ताजा अपडेट »

राप्रपामा केन्द्रीय कमिटी बैठक बस्दै, कमल थापा पक्ष सहभागी होला ?

बुधबार, २२ मंसिर २०७८, १२ : ०३
8 Shares
बुधबार, २२ मंसिर २०७८
8 Shares

काठमाडौं ।  राप्रपाले एक साताअघि एकताको नाम दिएर महाधिवेशन सम्पन्न गरेको छ । एक साताअघि बुधबार भृकुटीमण्डपमा आयोजित महाधिवेशन उद्घाटन सत्रमा सम्बोधन गरेका तत्कालीन अध्यक्षत्रय कमल थापा, पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनीले एकता महाधिवेशनबाट आउने जस्तोसुकै परिणाम स्वीकार्ने र पार्टीलाई एकताबद्ध भएर लैजाने घोषणा गरे । 

उद्घाटनसत्रमै अध्यक्षको उम्मेदवार रहेका राजेन्द्र लिङ्देनले पनि एकता महाधिवेशनपछि पार्टी एक ढिक्का भएर अघि बढ्ने र आउने नेतृत्वले पार्टीको एजेण्डा स्थापित गराउनुपर्नेमा जोड दिए । तर, चार दिनपछि आइतबार आएको महाधिवेशन परिणामले कमल थापालाई पराजित गरेर राजेन्द्र लिङ्देनलाई विजयी गराएपछि नेताहरू आफ्नै वाचाविपरीत हिँड्न थालेका छन् । परिणाम आएसँगै आफूलाई पराजित गर्न पूर्वराजा ज्ञानेन्द्र शाह लागिपरेको आरोप लगाएका थापाले आइतबार नै आयोजित नवनिर्वाचित पदाधिकारी र सदस्यको प्रमाणपत्र वितरण तथा शपथग्रहण कार्यक्रम बहिस्कार गरेर राप्रपामा आफ्नो गुट कायम रहेको सन्देश दिएका छन् ।

निवर्तमान अध्यक्ष पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनी भने नवनिर्वाचित पदाधिकारी र सदस्यको प्रमाणपत्र वितरण तथा शपथग्रहण कार्यक्रममा सहभागी भएर परिणाम स्वीकारेर पार्टीको एजेण्डा स्थापित गराउन सबै नेता तथा कार्यकर्ताहरूलाई आह्वान गरे । 
तर, महाधिवेशनमा नेतृत्व चयनका लागि भएको मतदानको परिणाम स्वीकारेको बताएका थापाले मंगलबार आफूपक्षधर नवनिर्वाचित पदाधिकारी र सदस्यलाई सार्वजनिक कार्यक्रम गरेर बधाई र शुभकामना दिएका थिए । 

धुम्बाराहीस्थित पार्टी कार्यालयमा बुधबार मध्यान्ह साढे १२ बजे बस्ने गरी केन्द्रीय कमिटी बैठक बोलाइएको छ । तर, थापा पक्षधर पनि बैठकमा सहभागी हुने भएका छन् । थापानिकट नेताको रूपमा चिनिएका नवनिर्वाचित केन्द्रीय सदस्य गोपाल पौडेलका अनुसार आफूहरू बैठकमा सहभागी हुने जानकारी दिए । ‘आज साढे १२ बजे बैठक बोलाइएको छ । हामी जानेछौँ,’ उनले न्युज कारखानालाई भने । तर, थापा भने जाने सम्भावना कम रहेको देखिन्छ । थापालाई बैठकमा आमन्त्रण गरिएको बताइएको छ । तर, केन्द्रीय समिति सदस्यसमेत नरहेका थापा बैठकमा जानुपर्ने नै नरहेको नेता पौडेलले बताए । 

‘उहाँ(थापा) केन्द्रीय सदस्य हुनुहुन्न । बैठकले मनोनीत पनि गरेको छैन । बैठकमा जानुपर्छ भन्ने नै रहने नि’, पौडेलले भने । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।