ताजा अपडेट »

साक्षरता अभियान, आठ जिल्ला घोषणाको चरणमा

शनिबार, ०९ कार्तिक २०७६, १२ : १४
16 Shares
शनिबार, ०९ कार्तिक २०७६
16 Shares

कार्तिक ९,
काठमाडौँ । सरकारले पूर्ण साक्षर जिल्ला घोषणा हुन बाँकी २६ जिल्लालाई यसै आर्थिक वर्षभित्र साक्षर घोषणा गर्ने तयारी गरेको छ । तीमध्ये आठ जिल्लालाई चाँडै नै घोषणा गर्ने तयारी रहेको शिक्षा तथा मानव विकास स्रोत केन्द्रका निर्देशक गेहनाथ गौतमले बताए । उनका अनुसार ती ८ जिल्ला काठमाडौँ, काभ्रे, सङ्खुवासभा, बाँके, ताप्लेजुङ, कपिलवस्तु, कैलाली र डोटी छन् ।

सरकारले आथिक वर्ष ०७६/७७ सम्म नेपाललाई साक्षर मुलुक घोषणा गर्ने तयारी गरेको छ । अहिलेसम्म ५१ जिल्ला साक्षर घोषित भएका छन् । शिक्षा पत्रकार सञ्जाल र सयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृति सङ्गठन (युनेस्को) नेपालको संयुक्त आयोजनामा शुक्रबार भएको ‘सङ्घीयतामा अनौपचारिक शिक्षा सञ्चालन र व्यवस्थापन’ सम्बन्धी अन्तर्क्रिया कार्यक्रममा उनले ती जिल्ला घोषणाका लागि पूर्वाधार तयार भएपनि आन्तरिक व्यवस्थापन हुन नसकेको बताए ।अन्य १८ जिल्लालाई चाँडै साक्षर घोषणा गर्न प्रत्येक स्थानीय तहलाई आ–आफ्नो स्थानीय तह साक्षर घोषणा गरेर जिल्ला घोषणा गर्न जिम्मा दिइएको छ । ती जिल्लामा हुम्ला, डोल्पा, मुगु, जुम्ला, कालिकोट, अछाम, बझाङ, बाजुरा, कञ्चनपुर, महोत्तरी, घनुषा, रौतहट, सर्लाही, सिरहा, सप्तरी, बारा, पर्सा र सोलुखुम्बु छन् । सरकारले वि.सं २००४ बाट १५–६० वर्ष उमेर समूहलाई साक्षर बनाउन अनौपचारिक शिक्षा प्रदान गर्न थालेको हो । मुलुकमा अहिले ८५ प्रतिशत साक्षर छन् । मुलुकलाई साक्षर घोषणा गर्न ९५ प्रतिशत साक्षर हुनुपर्ने व्यवस्था छ ।

सामुदायिक सिकाई केन्द्रसँग समन्वय गरेर स्थानीय तहलाई नै ती जिल्ला साक्षर घोषणा गर्न निर्देशन दिइएको बताए । त्यसका लागि सरकारले प्रतिस्थानीय तह चार लाख, पाँच लाख, १० लाख र १४ लाख बजेट विनियोजन गरेको छ । केन्द्रका अर्का निर्देशक दिनेश घिमिरेले साक्षर हुन नसकेका जिल्लालाई विभिन्न चार वर्गमा विभाजित गरी अनौपचारिक शिक्षा प्रदान गर्ने काम भइरहेको बताए । पूर्वसचिव महाश्रम शर्माले स्थानीय तहलाई सक्षम बनाएर अनौपचारिक शिक्षालाई प्रभावकारीरूपमा सञ्चालन गर्नुपर्ने बताए । कार्यक्रममा युनेस्को नेपालका शिक्षा प्रमुख बलराम तिमिल्सेनाले अनौपचारिक शिक्षालाई सबै मिली व्यवहारिक कार्यान्वयन गराएर मुलुकलाई साक्षर बनाउनुपर्ने बताए । काठमाडौँ महानगरपालिका सामुदायिक विकास महाशाखाकी विमला कोइरालाले स्थानीय तहलाई बढी जिम्मेवार बनाई सिकाइ केन्द्रलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो । त्रिविका प्रा डा गणेशबहादुर सिंहले सिकाइमा परिवर्तन गरेर निरक्षरलाई साक्षर बनाउनुपर्ने बताए । -केन्द«बिन्दु

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।