कार्तिक १५,
काठमाण्डौं । यस वर्षको तिहारमा लक्ष्मीपूजाका दिन विद्युत्को उच्च माग (पिक डिमान्ड) १ हजार ८९ मेगावाटमा समेटिएको छ । यो अघिल्लो वर्षभन्दा १६ मेगावाट कम भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । अघिल्लो वर्षको लक्ष्मीपूजामा पिक डिमान्ड ११ सय ५ मेगावाट थियो । गत आर्थिक वर्षभरिको पिक डिमान्ड १ हजार ३ सय २० मेगावाट थियो ।
तिहारमा उद्योग, कलकारखाना बन्द हुने भएकाले लक्ष्मीपूजामा भएको पिक डिमान्ड औद्योगिक ग्राहकबाहेकको हो । औद्योगिक ग्राहकको विद्युत् माग भने करिब ३ सय मेगावाट छ । यस वर्ष काठमाडौं उपत्यकाको पिक डिमान्ड ३ सय ३१ मेगावाट रेकर्ड गरिएको छ । विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक घिसिङका अनुसार विद्युत्को चुहावट नियन्त्रणमा चालिएका कदम, उपभोक्ताहरूले प्रयोगमा ल्याएका ऊर्जा कम खपत गर्ने बल्बलगायतका विद्युतीय उपकरणहरूले यस वर्ष तिहारमा माग कम भएको हो ।
‘लक्ष्मीपूजाका दिन अधिकतम माग १४ सय मेगावाट पुग्ने प्रक्षेपण गरी सोहीअनुसार विद्युत् आपूर्तिको जोहो गरेका थियौँ,’ उनले भने, ‘उपभोक्तालाई पनि प्रशस्त विद्युत् भएकाले ढुक्क भएर बत्ती बाल्न आग्रह गरेका थियौँ, क्षमताको माग अपेक्षाअनुसार बढ्न नसके पनि ऊर्जा खपत बढेको छ, यो प्रणाली सञ्चालनका लागि राम्रो हो । ‘विगतमा लोडसेडिङ हुँदा माग र आपूर्तिको विवरण नै तोडमोड गरी त्यसैमा खेलिँदो रहेछ, अहिले देखिएको वास्तविक डिमान्ड हो ।’उपभोक्ताको माग आपूर्ति गर्न प्राधिकरणले आफ्नो विद्युत्गृहबाट ५ सय ४६ मेगावाट, निजी क्षेत्रबाट ४ सय ३६ मेगावाट र भारतबाट १ सय ७ मेगावाट आयात गरेको थियो । -नयाँ पत्रिका
प्रतिक्रिया