बुटवल । नेकपा एमाले पाल्पाको अधिवेशनले अध्यक्षमा पुराना नेता धनेन्द्रराज घिमिरेलाई अध्यक्षमा निविरोध निर्वाचित गरेको छ । पाटीको ९ औं अधिवेशनले घिमिरे लाई अध्यक्ष बनाएको हो ।
उपाध्यक्षमा देवीलाल लामिछाने, सचिव भोजराज पोखरेल (रामजी), उपसचिव टीका थापा र सुनिता शर्मा निर्विरोध भए । जिल्लाका ८१ वटै वडालाई समेटेर जिल्ला कमिटी निर्माण गरिएको छ । एमाले जिल्ला कमिटी १ सय ५ सदस्यीय रहेको छ ।
अधिवेशनको उद्घाटन गर्दै पूर्वमन्त्री तथा पोलिटब्युरो सदस्य दलबहादुर रानाले एमाले अझ बढी एकताबद्ध भएर आगामी निर्वाचनको तयारी गर्नुपर्ने बेला आएको बताए । उनले विकास निर्माणका ठूला काम एमाले सरकारले सुरु गरेकाले अब ती काम पूरा गर्न पनि निर्वाचन जित्नुपर्ने बताए । अधिवेशनका लागि जिल्लाका सबै वडा तथा पालिका तहबाट ७ सय प्रतिनिधि थिए ।
कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य ठाकुर गैरेले जनताको माझमा पुगेर लोकप्रिय मत ल्याउन एकताबद्ध भएर जानुपर्ने बताए । लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कण्डेलले राष्ट्रिय सभाको निर्वाचन पाँच दलीय गठबन्धनका कारण पार्टी कमजोर हुन सक्ने तर आगामी निर्वाचनबाट एक नम्बरको पार्टी हुने बताए ।
प्रतिक्रिया