विराटनगर । नेकपा (माओवादी केन्द्र) प्रदेश १ कमिटीको अध्यक्षमा अर्थमन्त्री जनार्दन शर्माका प्रमुख स्वकीय सचिव हर्कबहादुर नेम्वाङ विजयी भएका छन् ।
अध्यक्षमा नेम्वाङले १६९ मत ल्याउँदा उनका प्रतिस्पर्धी मुक्साहाङ मेन्याङ्बोले ६४ मत मात्रै ल्याएका छन् । मुक्साहाङ माओवादी नेता वर्षमान पुन निकट हुन् । अध्यक्षमा ७ मत बदर भएको थियो ।
तीन जना उपाध्यक्षमा मणिकुमार साम्पाङ १११, देवान चाम्लिङ १२० र शिवकुमार डाँगी ११३ मत ल्याएर विजयी भएका छन् ।
सचिवमा गणेश उप्रेती १४८ मत ल्याएर विजयी बने भने उनका प्रतिस्पर्धी सिपी कडरियाले ८३ मत मात्रै ल्याउन सफल भए ।
तीन सहसचिवमा कुमारी राई ११४, सागर किराँती ७३ र ऋषिराम ढुंगाना ९५ मतल्याएर विजयी भएका छन् । कोषाध्यक्षमा ९३ मतका साथ रेवतराज पुरी विजयी भए ।
९ जना पदाधिकारीका लागि भएको निर्वाचन प्रक्रियामा २४० जनाले मतदान गरेका थिए । २९ जनाको उमेदवारी परेको थियो निर्वाचन समितिका संयोजक राजन किरातीले बताए ।
तीन उपाध्यक्ष पदका लागि साम्पाङ, डाँगी र चाम्लिङसहित भोगेन्द्र प्रसाद यादव, पुरुषोत्तम चुँडाल, उर्मिला तामाङ, इन्दीरा मिश्र र मोहन बहादुर खत्रीले चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए ।
३ जना सहसचिव पदका लागि भने १३ जनाको उम्मेद्वारी परेको थियाे । जसमा ऋषिराम ढुंगाना, कुमारी राई र सागर राई विजयी बने ।
१ जना कोषाध्यक्षका लागि गगनसहित चार जनाको उम्मेदवारी परेको थियो । जसमा मदनकुमार चुँडाल, रामकुमार कार्की र बन्दना झाँगड (अनिशा) रहेका थिए । अधिवेशन २५ बाट सुरु भएकाे थियाे ।
प्रतिक्रिया