ताजा अपडेट »

‘सरकारी नीति र नेतृत्वको व्यवहार उद्योगमैत्री भएन’

सोमबार, ०४ कार्तिक २०७६, ०८ : १६
100 Shares
सोमबार, ०४ कार्तिक २०७६
100 Shares

देशकै आर्थिक केन्द्र मानिने रुपन्देहीमा सयौं उद्योगहरु स्थापित छन् । पछिल्लो समयमा यस क्षेत्रमा उद्योग स्थापना हुुने क्रम पनि बढ्दो छ । यहाँ दर्जनौं ठूूला, महत्वपूर्ण र फरक खालका उद्योगहरु रहेका छन् । यस्तै उद्योगहरु मध्ये रुपन्देहीको तिलोत्तमा–१६ स्थित ए.जी. हेल्थ इण्डष्ट्रिज प्रा.लि.पनि एक हो । वि.सं.२०७४ सालदेखि बालबालिकाका लागि सगुन बेबी ब्राण्डमा डायपर र महिलाका लागि सेनीटरी प्याड समेत उत्पादन गर्दै आएको यस उद्योग डायपर उत्पादन गर्ने नेपालकै पहिलो उद्योग हो भने सेनीटरी प्याड उत्पादन गर्ने दोस्रो उद्योग हो । बालबालिका र महिलाको स्वास्थ्यसँग प्रतक्ष्य सरोकार राख्ने डायपर तथा सेनीटरी प्याड उत्पादन गर्दै आएको नेपालको दोस्रो उद्योगको रुपमा सञ्चालित यस उद्योगको बारेमा रहेर ग्लोबल आवाजका लागि गौतम भूसालले गरेको कुराकानीः

यस्तो किसिमको उद्योग स्थापना गर्ने सोँच कसरी भयो ?
– दुई दशकभन्दा बढी समय औधोगिक क्षेत्रमा व्यतित गरेपछि एउटा फरक उद्योग सञ्चालन गर्न मनलाग्यो जसले सामाजमा पनि केही योगदान होस् । सोही सोँच अनुसार रुपन्देहीमै बालबालिका र महिलाको सरसफाई र स्वास्थ्यसँग सरोकार राख्ने डायपर तथा सेनीटरी प्याड उत्पादन गर्ने उद्योग स्थापना गरेका हौं ।

यस उद्योगमा कति लगानी र संरचना कस्तो रहेको छ ?
– ४ जनाको लगानी रहेको यस उद्योगमा करिब ५० करोडको लगानी रहेकोे छ । वि.सं.२०७३ सालदेखि निर्माण कार्य सुरु गरि वि.सं.२०७४ साल बैशाखदेखि व्यावसाईक उत्पादन सुरु गरेका हौ । यो उद्योग दुई विघा क्षेत्रफलमा रहेको छ । हामीले प्रतक्ष–अप्रतक्ष गरि करिब एक सय जनालाई रोजगार प्रदान गरेका छौ । यस उद्योगमा अधिकांश स्थानीय र महिला कर्मचारी रहेका छन् ।

नेपालमै डायपर र प्याड उत्पादनका लागि उद्योगलाई के–कस्ता कच्चापदार्थ आवश्यकता पर्दछ र ति कहाँबाट आयात गर्नुहुन्छ ?
– डायपर र प्याड उत्पादनका लागि फ्लप(कपास), ननओभन फेब्रिक, प्लाष्टिक, पिफिलिङ, गम, स्याप जस्ता कच्चापदार्थ आवश्यक पर्दछ । यस्ता पदार्थ भारत, चीन, अमेरिका, क्यानडा जस्ता देशहरुबाट आयात गरिन्छ ।

यस कम्पनीको उत्पादन क्षमता र बजार कस्तो रहेको छ ?
– कम्पनीले प्रतिमिनेट ४५० पिस डायपर र सेनीटरी प्याड उत्पादन गर्दछ । यसका लागि ५ जना प्राविधिकहरु रहेका छन् । जो नेपाली नै हुन् । उनीहरु विभिन्न देशमा गएर यस्तै किसिमका उद्योगमा काम गरेर आएका हुन् । हाम्रा उत्पादनको बजार देशैभर रहेको छ । ११२ डिलरहरु मार्फत हाम्रा उत्पादन उपभोक्तासम्म पुग्दछन् ।

उत्पादन अनुसार खपत कस्तो छ र, अन्य देशमा निर्यात गर्नुहुन्न ?
– सुुरुका दिनमा हामीले दैनिक ६ घण्टा उत्पादन गरेका थियौं । हाल दैनिक आठ घण्टा मेशिन सञ्चालन हुुन्छ । उत्पादित सामग्रीको खपत राम्रो छ । नेपालमा डाइपर र सेनिटरी प्याड प्रयोग गर्नेको संख्या वर्षेनी २० प्रतिशतको दरले वृद्धि भएको छ । भारत, बंगलादेश, भूटान निर्यात गर्न सकिने गरी उत्पादन गर्न सक्छौं । तर, भारतीय नीतिअनुसार हामीले भारतको ६० प्रतिशत कच्चा पदार्थ प्रयोग नगरेको हुनाले भारत निर्यात गर्न सक्देनौं ।

नेपाली बजारमा अन्य अन्तराष्ट्रिय तथा बहुुराष्ट्रिय कम्पनीका डायफर र सेनीटरी प्याडहरु पनि उप्लब्ध रहेका छन् । ति उत्पादनसँग तपाइँको उत्पादनको कत्तिको प्रतिष्पर्धा एवम् समस्या छ ?
– धेरै नै प्रतिष्पर्धा छ । हाम्रा उत्पादनहरु गुणस्तरीय भएको हुनाले हाम्रो बजार विस्तार हुुँदै गएकोे छ । स्वास्थ्यसँग सरोकार राख्ने र संवेदनशिल भएको हुनाले हामीले उत्पादन र गुणस्तरलाई विशेष ध्यान दिएका छौं । हाम्रो आफ्नै ल्याबमा परिक्षण गरेर मात्र उत्पादन बजारमा पठाउँछौं । हामीले हाइजेनिकलाई विशेष प्राथमिकता दिएका छौं । हालसम्म बजार र उपभोक्ताबाट सकारात्मक प्रतिक्रिया पाएका छौं ।

यस उद्योगबाट उत्पादित सामग्रीहरुको प्रकार र मूूल्य कस्तो रहेको छ ?
– हामीले विभिन्न उमेर समूहका बालबालिका र महिलाहरुलाई लक्षित गरी फरक आकारमा सामग्री उत्पादन गरेका छौं । जसअनुसार शिशुदेखि बालकसम्मलाई डाइपर र किसोरीदेखि रजस्वला हुने उमेर समूहका महिलासम्मलाई लक्षित गरी प्याड उत्पादन गरेका छौं । जसको प्रति प्याकेट मूल्य रु ४५ देखि ११ सय सम्म रहेको छ । ति उत्पादनको उपभोग समयावधी तीन वर्षसम्म रहेको छ ।

यस उद्योग सञ्चालनको क्रममा कस्ता समस्या तथा चूनौतीहरुको सामना गर्नु परेको छ ?
– नेपालमा जुनकुनै उद्योग सञ्चालन गर्नपनि निकै गाह्रो, समस्या र चुनौती समेत रहेका छन् । नेतृत्वको बोली अनुसार व्यवहार र औधोगिक अवस्था अनुसार नीति छैन । नेतृत्वको बोली र औधोगिक नीति दुबै वास्तवमा औधोगिक हितमा छैनन् । यस उद्योग सुुरुगर्दा लोडसेडिङ समस्या, बैंकिङ समस्या, मेशिनरी सामान आयात गर्ने लगाएतका समस्याहरु थिए । हाल बिद्युत करिब निरन्तर भएपनि भोल्टेज घट–बढ हुने समस्या, मेशिनका पार्टहरु बिग्रेमा विदेशबाट मगाउँदा झण्झटिलो प्रक्रिया साथै वारेण्टीका पार्टस् एवम् ५ सय डलर भन्दा माथिका सामान ल्याउँदा एलसी खोल्नु पर्ने बाध्यता, तयारी सामाग्री आयातमा खुकुलो नीति, नेपाललाई विदेशी उत्पादनको प्रयोगशाला बनाउने जस्ता समस्याहरु रहेका छन् ।

औद्योगिक क्षेत्रमा देखिएका तपाइँले भनेजस्ता समस्या समाधानका लागि सरकारले के गर्नुपर्ला ?
– पहिला सरकारले औधोगिक नेतृत्वको मात्र नभई सबै उद्योगीहरुसँग छलफल गरी उद्योगमैत्री नीति र वातावरण बनाउन आवश्यक छ । उद्योग स्थापनाको क्रममा बैंकले शुलभ दरमा ऋण प्रदान गर्नुका साथै उद्योग स्थापना क्रमको व्याजमा सहुलियत प्रदान गर्न आवश्यक छ । उद्योगले उत्पादन सुुरु नगर्दै व्याजले ढाड सेकिने अहिलेको अवस्था छ । त्यसैगरी कच्चा पदार्थ आयातमा न्यून भन्सार र रेडिमेड सामान आयातमा बढी भन्सार दर लगाउन आवश्यक छ ।

पछिल्लो समय नेपालमै लगानी गरी उद्योग स्थापना गर्न र उद्योगमैत्री वातावरण बनाउन तिनै तहका सरकार लागि परेका छन् । यसै क्रममा तपाइँकै उद्योग रहेको तिलोत्तमा नगरपालिकाले पनि लगानी सम्मेलन गर्यो त ?
– केही राम्रो संकेत देखिएको छ । तर, व्यवहारिक र नीतिगत कुरामा स्पष्ट छैन । सानो देश र थोरै जनसंख्या भएको देशमा भारत, चीन जस्ता ठूूला र बहुराष्ट्रिय कम्पनीका उत्पादनसँग नेपाली उत्पादनले प्रतिष्पर्धा गर्न सकेका छैनन् । खुल्ला सिमाना र आयात गर्दा पर्ने लागत अनुसार उत्पादन महङ्गो पर्दछ । यि लगाएत अन्य समस्याहरु अझै छन् ।

लामो समयदेखि उद्योग सञ्चालन गरेको अनुुभव र पछिल्लो समय यस उद्योग सञ्चालन गरेको आधारमा आगामी दिनमा कस्ता योजना रहेका छन् ?
– हामीले यस उद्योगको उत्पादन बढाउने, बजार विस्तार गर्ने योजनाका साथै सिरिञ्ज (सुई) उत्पादन गर्ने योजना बनाएका छौं । त्यसैगरी उद्योगबाट स्वदेशमै धेरै भन्दा धेरैलाई रोजगार बनाउने हाम्रो लक्ष्य रहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।