नेपालगञ्ज । बाँकेको नरैनापुर–६ कोहलाकी करुणा बिक नरैनापुर–६ मा रहेको जयकिसान माविमा प्राविधिक धारको कृषितर्फको बाली विज्ञान पढ्न पाउदा दंग छिन् । दुईवर्ष अघिसम्म कक्षा १० बाटै आफ्नो पढाइमा पूर्ण बिराम लाग्ने चिन्तामा रहेकी उनी गाउँपालिकाले कक्षा १२ सम्म गाउँकै विद्यालयमा कक्षा सञ्चालन गरेपछि उनी दंग छिन् ।
कक्षा १० मा बाली विज्ञान विषय अध्ययन गर्दै आएकी करुणाले घरको आर्थिक अवस्थाको कारण अन्यत्र गएर पढ्न सक्ने अवस्था नभएर पढाईलाई पूर्णविराम लगाउनै पर्ने बेलामा पालिकाले कक्षा १२ सम्म गाउँमै त्यो पनि प्राविधिक शिक्षा पढ्ने व्यवस्था मिलाउदा आफू अत्यन्तै हर्षित भएको बताइन् । सामान्य खेती किसानी गर्ने परिवारकी उनले विद्यालयमा पढेर जानेको कुरा घरमा गएर अभिभावकलाई सिकाउदै खेती गर्दा उत्पादन पनि बढेको महशुस भएको बताइन् ।
‘गाउँमा रहेको विद्यालयमा कक्षा १० सम्ममात्र थियो। कक्षा १० पछि कहाँ पढ्ने चिन्ता त छँदै थियो । त्यसैबेलामा गाउँपालिकाले कक्षा १२ सम्म प्राविधिक धारको बाली विज्ञान विषय गाउँकै स्कुलमा सञ्चालन गर्ने भएपछि उच्च शिक्षा पढ्ने रहर पूरा हुने भयो’– मुस्कुराउँदै करुणले आफ्नो खुशी व्यक्त गरिन् ।
उनीसँगै अध्ययन गर्ने राप्ती सोनारी–७ लालपुरकी पूर्णिमा मल्ल पनि फुरुङ्ग छिन् । उनी फुरुङ्ग हुनुको कारण हो गाउँमै भएको विद्यालयमा उच्च शिक्षा पढ्न पाउनु, त्यो पनि प्राविधिक धारको । बाँकेको नरैनापुर गाउँपालिकाले शिक्षा तथा मानव स्रोत विकास केन्द्रको सहयोगमा कृषि तर्फको बाली विज्ञान विषयको प्राविधिक धारको विद्यालय सञ्चालनमा ल्याएपछि विद्यार्थीको आकर्षण बनेको हो ।
एकवर्ष अघिसम्म सिंगो नरैनापुर गाउँपालिकामा माध्यामिक तहका विद्यालय ३ वटा मात्र थिए । गत वर्षदेखि पालिकाले जयकिसान मावि भोजपुरमा प्राविधिक धारको कृषि तर्फको बाली विज्ञान विषयसहित कक्षा १२ सम्म सञ्चालन गरेपछि पालिकाका विद्यार्थीहरुलाई १२ कक्षासम्म गाउमै पढ्ने अवसर जुराइ दिएको हो ।
ग्रामिण भेगमा रहेका करुणा, पूर्णिमा जस्ता छात्राहरुको उच्च शिक्षाको लागि घरबाट टाढा जानसक्ने अवस्था नहुँदा पढाइबीचमै छोड्न बाध्य हुनुपर्ने भएकोमा गाउँपालिकाले कक्षा १२ सम्मै पालिका भित्रै पढ्न पाउने व्यवस्था गरिदिएपछि उनीहरुको खुशीको पारो बढेको हो ।
उनीसँगै अध्ययनरत सन्दिपकुमार हरिजनले विद्यालयमा पढेको विषयले घरमा व्यवहारिक कृषि कर्म गर्दै आएका आमा बुवालाई कम्पोष्ट मल बनाउने, विषादी बनाउने जस्ता सिप सिकाउन सहयोग पुगेको बताउँछन् । उनले विपन्नताको कारण नरैनापुरबाट नेपालगञ्जसम्म पुगेर पढाई सुचारु गर्ने अवस्था नभएको कुरामा जोड दिँदै भने, ‘हामीलाई उच्च शिक्षा गाउँमै पढ्न पाइन्छ भन्ने विश्वास त थिएन तर, पालिकाले गाउँमै प्राविधिक धारको कक्षा १२ सम्म सञ्चालन गरेर ठूलो गुण लगाएको छ ।’
जिल्लाको अन्न भण्डार पालिकाको रुपमा पहिचान बनाएको नरैनापुर गाउपालिकाले कृषि क्षेत्रका प्राविधिक पालिकाबाटै उत्पादन गर्ने उद्देश्यले बाली विज्ञान विषयको कक्षा सञ्चालनमा ल्याएको नरैनापुर गाउपालिकाका शिक्षा शाखा प्रमुख शिक्षा अधिकृत कृष्णकुमार थारु बताउँछन् । नरैनापुर शिक्षा शाखा प्रमुख थारुका अनुसार अघिल्लो वर्ष बाली विज्ञानका लागि ३६ जना भर्ना भएका थिए भने दोस्रो वर्षमा यो संङ्ख्या बढेर ५० नाघेको छ । नरैनापुरमा २१ वटा सामुदायिक विद्यालय, २६ वटा मदरसा र ३ वटा संस्थागत विद्यालय सञ्चालनमा छन् ।
आधारभूत तह कक्षा ८ सम्म सञ्चालन भएका विद्यालय ४, माध्यमिक तह कक्षा १० सम्म सञ्चालन भएका ३ वटा, कक्षा १२ सम्म सञ्चालन भएको विद्यालय १ वटा छन् बाँकी रहेका ४२ वटा विद्यालय र मदरसा प्रावि तहका छन् । नरैनपुर गाउँपालिकाले आफ्नै ठाँउमा दक्ष प्राविधिक उत्पादन गर्ने उदेश्यले डाक्टर, इन्जिनियर र बिज्ञान बिषय पढ्न चाहनेलाई नि:शुल्क शिक्षाको व्यवस्था गर्ने कार्यक्रम पालिकाले सञ्चालनमा ल्याएको बताउँछन् गाउपालिकाका अध्यक्ष ईस्तियाक अहमद शाह ।
उनले राज्यको हेपाह र पेलाह दृष्टिको कारण नरैनापुर जिल्लामै विकासमा ओझेलमा परेको आरोप लगाए । उनले भने–‘हामीले शिक्षालाई विकासको पहिलो आधार बनाएर शिक्षा प्राथामिकतामा राखेका छौ । हामीले मात्र चाहेर हुने केही छैन । राज्यले पनि नरैनापुरलाई हेर्ने नजर फेर्नु पर्यो ।’
गाउपालिकाका प्रमुख प्रशाशकिय अधिकृत दलबहादुर बस्नेतले पालिकाले शिक्षालाई प्राथामिकतामा राखेर निशुल्क बस सञ्चालन गर्नु, छात्रबृत्तिका कार्यक्रम सञ्चालन गर्नु, निशुल्क साईकल बितरण गर्नुलगायतका महत्वाकांक्षि योजना सञ्चालन गरेको दाबी गरे । उनले पालिकाले प्रविधिक शिक्षा तर्फ उच्च शिक्षा अध्ययन गर्न चाहाने विद्यार्थीका लागि समेत छात्रबृत्ती उपलब्ध गराउने नीति तथा कार्यक्रम ल्याएको जानकारी दिए ।-रुद्र सुवेदी / न्युज कारखाना
प्रतिक्रिया