ताजा अपडेट »

जुवाखालमा भेटिए प्रधानमन्त्रीका एडिसी सेनानी शाही

शनिबार, १६ कार्तिक २०७६, ०९ : ५३
34 Shares
शनिबार, १६ कार्तिक २०७६
34 Shares

कार्तिक १६,
काठमाडौँ । प्रधानमन्त्री केपी ओलीको सुरक्षा टोलीका वरिष्ठ सुरक्षा अधिकारी जुवाखालबाट पक्राउ परेका छन् । नेपाली सेनाका मेजर (सेनानी) राजेन्द्र शाहीलाई प्रहरीले शुक्रबार साँझ जुवा खेलिरहेको अवस्थामा सामाखुसीबाट पक्राउ गरेको हो । महानगरीय प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरी टोलीले सामाखुसीस्थित सोमबहादुर मगरको घरबाट शाहीसहित आठजनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने अन्यमा घरधनी मगर, रामेछापका बुद्धिलाल मगर, गोरखाका जित गुरुङ र किरणजंग शाह, टोखाका मानकाजी गुरुङ र धर्म शाह तथा सुर्खेतका रिनज राणा छन् ।

उनीहरूको साथबाट एक लाख ५९ हजार तीन सय रुपैयाँ पनि बरामद गरेको छ । पक्राउ परेकाहरूलाई हिरासतमा राखी कारबाही प्रक्रिया अघि बढाइएको महानगरीय प्रहरी वृत्त महाराजगन्जका डिएसपी उमेश लम्सालले बताए । उनीहरू म्यारिज खेलिरहेको अवस्थामा पक्राउ परेको प्रहरीले जनाएको छ । प्रधानमन्त्रीको सुरक्षामा लेफ्टिनेन्ट कर्णेल (प्रमुख सेनानी)को नेतृत्वमा सैनिक टोली खटिएको हुन्छ । मेजर शाही शुक्रबार बिदामा थिए । बिदाको बेला उनी सधैँजसो जुवा खेल्ने गरेको अनुसन्धानमा खुलेको छ । शाहीलाई सैनिक प्रहरीलाई बुझाउने प्रहरी तयारी छ । - नयाँ पत्रिका

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।