ताजा अपडेट »

२७औं क्यान इन्फोटेक २०२२ माघ १८ गतेदेखि

आइतबार, ११ पुस २०७८, १८ : ५८
2 Shares
आइतबार, ११ पुस २०७८
2 Shares

काठमाण्डौं । २७औं क्यान इन्फोटेक–२०२२ माघ १८ गतेदेखि शुरू हुने भएको छ ।कम्प्युटर एशोसिएशन नेपाल (क्यान) महासंघले यो वर्ष क्यान इन्फोटेक माघ १८ गते देखि २३ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना गर्न लागेको हो ।

इन्फोटेकको २७ औं संस्करण गत बैसाख २८ गतेदेखि जेठ २ गतेसम्म हुने गरी सबै तयारी गरिएकोमा कोभिड–१९ को दोश्रो लहरका कारण स्थगित गरिएको थियो । यस वर्षको क्यान इन्फोटेक भौतिक तथा भर्चूअल – दुवै स्वरुमा आयोजना हुने गरी तयारी बढाइएको संघले जनाएको छ ।

२७औं क्यान इन्फोटेकको शिर्ष प्रायोजन आईएमई पे र सह प्रायोजन स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससिटी)ले गरेका छन् । इन्फोटेक भब्य एवं सफल रुपमा आयोजना हुन देशभित्रबाट नेपाल सरकार – सूचना प्रविधि विभाग, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल टेलिकम, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श, नेपाल उद्योग परिसंघ, सुबिसु र भायानेट कम्युनिकेशन्स तथा अन्तरराष्ट्रिय रुपमा असोसियो र विट्साको पनि सहयोग रहने छ ।

सन १९९५ देखि क्यान महासंघले क्यान इन्फोटेकको सुरुवात गरेकोमा सन २०२० मा इन्फोटेकको २६ औं संस्करण सफलता पुर्वक सम्पन्न भएको थियो ।

नेपालमा सूचना तथा सञ्चार प्रविधि (आईसीटी) बारे चेतना बढाउने अभिप्रायले यो पटक क्यान इन्फोटेक २०२२ को टिकटको मुल्य ने.रु. १ हुनेछ र यो पटक पनि टिकट पेपरलेस नै हुनेछ ।

सूचना तथा संचार प्रविधि प्रर्दशनीमा क्यान महासंघका सदस्य संस्थाहरुका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कम्पनीहरुको सहभागिता रहने प्रचलन छ ।

प्रर्दशनीलाई व्यवसायीहरूले व्यापार विस्तारका साथै नयाँ–नयाँ प्रविधिको प्रदर्शनी गर्ने थलोका रूपमा उपयोग गर्ने तथा अवलोकनकर्ताले एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नौला र भविष्यका निम्ति प्रविधिहरु र उपकरणको अवलोकन तथा खरिद गर्न पाउनेछन् ।

क्यान इन्फोटेकमा ब्राण्डिङ, आइसिटी एक्ससरिज, गेम पार्लर, प्रडक्ट लञ्चिङ,स्टार्ट–अप, रोबोटिक्स, इमर्जिङ्ग टेक्नोलोजि,इ–वेष्ट म्यानेजमेण्ट, इ–गभर्नेन्स, सूचना प्रविधिमा महिला उद्यमी, वाइफाइ तथा इण्टरनेट र लर्निङ सेन्टर लगायतका विभिन्न खण्डहरु रहनेगरी तयारी अगाडि बढाईएको संघले जनाएको छ ।

क्यान इन्फोटेकमा करिव साढे ३ लाख मानिसले अवलोकन गर्ने अपेक्षा गरिएको संघले जनाएको छ । क्यान इन्फोटेक २०२२ का लागि पौष १३ गते मंगलवार देखि बुकिङ्ग खुल्ला हुने छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।