ताजा अपडेट »

बुटवलका यी युवा जसले आफ्नो व्यवसायलाई बनाए ब्राण्ड

मंगलबार, १३ पुस २०७८, १२ : ५९
74 Shares
मंगलबार, १३ पुस २०७८
74 Shares

बुटवल । काम, दाम र नामले परिचित हुने महत्वकांक्षा मानवीय गुण हो । सहि योजना,लगनशीता र कुशल व्यवस्थापनले मात्रै महत्वकांक्षाहरु पूरा गर्न सकिन्छ । अवसरहरुको खोजी गरेर मात्र होइन त्यसलाई पहिचान गरेर अघि बढ्न सकेमा सबैका लागि प्रेरणाको श्रोत समेत बन्न सकिन्छ । यसैगरी प्रेरणाको श्रोतका रुपमलिन सकिने बुटवलका नयाँ पुस्ताको संख्या दिनप्रतिदिन बढ्दै गएको छ ।

कपाल काटेर चर्चित र धनाढ्य भएका समृद्धिका मोहन ठाकुर

हेयर सैलून र स्टाइलको क्षेत्रमा मोहन ठाकुर चर्चित नाम हो। उनको समृद्धि यूनिसक्स हेयर शैलून ब्राण्ड हो,जहाँ कपाल काट्नकै लागि सर्वसाधारणदेखि विभिन्न निकाय र तहका उच्च व्यक्तित्वहरु पुग्ने गर्दछन् । आफूलाई व्यवसायिक रुपमा सफल बनाउँदै व्यवसायलाई ‘ब्राण्ड’को रुपमा स्थापित गरेका मोहन सफल युवा व्यवसायी तथा उद्यमी मानिन्छन् ।

परम्परागत कपाल काट्ने पेसालाई व्यवसायिक ‘ब्राण्ड’ बनाउने यात्रामा रहेका ठाकुरले अन्ततः आफ्नो कपला काट्ने तथा मर्मत गर्ने व्यवसायलाई आधुनिक शैली र तवरमा परिणत गर्दै समृद्ध हेयर शैलुनलाई धेरैले चिन्ने,चाहाने,खोज्ने गन्तव्यका रुपमा स्थापित गरेका छन् । उनको कपाल सम्बन्धी उद्यम ब्राण्डेड व्यवसाय मात्रै भएको छैन । उनी साँच्चै समृद्धि ल्याउन पनि सफल भएका छन् । समृद्धिको चाहना र नारा लगाउनेहरुका लागि उनको मिहिनेत,लनशीलता र अनुभव प्रेरणा बन्न सक्छ ।

कपाल र दार्ही काटेर कसरी जीवन चल्छ ? जीवनयापन त होला तर, लाखौं कमाएर आधुनिक शैलीमा जीवनयापन गर्न त कमैले मात्रै कल्पना गर्दछन् । ठाकुरले यो प्रश्नको गतिलो जवाफसहित यसलाई प्रमाणित गर्दै गतिलो विकल्प र सम्भाना प्रस्तुत गरेका छन् । मोहन पुख्र्यौली पेसा सम्हाल्ने चौथो पुस्ताका युवा हुन् । उनले कपाल र दार्ही काटेर जीवन चलाएका,अर्थोपार्जन गरेका मात्र छैनन् । नाई पेसालाई नै व्यावसायिक बनाउँदै आफ्नो पुस्तौँ पहिलेको रैथाने पेसालाई ‘ब्राण्ड’को रुपमा परिचित बनाउने यात्रामा छन् ।

बुटवलको अमरपथस्थित सिंह कम्प्लेक्समा ६ वर्षदेखि सञ्चालित शैलुन तत्कालिन समयमा निल डेभिडको फ्रेन्चाइज लिएर सुरुवात भएको थियो । ८ जना कर्मचारीबाट सुरु भएको शैलुन पछि समृद्धि यूनिसेक्स हेयर शैलूनका रुपमा सेवा दिँदै,स्थापित हुँदै समृद्धिको रुपमा ब्राण्ड बनेको छ । हाल बुटवलस्थित सृमद्धि शैलुनमा मात्रै १२ जना भन्दा बढी कर्मचारी रहेका छन् । मोहनको शैलूनमा महिला र पुरुष दुबै कर्मचारी करिब बराबर नै छ । महिलाहरुले पुरुषहरूको समेत कपाल काट्छन् भने पुरुषले महिलाको श्रृंगारसमेत गर्छन् । मोहन आफैँ पनि कपाल काट्ने काममा ब्यस्त हुन्छन् । आफ्नै सीप र लगनले उनले आफ्नै मौलिक ब्राण्ड बनाए । फलस्वरुप उनको समृद्धि यूनिसेक्स हेयर शैलुन ब्राण्ड बनेको छ ।

बाबु–बाजेको पुख्र्यौली पेशालाई नयाँ ढङ्गबाट निरन्तरता तथा प्रवद्र्धन गर्दै अगाडि बढेको उनी बताउँछन् । ‘हजुरबुबा, बाजेहरूले यही पेसा अँगाल्नुभयो । अन्यत्र जान पनि मन लागेन । आफैँ व्यवसाय गर्ने र आफैँ स्वरोजगार बन्ने योजनाले पुख्र्यौली पेसालाई निरन्तरता दिएँ । आम्दानी राम्रो छ, सन्तुष्ट नै छु ।’–ठाकुरले भने ।

केहि समय सञ्चार क्षेत्रमा आवद्ध उनी केहि समय गैर सरकारी संस्थामा पनि आवद्ध भए । सो क्रममा उनले समाज र व्यवसायसँगै उद्यम क्षेत्रको पनि अनुगमन गरेको उनी बताउँछन् । जागिरकै क्रममा केही रिसर्च गरेपछि आफ्नै पुख्र्यौली पेसालाई नयाँ स्वरूप दिएर यो क्षेत्रमा आएको हुँ,’ उनले भने–‘परिस्थिति परिर्वतन भयो । स्वभाविक रूपमा हाम्रा हजुरबुबा, बुबाको जस्तो अवस्था छैन । हजुरबुबा, बुबाहरूले जीवन चलाउनुभयो । हामीहरूले यसलाई व्यावसायिकता दियौँ ।’१० लाख लगानीबाट सुरु भएको उनको नील डेभिडमा हाल ७० लाख लगानी भइसकेको छ । कपाल, दाह्री काट्दा सबैभन्दा सुरुमा सरसफाइलाई ग्राहकले बढी ख्याल गर्छन् । त्यसैले मोहन आफ्नो सैलुनमा सबभन्दा बढी सरसफाइमा ध्यान दिन्छन् । कपाल काट्ने कैँची, मेसिन, टावेल, ब्लेड सबैको व्यवस्थापनमा ध्यान दिएका छन् । ‘सरसफाइमा सबैभन्दा बढी ध्यान त दिन्छौँ नै, हामीले युवापुस्ताको चाहनाअनुसार न्यू लुक्स पनि दिन्छौँ । त्यसैले युवापुस्ता अझ बढी हाम्रा ग्राहक बनेका छन्,’ उनले भने ।

स्नातक पढेका मोहनले अन्त गरेको जागिरमा भुलेनन्,सरकारी जागिरतर्फ प्रयास गरेनन् । उनले आफ्नै पुख्र्यौली पेसा रोजे,जुन निकै कम युवाले पछ्याउँछन् । पुख्र्यौली पेशालाई आधुनिक शैली र तवरमा विस्तार गरेका मोहन सामाजिक रुपमा पनि परिचित छन् । सबैसँग मिल्ने उनको स्वभावले ग्राहक पनि उनका निकटका मित्रहरु जस्तै बन्ने गरेका छन् । त्यसैगरी उनलाई चिनेका उनका मित्रहरु पनि नियमित उनको शैलुनमा जाने गर्दछन् ।

मोहन समृद्धिका लागि अधिकांश समय खर्चिन्छन् बिहानैदेखि रातिसम्म निरन्तर खट्छन् । आफू व्यस्त छन्,त्यसैगरी केहि युवालाई रोजगार प्रदान गरेका छन् । शैलुन भित्र मात्रै होइन उनको सीप शैलुनको नामका कारण उनले विभिन्न संघसंस्थाहरुको सहकार्यमा तालिम पनि सञ्चालन गर्दछन् । उनी हेयर स्टाइल र मेन्टेनन्सका प्रशिक्षक पनि हुन् । शैलुन भन्दा बाहिरबाट पनि उनको राम्रो आम्दानी छ ।

उनको शैलुनमै बाल काट्न र बनाउन लुम्बिनीका बाँके,बर्दिया,दाङ,कपिलबस्तु,गुल्मी लगाएतबाट मात्रै होइन गण्डकीका स्याङ्गजा,चितवन लगाएत र भारतका नौतनवा,गोरखपुरबाट पनि आउने गर्दछन् । त्यसैगरी विभिन्न चर्चित सेलिबे्रेटीहरुदेखि प्रदेश सरकारका मन्त्रीहरु र केहि सांसद पनि उनको शैलुनमा बाल काट्न निरन्तर आउने गर्दछन् ।

व्यवसायको ब्राण्डसँगै मोहनले विस्तार अभियान पनि सुरु गरेका छन् । उनले रुपन्देहीको तिलोत्तमा मणिग्राम र नवलपारसीको बर्दघाटमा समृद्धि यूनिसेक्स हेयर शैलुनको शाखा सञ्चालन गरिसकेका छन् । त्यसैगरी संघीय राजधानी काठमाण्डौंम पनि समृद्धि यूनिसेक्स हेयर शैलून सञ्चालन गर्ने मोहनको तयारी रहेको छ । समृद्धि अन्तर्गत हालसम्म ३२ जना रोजगार रहेको र आगामी दिनमा शाखा विस्तार गर्दै रोजगार पनि बढाउने अभियान रहेको उनले बताए ।

कृषि उत्पादनमा भेडे खुर्सानीलाई ब्राण्ड बनाएका युवा, सुदर्शन पन्त

खुर्सानी भन्ने वित्तिकै सबैले नाम लिने र मन पर्ने नाम हो ‘भेडे खुर्सानी’ । भेडे खुर्सानी अर्थात ‘क्याप्सिकन’ को नाम लिने बित्तिकै नाम आउने व्यक्ति हुन युवा व्यवसायी सुदर्शन पन्त । बुटवल–१८ बेतानीका ३० वर्षीय सुदर्शनले क्याप्सिकन खेती गरेर सफल व्यवसायी मात्र भएका छैनन् अरुलाई पनि रोजगार दिन सफल भएका छन् । कृषिमा सम्भावना छ भन्ने कुरालाई उनले प्रमाणित गरेर देखाउँने काम गरेका छन् ।

वि।स। २०६८ सालदेखि साढे दश बिघामा भेडेखुर्सानी (क्याप्सिकन) खेती गर्न सुरु गरेका उनले अन्य युवाहरुलाई पनि ठाउँ–ठाउँमा तालिम दिँदै हिड्ने गरेका छन् । अहिले सोहि जग्गामा रिर्सोट सुरु गर्ने तयारीमा समेत रहेका छन् । स्नाकोत्तरसम्म अध्ययन गरेका उनले यसको व्यावसायिक उत्पादनले आम्दानी र खुसी दुबै मिलेको बताउँछन् । ‘घरपरिवार, आफन्त, साथीभाइ कसैबाट सहयोग भएन,’ उनले भने, ‘अहिले सबैले नाम लिने, सल्लाह लिने पात्र बन्न पाइएको छ ।’ पढिसकेपछि केही न केही पेसा अँगाल्नैपर्ने सोच समाजको रहेकाले आफूले अन्यत्र जागिर खानुभन्दा आफ्नै व्यावसाय सुरु गरे ।’ उनले भने । अफ सिजन र सिजन दुवै समयमा क्याप्सिकन बिक्री हुने गरेको उनले बताउँछन् । उनको फार्ममा ४० जनाले प्रत्यक्ष रोजगारीसमेत पाएका छन् ।

पर्यटकीय क्षेत्रका होटल एवं तरकारी बजारमा अत्यधिक माग हुने गरेको ६० रोपनी क्षेत्रफलमा रहेको क्याप्सिकनमा साढे ४ करोड रुपैँया लगानी गरेका उनको व्यवसायले अन्य युवाहरुलाई समेत कृषितर्फ आर्षित गर्ने गरेको छ । पाल्पा र बुटवल गरी दुई ठाउँमा सञ्चालित उनको फार्म अवलोकन गर्न छिमेकी जिल्ला गुल्मी, अर्घाखाँची नवलपरासीदेखि किसान आउने गरेका छन् । नेपाली समाजले पढेका मानिसले कृषि रोज्दा किन होला, के गर्ला भनेर कुरा गर्ने प्रवृत्ति चिर्नसमेत आफूले कृषिकर्म रोजेको उनले सुनाए । क्याप्सिकन फार्मबाट उनले वार्षिक ७ लाख रुपैयाँसम्म आम्दानी गर्न सफल भएको बताउँछन् ।

समस्याका बीच अवसर भेट्ने युवा व्यवसायी सागर पौड्याल

पाल्पाको तानसेन नगरपालिका–७ बाँसटारीका स्थायी बासिन्दा हुन् सागर पौडेल । उनले युवा उमेरमै आफूलाई सफल व्यवसायीको रुपमा परिचित गराउन सफल भएका छन् । उनका अनुसार जसले व्यवसायमा नयाँ सोच भित्र्याउँछ, उही सफल हुन्छ । उनी अरूको नक्कल गरेर व्यवसाय गर्नाले कालान्तरमा सफलता दिन सक्दैन भन्ने मान्यता राख्छन् ।

पछिल्लो समय कोरोना महामारीले सबै क्षेत्रलाई धराशायी बनायो । हरेक क्षेत्रमा समस्यामात्र उब्जियो, तर उक्त समस्याका बीच पनि सागरले भने फड्को मार्दै गए । विगत ६ देखि ‘लाइम एण्ड लेमन लाउन्ज क्याफे’ सञ्चालन गर्दै आएका उनले महामारीमा पनि रोकिएनन् । विशेष गरी युवा पुस्तालाई आकर्षित गर्ने गरी उनले सञ्चालनमा ल्याएको यो रेष्टुरेन्टले उनको परिचयलाई थप उचाईमा पुर्याएको छ ।

सबैलाई जस्तै उनको व्यवसायलाई पनि महामारीले नराम्ररी बिथोल्यो, तर उनी आत्तिएनन् र समस्यामा मात्र केन्द्रित नभएर समाधान र सम्भावनामा केन्द्रित भए । महामारीअघि १६ जना कर्मचारी रहेको उनको क्याफेमा हाल करिब एक दर्जनले प्रत्यक्ष रोजगार पाइरहेका छन् । उनले पनि साइप्रसमा होटेल म्यानेजमेन्टमा स्नातक गर्दा सिकेका कुरालाई लागू गर्दैजाँदा व्यवसाय सफल हुन सकेको बताउँछन् ।

साइप्रसबाट होटेल म्यानेजमेन्टमा स्नातक तहको अध्ययन पूरा गरेर सागर नेपाल फर्किएका थिए । नेपालमा के गर्ने कसो गर्ने भन्दाभन्दै उनले आफूले जानेको सिपलाई व्यवसायमा परिणत गर्ने सोच बनाए । २०७१ सालमा सञ्चालनमा ल्याए–लाइम एन्ड लेमन लाउन्ज । सागरले सञ्चालनमा ल्याएको लाइम एन्ड लेमन लाउन्जमा उनको एकल लगानी छ । त्यस बाहेक उनले पार्टनरसिपमा चार वटा क्याफेमा लगानी गरेका छन् । कुनै समय नेपालमा के गर्ने भन्ने सोचमा बस्ने सागरले रेस्टुराँ व्यवसायमा ९ करोड रुपैयाँ लगानी गरिसकेका छन् । त्यो पनि ६ वर्षको बीचमा ।

औद्योगिक र व्यापारिक नगरको रूपमा परिचित बुटवल होटेलको हबको रूपमा परिचित हुन सक्ने प्रशस्त आधारहरू रहेको उनले बताउँछन् । त्यो आधारलाई सागरले अवसरको रूपमा लिएका छन् । बुटवलको कालिकानगर पश्चिमलाई बुटवल उपमहानगरपालिकाले ‘मिनी ठमेल’ परिकल्पना गरेर हाल सडक विस्तारमा लागेको छ । तीनकुनेदेखि योगिकुटीसम्म हाल सयौँको सङ्ख्यामा स्तरीय होटेल खुलिसकेका छन् । साँझमा गुलजार बन्ने कालिकानगरलाई रातको समयमा पनि सञ्चालन गरेमा थप व्यावसायिक सम्भावना फेला पर्ने सागर बताउँछन् ।

डि. बी. सुस्लिङ
लेखकको बारेमा
डि. बी. सुस्लिङ

सुस्लिङ ग्लोबल आवाज अनलाइनका समाचार संयोजक हुन् ।