेको नगर प्रमुख चित्रबहादुर कार्कीले बताए । नगरको वडा नम्बर १० एकला डाँडामा करिब ५÷६ विगाह जमिनमा निर्माण गरिने फोहर प्रशोधन केन्द्रमा रुपन्देही तथा छिमेकि जिल्ला सुनवलको समेत फोहरलाई व्यवस्थापन गर्न सक्ने क्षमताको निर्माण हुने उनले बताए । १० करोड लागत अनुमान गरिएको योजना कार्यान्वयनका लागि प्रदेश सरकारो वन ऐनको प्रतिक्षामा रहेको उनले बताए । हाल फोहर डम्पिङ गर्दै आएको क्षेत्र वडा नम्बर ९ को पिपल डाँडामा झण्डै दुई बिगाह क्षेत्रफल ओगटेको छ । फोहर व्यवस्थापनका लागि वार्षिक रुपमा झन्डै ५० लाख रुपैयाँ खर्च हुने कार्कीले बताए ।

यसैगरी तिलोत्तमा नगरापलिकाले पनि यसैवर्षदेखि फोहर प्रसोधन परियोजनालाई अगाडी बढाएको नगरप्रमुख बासुदेव घिमिरेले बताए । नगरको वडा नम्बर ८ को गणेश नगरमा ६ विगाह क्षेत्रफलमा फोहर प्रशोधनका लागि २ वटा ट्रस्ट निर्माण भैसकेको उनले जानकारी दिए । प्रसोधित फोहरबाट ग्यास तथा मलखाद उत्पादन गरिने उनले बताए । यसअघि वैज्ञानिक फोहर व्यवस्थापन नगरी डम्पिङ गर्दा वार्षिक ४० देखि ५० लाख रुपैयाँ खर्च आउने गरेको उनले अनुभव सुनाए । जिल्लाको एक मात्र बुटवल उपमहानगरपालिकाले भने फोहर प्रशोधन केन्द्र निर्माणका लागि ठोस कार्य अहिलेसम्म सुरु गर्न सकेको छैन । नगरका प्रमुख प्रशासकिय अधिकृत चक्रपाणी शर्माका अनुसार फोहोर व्यवस्थापनका लागि ठाउँ पहिचानका बारेमा समिति गठन गरिएको तथा छलफल चलाइएको छ । अहिलेसम्म कुन ठाउँमा परियोजना सञ्चालन गर्ने भन्ने बारेमा भने ठोस टुङ्गो लागेको छैन । बुटवल उपमहानगरले फोहरलाई अस्थायी रुपमा वडा नम्बर ११ को तिनाउ नदि किनारमा डम्पिङ गर्दै आएको छ । रुपन्देहीको सिद्धार्थ नगरपालिकाले वडा नम्बर १ मा रहेको डण्डा नदीको बगरमा करिब १ विगाहा क्षेत्रफलमा फोर डम्पिङ गर्ने गरेको नगर प्रमुख हरिप्रसाद अधिकारीले जानकारी दिए । नगरको फोहर व्यवस्थापनका लागि वार्षिक २ करोड खर्च हुने उनले बताए ।

डि. बी. सुस्लिङ
लेखकको बारेमा
डि. बी. सुस्लिङ

सुस्लिङ ग्लोबल आवाज अनलाइनका समाचार संयोजक हुन् ।