दाङ । लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्य निर्वाचनको मतदान विहान ९ बजे बाट सुरु भएको छ । घोराही स्थित कर्मचारी मिलन केन्द्रको प्राङ्गनमा मतदान सुरु भएको हो । मतदान दिउँसो ३ बजे सम्म चल्ने र त्यसपछि मतगणना सुरु हुने प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकृत गेहेन्द्र कवरले जानकारी दिए ।
जनस्वास्थ्यको मापदण्डको पूर्ण पालना गर्दै मतदानको व्यवस्था मिलाइएको छ । पहिलो मतदान लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले गरेका छन् । लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री शंकर पोख्रेलले पनि मतदान गरेका छन् । लुम्बिनी प्रदेशमा नेकपा एमाले र सत्ता गठबन्धनको तर्फबाट ६ जना चुनावी मैदानमा छन् । महिला, अन्य र दलित गरी तिन जना चयन गर्नको लागि मतदान भैरहेको हो ।
नेकपा एमालेबाट दलित तर्फ गुल्मीका कृष्ण सुनार, महिला तर्फ बाँकेकी भारती उपाध्याय खनाल र अन्यका लागी दाङका रामदयाल गुप्ता चुनावी मैदानमा छन् । सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका बाँके निवासी युबराज शर्मा, नेकपा एकिकृत समाजबादीबाट पाल्पाकी राजेन्द्रलक्ष्मी गैरे, राष्ट्रिय जनमोर्चाबाट रुपन्देहीका तुलप्रसाद विश्वकर्मा चुनावी मैदानमा छन् ।
लुम्बिनी प्रदेशमा २९६ जम्मा मतदाता छन । जस मध्य ८१ जना प्रदेश सभा सदस्य र २१५ जना स्थानीय तहका प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष मतदाता छन् । ८१ जना प्रदेश सभा मध्य नेकपा एमालेका ३७ जना र गठबन्धनका ४४ प्रदेश सभा सदस्य छन् । जसमा माओवादी १९, कांग्रेस १९, जसपा ४, एकिकृत समाजवादी एक, राष्ट्रिय जनमोर्चा एक छन् ।
सत्ता गठबन्धनका उम्मेदवार निर्वाचन जित्नेमा ढुक्क देखिन्छन् भने, एमालेका उम्मेदवार पनि आफुहरुको विजय निश्चित भएको दावी गर्छन ।स्थानीय तह अन्तरगत २१५ मध्य नेकपा एमालेका प्रमुख/उपप्रमुख ८८ छन् । पालिका प्रमुख उपप्रमुख अन्तरगत नेपाली काँग्रेसका ६३, नेकपा माओवादी केन्द्रका ३६, जनता समाजवादी पार्टीका १३, राष्ट्रिय जनमोर्चाका ५, नेकपा नेकपा एकिकृत समाजवादीका ४, राष्ट्रिय प्रजातन्त्र पार्टीका २ र स्वतन्त्र ४ मतदाता छन् ।
प्रदेश सभाको ४८ अंकभार हो भने स्थानीय तहको अंकभार १८ छ । प्रदेश सभाको कुल ३ हजार ८ सय ८८ अंकभार हुन आउँछ भने पालिका तर्फ कुल ३ हजार ८ सय ७० अंकभार हुन आउँछ ।
प्रतिक्रिया