काठमाडौं । तराई विकास तथा सञ्चार केन्द्र नेपालद्वारा सञ्चालित सञ्चार केन्द्र नेपाल को हलमा आयोजित प्राविधिक शिक्षाको अवस्था र यसको विकासमा सञ्चारकर्मीको भूमिका विषयक एक बृहत् अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि तथा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले नेपालमा सीपयुक्त जनशक्तिको कमी रहेको बताए । उनले पत्रकारिता क्षेत्रमा पनि सम्बन्धित विषय नपढेका जनशक्तिले काम गर्दा विभिन्न समस्या उत्पन्न भएको जानकारी गराए । उनले भने,‘पत्रकारिता विषय नपढेका र पढेका पनि पत्रकारिता दक्ष नभएकाले पत्रकारिता स्वच्छ, प्रतिस्पर्धी र मर्यादित हुन सकेको छैन, आचारसंहिताको पालना हुन सकेको छैन ।’
अध्यक्ष बस्नेतले पत्रकारिता क्षेत्र जस्तै अन्य क्षेत्रहरूमा समेत दक्ष जनशक्तिको अभाव रहेको बताए । उनले दक्ष जनशक्तिको अभाव भएको औँल्याउँदै भने, ‘हाइड्रो क्षेत्रमा वर्षेनी खरबौंको काम हुन्छ तर नेपालीहरूले सीपको अभावका कारण सबैभन्दा तल्लो लेबल अर्थात् मजदुरीको काममात्र पाउँछन् ।’ नेपालमा दक्ष र सीपयुक्त जनशक्ति नहुँदा विदेशबाट नै दक्ष जनशक्ति मगाउनुपर्ने बाध्यता रहेको उनको जिकिर थियो ।
उनले पछिल्लो समय सिटिईभिटीले सीपयुक्त र दक्ष जनशक्ति उत्पादन गरेको भए पनि त्यो जनशक्ति नेपालका लागि पर्याप्त नभएकाले दक्ष जनशक्ति उत्पादनका लागि दबाब दिनुपर्ने धारणा राखेका थिए । ‘गाउँ गाउँमा समेत सिटिईभिटीले उत्पादन गरेको जनशक्ति परिचालन भइरहेको छ, यसका राम्रा कामलाई पत्रकारले बाहिर ल्याउनुपर्छ, यो पत्रकारिताको मूल धर्म पनि हो,’ उनले भने ।
अध्यक्ष बस्नेतले पत्रकारहरू पनि सिपयुक्त बनेर स्वच्छ र मर्यादित पत्रकारिता गर्न आग्रह गर्नुहुँदै प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिताबारे देशव्यापी जागरण अभियान गरिरहेको जानकारी गराए ।
कार्यक्रमका विशिष्ट अतिथि तथा सिटिईभिटीका सदस्य सचिव जीवनारायण काफ्लेले नेपालमा सीपयुक्त र दक्ष जनशक्ति उत्पादन गरिरहेको जानकारी गराए । सिटिईभिटीले उद्यमी र उत्पादनका क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्दै युवाहरूको विदेश पलायन रोक्ने लक्ष लिएको जानकारी गराए ।
सदस्य सचिव काफ्लेले आफूले ३१ वर्षदेखि सिटिईभिटीमा समर्पित भई काम गरिरहेको भए पनि केही सञ्चारमाध्यमले आफूविरुद्ध भ्रामक र अनर्गल समाचार लेखेकोप्रति आपत्ति जनाए । उनले भने, 'गरेका गल्ती लेख्नुहोस् तर नगरेको गल्तीको भागिदार नबनाउनुहोस् ।’
कार्यक्रममा सूचना तथा प्रसारण विभागका महानिर्देशक गोगन हमालले विकासको स्तरलाई मूल्यांकन गर्नका लागि त्यस देशको प्राविधिक पक्षलाई हेरिने बताए ।
प्रतिक्रिया