ताजा अपडेट »

आजदेखि त्रिवि अन्तर्गतका कलेजमा अनलाइन कक्षा, परीक्षा पनि अनलाइनबाटै

मंगलबार, ११ माघ २०७८, ०९ : ४९
18 Shares
मंगलबार, ११ माघ २०७८
18 Shares

काठमाण्डौं । त्रिभुवन विश्वविद्यालयले आफू सम्बद्ध सम्पूर्ण शैक्षिक संस्थालाई अनलाइन कक्षा सञ्चालनका लागि आवश्यक तयारी पुरा गर्न निर्देशन दिएको छ ।

त्रिभुवन विश्वविद्यालय रजिष्ट्रार कार्यालय अन्तर्गत सूचना तथा जनसम्पर्क महाशाखाले आइतबार एक सूचना जारी गर्दै मंगलबारदेखि सैद्धान्तिक कक्षा अनलाइनमार्फत सञ्चालन गर्ने गरी व्यवस्था गर्न निर्देशन दिएको हो ।

त्रिवि कार्यकारी परिषद्को निर्णय अनुसार विश्वविद्यालयले सबै क्याम्पसलाई सहायक क्याम्पस प्रमुखको संयोजकत्वमा बढीमा सात सदस्यीय अनलाइन कक्षा व्यवास्थपन समिति गठन गरी र सबै विभागले विभागीय प्रमुखको संयोजकत्वमा बढीमा पाँच सदस्यीय अनलाइन कक्षा व्यवस्थापन समिति गठन गरी अनलाइन कक्षा सञ्चालन तथा व्यवस्थापन गर्न निर्देशन दिएको छ ।

त्यसैगरी सबै क्याम्पस तथा विभागलाई सोमबार अर्थात भोलिसम्म अनलाइन कक्षाको रुटिन बनाई सम्बन्धित डिन कार्यालयमा पठाउन पनि निर्देशन दिइएको छ ।

परीक्षाको सन्दर्भमा भने चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गतका परीक्षा स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड पालना गरी सोही अध्ययन संस्थाबाट निर्णय गरी सञ्चालन गर्न विश्वविद्यालयले निर्देशन दिएको छ ।

त्यस्तै विद्यार्थीको आन्तरिक मूल्यांकन पनि अनलाइन माध्यमबाट नै गर्न र सबै अध्ययन संस्थानले अनलाइनको माध्यमबाट परीक्षा लिने ढाँचा र कार्यविधि पनि तयार पार्न निर्देशन दिइएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।