ताजा अपडेट »

पत्रकार बिन्दु चौहानको स्मृतिमा ‘पत्रकारिता पुरस्कार’

शनिबार, ०८ माघ २०७८, १८ : ५९
94 Shares
शनिबार, ०८ माघ २०७८
94 Shares


भैरहवा । स्वर्गीय पत्रकार बिन्दु कुमार चौहानको सम्झनामा “स्व. बिन्दु चौहान स्मृति पत्रकारिता पुरस्कार” घोषणा भएको छ । शनिबार मधेशी पत्रकार समाज नेपाल, रुपन्देहीको मर्चवारमा बसेको बैठकले चौहानको स्मृतिमा भदौ २९ गते बितरण गर्ने गरि उक्त पत्रकारीता पुरस्कारको घोषणा गरेको हो । उक्त पुरस्कार चौहानको स्मृति दिवसको अवसर पारी विभिन्न विधामा कलम चलाउने मधेशी पत्रकारहरु मध्ये मूल्याङ्कन गरि एक जनालाई प्रदान गरिने समाजका सचिव ह्ृदयराम गुप्ताले जानकारी दिए ।

रुपन्देहीका रहि विभिन्न सञ्चारमाध्यममा काम गरेका बिन्दु चौहानलाई यस पछिका पुस्ताले समेत उनको योगदान सम्झिने गरि पुरस्कारको स्थापना गरिएको गुप्ताले बताए । यसले मधेश क्षेत्रमा रहेका पत्रकारहरुलाई थप शशक्त गर्ने अपेक्षा समेत गरिएको छ । समाजले बिन्दु चौहानको स्मृतिमा पत्रकारिता पुरस्कार बितरण गर्ने उद्देश्यले अक्षयकोष समेत स्थापना गर्ने निर्णय गरेको र अक्षयकोष स्थापनामा सहयोगको लागि सबैमा अपिल समेत गरेको छ ।

यस्तै शनिबार सम्पन्न बैठकले मधेशी पत्रकार समाज रुपन्देहीका कोषाध्यक्ष रविन्द्र प्रताप गुप्ता र सदस्य मोहम्मद हबिब प्रेस चौतारी रुपन्देहीको अधिवेशनबाट क्रमशः सह–सचिव र कार्यसमिति सदस्य पदमा निर्वाचित भएकोमा बधाई समेत ज्ञापन गरेको छ । मधेशी पत्रकार समाजले कोभिड–१९ को महामारीबाट जोगिदै सम्पूर्ण सञ्चारकर्मीलाई काम गर्न आग्रह गरेको छ । साथै कोभिडबाट प्रभावित मधेशी सञ्चारकर्मिहरुको विवरण संकलन गरि उनिहरुको उपचार र राहतमा समेत पहल गर्ने बैठकले निर्णय गरेको छ ।

बैठकका प्रमुख अतिथि मधेशी पत्रकार समाज नेपाल, लुम्बिनी प्रदेशका अध्यक्षले स्व.बिन्दु चौहानले रुपन्देहीको पत्रकारीता क्षेत्रमा जोखिम मोल्दै पुर्याएको योगदान बारे चर्चा गरेका थिए । उनले स्व.चौहानको निडर छबि र कार्य कुशलताको सराहना गर्दै इतिहासले उनलाई सम्मान गर्नैपर्ने बताए ।

मधेशी पत्रकार समाज नेपाल, रुपन्देहीका अध्यक्ष राधेश्याम विश्वकर्माको अध्यक्षता एवम् मधेशी पत्रकार समाज नेपाल, लुम्बिनीका अध्यक्ष रामविकास चौधरीको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।