कार्तिक ९,
बुटवल । पाल्पाको तिनाउ गाउँपालिकाको ‘अविभावक शिक्षा कार्यक्रम’ अर्न्तगत वडा नम्बर ४ सत्यवतिमा अवस्थित गीजनचौर आधाभुत विद्यालयमा अविभावकहरुका लागि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । शिक्षा शाखाको आयोजनामा भएको कार्यक्रममा बोल्दै तिनाउ गाउँपालिका अध्यक्ष ओमबहादुर घर्तिमगरले विद्यार्थीहरुको शैक्षिक सुधारमा अविभावक सचेत हुन जरुरी रहेकोमा जोड दिए । बालबालिकाहरुको प्रथम पाठशाला घर भएको हुँदा घरबाट नै उनीहरुलाई असल र सिर्जनात्मक ज्ञान लागि सैद्धान्तिक तथा व्यवहारिक शिक्षामा जोड दिन आग्रह गरे ।
तिनाउ गाउँपालिका शिक्षा शाखा अधिकृत लक्ष्मी कुंवर तथा शिक्षा शाखाकै कृष्ण ज्ञवालीले अविभावकहरुलाई बालबालिकाहरुको शैक्षिक विकास र आधाभूत ज्ञानका बारेमा प्रशिक्षण प्रदान गरेका थिए । बालबालिकाहरुको व्यक्तिगत सरसफाई, अनुशासन, स्वास्थ्य, नैतिक शिक्षा, शैक्षिक सामाग्रीको उपलब्धता लगायतका बारेमा अविभावकहरुले ध्यान दिन आग्रह गरेका थिए । कार्यक्रममा तिनाउ गाउँपालिकाकी उपाध्यक्ष दमयन्ती थापा, वडा नम्बर ४ का अध्यक्ष दानबहादुर गाहा, सदस्य गीरबहादुर आले, तिलोत्तमा माध्यमिक विद्यालयका प्रधानाध्यापक झविन्द्र ज्ञवाली लगायतले सुझाव सल्लाह सहित शुभकामना व्यक्त गरेका थिए ।
गाउँपालिका अन्तरगत रहेका सबै ४० वटा विद्यालयमा सञ्चालन गरिएको अविभावक शिक्षा कार्यक्रम अन्तरगत गीजनचौरमा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दलबहादुर चौहानको अध्यक्षता तथा प्रधानाध्यापक लालु सारुको सञ्चालनमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको थियो ।
प्रतिक्रिया