बुटवल । रुपन्देहीको सैनामैना–६ भरतपुरस्थित जनकल्याण माविको ३९औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । विद्यालयको वार्षिकोत्सवको अवसरमा सञ्चालित सप्ताहसहित शनिबार मूल समारोह सम्पन्न भएको हो ।
सो अवसरमा बोल्दै लुम्बिनी प्रदेशका शिक्षा,बिज्ञान,युवा तथा खेलकूद मन्त्री वसीउद्दीन खाँले सामुदायिक विद्यालयको सुधारका लागि सरकार तत्पर रहेको बताए । जनकल्याण मावि ग्रामिण भेगमा रहेर पनि नमूना विद्यालय बनेको बताउँदै थप विकास र गुणस्तरका लागि सबैको सहकार्य आवश्यकता रहेको बताए ।
त्यसैगरी सैनामैना नगर उपप्रमुख बिना रानाले विद्यालयले राम्रा अभ्यासहरु गर्दै अगाडि बढेकोमा नगरले सम्मान गरेको बताउँदै आगामी दिनमा थप सफलताको कामना गरिन् । उनले विद्यालयको पूर्वाधार र गुणस्तरीय शिक्षाका लागि विद्यार्थीलाई आवश्यक वातावरण निर्माणका लागि नगरपालिका प्रतिवद्ध रहेको समेत जनाइन् ।
समारोहमा मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय अध्यक्ष गोविन्द खनालले विद्यालय शान्ति क्षेत्र रहेको बताउँदै समृद्धिका लागि गुणस्तरीय शिक्षामा जोड दिन आग्रह गरे । उनले शिक्षामा परिवर्तनको खाँचो रहेको औंल्याउँदै समय ,सापेक्ष र असल नागरिक उत्पादनका लागि विद्यालय शिक्षालाई प्रभावकारी बनाउनुपर्ने बताए । खनालले असल नागरिकबाटै मुलुकमा शान्ति,सुशासनसँगै समृद्धि स्थापना हुने हुँदा सामुदायिक विद्यालयमा अझै सुधार आवश्यकता रहेको कुरामा जोड दिए ।
खाँ र खनालद्वारा अक्षय कोष स्थापना
समारोहकै अवसरमा प्रमुख अतिथि , लुम्बिनी प्रदेश सरकारका शिक्षामन्त्री बसउद्धिन खाँ ले आफ्ना पिता कलामुद्धिन खाँको स्मृतिमा विद्यालयमा रु ५१ हजारको छात्रावृत्ति अक्षयकोष स्थापना गरेका छन् । त्यसैगरी समारोहका विशिष्ट अतिथि , मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय अध्यक्ष गोविन्द खनालले आफ्ना पिता ज्ञानप्रसाद खनाल र माता चन्द्र खनालको सम्मानमा रु १ लाख ११ हजार ११ को छात्रावृत्ति अक्षयकोष को स्थापना गरेका छन् ।
समारोह विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बसन्त पाण्डेको अध्यक्षता, लुम्बिनी प्रदेशका शिक्षा,बिज्ञान,युवा तथा खेलकूद मन्त्री वसीउद्दीन खाँ को प्रमुख आतिथ्यता , विद्यालयका सहायक केशवराज ज्ञवालीको स्वागत मन्तव्यमा भएको थियो भने प्रधानाध्यापक अर्जुन प्रसाद पोख्रेलले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
समारोहमा अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय उपाध्यक्ष गुणाखर भट्टराई ,नेपाली कांग्रेस सैनामैनाका सभापति रण बहादुर खनाल लगाएतले बोल्दै विद्यालय तथा गुणस्तर सुधारको गतिमा सरोकारवाला सक्रिय हुन आग्रह गरे ।
विद्यालयले वाार्षिकोत्सवको अवसरमा सप्ताहव्यापी कार्यक्रम अन्तर्गत विभिन्न बाह्य तथा आन्तरिक खेलहरु सम्पन्न गरेको र मूल समारोहको पूर्वसन्ध्यामा विशेष कार्यक्रम गरी पुरस्कार वितरण गरेको प्रधानाध्यापक पोख्रेलले बताए ।
प्रतिक्रिया