बुटवल । हाम्रो समाजमा कृषक भन्दा वित्तिकै ‘सामान्य तथा सर्वसाधारण व्यक्ति’ भन्ने सोँच छ । शिक्षित तथा विशेष व्यक्तिहरु कृषिमा सहभागी भएपनि प्रत्यक्ष काम गर्ने प्रचलन भने सायदै छ । तर, रुपन्देहीको सैनामैना–२ बोलबमधामका नरेन्द्र पाण्डे भने उदाहरणीय र फरक पात्रका रुपमा परिचित कृषक हुन् । उनको व्यक्तित्व हेर्दा कसैले पनि खेत/बारीमा काम गर्ने किसान भनेर पत्याउँदैनन् ।
विगत १० वर्षदेखि पूर्णतया तथा प्रतक्ष्य कृषि कर्ममा लागेका पाण्डेले विभिन्न समयमा अनेकन बाधा अड्चनका साथ एक उदाहरणीय र प्रतिनिधि पात्रका रुपमा स्थापित हुन सफल भएका छन् । तत्कालिन समयमा घ्यू कुमारीको खेती सुरु गरेका पाण्डेले कागती खेतीहुँदै हाल ड्रागन फ्रुटसम्म आइपुगेका छन् । उनी कामै नगरी खाली बस्न रुचाउँदैनन् । कृषि कर्म र उत्पादनमा रमाउन मन पराउने उनी घरकै करेसाबारीमा पनि भुलिरहन्छन् । त्यहाँ उनी परीक्षणका रुपमा विभिन्न खेती गर्छन् ।
पछिल्लो समयमा सौखका रुपमा कौसी खेती गर्ने प्रचलन छ। तर,पाण्डे जत्तिका व्यक्ति माटोमै खेलेर व्यवसायिक कृषि गर्ने भने निकै कम हुन्छन्। पहिल्यैदेखि करेसाबारीमा भुल्दै आएका पाण्डेले घिउ कुमारी र कागती खेतीको राम्रो अनुभव लिएका थिए । कागती व्यवसायबाट राम्रो सफलता मिलेको छ । यसै दौराना विश्वव्यापी कोरोना र लकडाउनले उनलाई कृषिप्रति थप आकर्षण गर्यो । फलस्वरुप ड्रागन फ्रुटको खेती सुरुवात गरे।
त्यसैगरी पाण्डेलाई आफ्नो सेरोफेरोमा खाली जमिन रहेको मनै पर्दैन। घरको कौशीमा समेत उनले तरकारी तथा फलफूल लगाएका छन्। यदि कसैको खाली जग्गामा खेती गर्न आर्थिक तथा प्राविधिक समस्या भए आफूले सहयोग गर्ने उनी जानकारी गराउँदछन् ।
सैनामैना–१ बोलबम मार्ग आफ्नै घर नजिकको करिब ८ कट्ठा जग्गामा १ सय ५० पोलमा ६ सय विरुवा ड्रगन फ्रुटका विरुवा लगाएका छन् । जुन हुर्किइसकेका छन् । त्यसैगरी थप ६ सय बिरुवा लगाउने तयारी रहेको उनले बताए । निश्चित दूरीमा लगाइएका ड्रगन फ्रुटका बिरुवाका बीचको खाली जमिनलाई समेत सदुपयोग गर्दै उनले अन्य विभिन्न बिरुवा रोप्ने गरेका छन् । पाण्डन ,थाइल्याण्डको अदुवा,मेरी वाशिंगटन कुरिलो,तराइम फल्ने स्याउ, सुन कागती–१ र २ , यूरेका लेमन, काफिर लेमन,ब्ल्याक कोब्रा खुर्सानी,एभोकार्डो,क्यान्सर किलर, किलो अम्बा लगाएत्का , ताइवान पिंक अम्बा लगाएतका फलफूल तथा जडीबुटीजन्य विरुवा रहेका छन् । त्यसैगरी खेतीको सिमानामा कुरिलो लगाएका छन् । यसरी ड्रागनसहित विभिन्न भेराइटिका विरुवा लगाउन उनले २३ लाख बढी खर्च गरेको सुनाए ।
निकै व्यवस्थित तवरले उनले सुरु गरेको उक्त फार्मले प्रतिफल दिन भने समय लाग्ने उनी बताउँछन् । रोपेका विरुवाहरु हुर्केपछि मात्रै फल प्राप्त हुनेछ । हुर्कँदै गरेका ६०० बढी ड्रागन फ्रुटका बोटबाट २ वर्षपछि फल लाग्न सुरु गर्ने उनी बताउँछन् । एउटा बोटबाट २० किलोसम्म फल लाग्ने उनको अध्ययन छ । र, सोही अनुसार फल लाग्यो भने राम्रो आम्दानी हुने उनी बताउँछन् । त्यस्तै खुर्सानी,तराइमा फल्ने स्याउ,कुरिलोबाट पनि राम्रो आम्दानी हुनेमा उनी विश्वस्त छन् ।
विगत १० वर्षदेखि कृषि कर्ममा व्यस्त तथा रमाएका पाण्डेको त्यस अगाडिको विगत भने त्यति सुखद छैन । उनले अध्ययनकै क्रमदेखि विभिन्न कर्म र पेशामा लागे, वैदेशिक रोजगारमा पनि गए । अन्ततः कृषि क्षेत्रमै व्यस्त छन्,कृषिलाई उनी निकै महत्व दिन्छन् । तर, वास्तविक कृषकहरुलाई राज्यले गर्न नसकेको सहयोग,मूल्यांकन र व्यवहारप्रति उनी असन्तुष्ट छन्।
राज्यले वास्तविक कृषक पहिचान गरी परिचय पत्र प्रदान गरी सोही अनुसारको नीति बनाएर कार्यान्वयन गर्नुपर्ने उनको माग छ । आधुनिक र व्यवसायिक कृषिका नाममा धनाढ्य र गैरकिसानले फाइदा लिइरहेको भन्दै कृषक परिचय पत्र बनाउन आवश्यक रहेको बताउँछन्।
उनले भने कृषिप्रति राज्यको स्पष्ट नीति र कार्यान्वयन छैन । झोलामा फर्म हुनेहरुले करोडौं शुलभ ऋण तथा अनुदान प्राप्त गर्छन् । तर,वास्तवमै कृषि गर्ने सामान्य कृषक भने सबै सुविधाबाट बञ्चित हुने गरेका छन् । थोरै सहयोग र ऋणका लागि पनि उनीहरुको पहुँच पुग्दैन,पुग्यो भने झण्झिटिलो प्रक्रिया छ ।’
कृषकलाई सहज र शुलभ ऋणपनि बैंकहरुको नारा मात्रै रहेको उनको अनुभव छ । उनी भन्छन्,बैंकहरुले पनि भन्ने मात्रै नीति अनुसार पूरा गर्न मात्रै त्योपनि ठूला व्यवसायिक भनिने कृषक र कागजी कृषि फार्मममा करोडौं लगानी गर्छन् तर, साना तथा वास्त्विक किसानलाई भने पत्याउँदैनन्।’
१० वर्षदेखि व्यवायिक कृषि गर्दै आएपनि उनले सरकारी (प्रदेश,कृषि तथा संघीय सरकार)तवरबाट कुनैपनि सेवा तथा सहयोग प्राप्त गरेका छैनन् । स्थानीय स्तरबाट कृषिमा सफलता प्राप्त गुर्नका साथै योग्दान पुर्याएको भन्दै गत वर्ष सैनामैना नगरपालिकाले नगदसहित सम्मान गरेको थियो । त्यसैगरी नगरपालिकाले सिञ्चाइका लागि टनेल निर्माणमा ५० हजार र ट्यूवेलका लागि ७५ हजार सहयोग गरेको छ ।
त्यसैगरी पाण्डेले कृषि क्षेत्रमा देखाएको लगाव र योग्दानको मूल्यांकन गर्दै पुरस्कार स्वरुप यूनडिपी अन्तर्गतको सेतो गुराँस बालविकास सेवाले इनोभेटिभ च्यालेञ्ज फण्डमार्फत रु एक लाख नगद पुरस्कार समेत प्रदान गरेको छ । उनलाई कृषि क्षेत्रमा नविन कार्य गरेवापत सो रकम पुरस्कार प्रदान गरिएको हो ।
स्याङजा गल्याङ नगरपालिका–४, दूधेचौरमा बुवा ओमप्रसाद पाण्डे र आमा भीमा पाण्डेको कोखबाट माघ २०२५ मा जन्मिएका ५३ वर्षीय पाण्डेको बाल्यकाल गल्याङमै बित्यो । ९ वर्षको उमेरमा उनको परिवार रुपन्देही झर्यो ।
उनले बुटवल माध्यमिक विद्यालयबाट ०४२ सालमा एसएलसी पास गरेपछि बुटवल बहुमुखी क्याम्पसमा अध्ययनका अतिरिक्त फर्निचरमा कामसमेत गर्न थाले । पढाइभन्दा काममा बढी केन्द्रित भएका पाण्डेले उक्त पेसा छोडेर केहि समय काठ व्यापारमा पनि लागेका थिए । त्यसैगरी पुनः विदेश जाने प्रयास गरेतापनि असफल भएपछि होटल सोल्टीमा काम थाले । उक्त पाँचतारे होटेलमा उनले करिब २७ महिना बिताए । यो पेसाबाट पनि पार नलाग्ने भएपछि उनले केही नयाँ सोँचको प्रयास गरे ।
शुद्धोधन गाउँपालिका–१ मा ८ कठ्ठा जमिन भाडामा लिएर कागती खेती सुरु गरे । विगत ४ वर्षदेखि व्यवसायिक कागती खेती गर्दै आएका नरेन्द्रले त्यसपछि पछाडि फर्केर हेर्नुपरेको छैन । अहिले व्यवसायीहरू कागती खरिदका लागि उनको बगैँचासम्म नै पुग्ने गर्छन् ।
पाण्डे कागती बेचेरै वार्षिक ४ लाख बढी कमाउँछन् । सिजनल जातको कागतीको बगैँचाबाट ३५ देखि ४० क्वीन्टलसम्म कागती निस्कन्छ भने बाह्रै महिना हुने कागतीबाट पनि प्रति वर्ष १० क्वीन्टलसम्म उत्पादन हुन्छ । ६ लाखमा सुरु भएको कागती खेतीमा अहिले पनि धेरै लगानी बढेको छैन । बीउमल गरी १० लाखसम्म लागत मूल्य बढेको उनी बताउँछन् । यो जग्गाबाहेकको लगानी हो ।
पाण्डे कृषिमा आफू मात्रै आवद्ध छैनन् । उनले स्थानीयलाई पनि कृषिमा प्रेरित गर्दै आएका छन् । उनको फार्ममा नियमित ४ देखि ६ जनाले र सिजनमा १२–१५ जनाले रोजगारी प्राप्त गर्दछन् । काम गर्न आउनेलाई पनि आफ्नो खेतमा खेती गर्न सुझाव दिने पाण्डेले उनीहरुले पनि खेती गर्न चाहेमा सहयोग गर्ने बताउँछन् ।
कृषि क्षेत्रमा अध्ययन अनुसन्धान समेत गर्दैै आएका पाण्डेले घरमा नै सानो नर्सरी स्थापना गरी कागतीको अध्ययन अनुसन्धान समेत सुरु गरेका छन्। एयर लेयरिङ (कलमी) गरेर अहिले गमलामा कागती फलाउने अभ्यासमा समेत लागेका छन् ।
पाण्डेको कृषिमा उनकी श्रीमती बिना पाण्डेको पनि साथ र सहयोग छ । २ सन्तानका अभिभावक पाण्डे दम्पती घरमा आफूहरु मात्रै छन् । चाहे घरमा होस् या बारीमा दुबै साथसाथै हुन्छन् । कृषिमा श्रीमती बिनाको साथ भएजस्तै घरायसी काममा श्रीमान नरेन्द्रको साथ रहेको बिना बताउँछिन्।
प्रतिक्रिया