काठमाडौं । भारतका लागि प्रस्तावित राजदूत डा. शंकर शर्माले नेपाल–भारत सीमा समस्याप्रति पश्चिमा देशको चासो रहेको बताएका छन् ।सिंहदरवारमा सोमबार भएको संसदीय सुनुवाइमा उनले नेपाल–भारतको सीमा समस्याप्रति पश्चिमा देशको चासो रहेको बताएका हुन् ।
संसदीय सुनुवाइ समिति बैठकमा प्रस्तावित राजदूत शर्माले दिएको अभिव्यक्ति
आर्थिक, सामाजिक राजनीतिक क्षेत्रमा सुधारको आवश्यक छ । विश्वास ठूलो कुरा हो । सजिलै गर्न सकिने दुइटै देशलाई फाइदा हुनेगरी विश्वास बढाउँदै जाने हो ।
रणनीतिक रूपमा डायस्पोरा कम्युनिटीको साथमा रणनीतिक रूपमा अघि बढ्नुपर्छ । भारतमा भएका अवसरलाई नेपालको हितमा प्रयोग गर्न पहल गर्नेछु । पहिलो शिष्टाचार भेट र सम्बन्ध नै हो । भारतमा विभिन्न देशका १३६ राजदूतावास छन् । यसमा नेपालले कसरी प्रभावित पार्ने भन्ने महत्वपुर्ण कुरा हो । नेपाललाई प्रभाव पार्ने सामाजिक सांस्कृतिक आर्थिक नीतिहरू परिमार्जनका लागि पहल गर्ने काम गर्छु । भारतमा सामाजिक र सांस्कृतिक कुटनीतिलाई महत्व दिनुपर्ने आवश्यकता छ ।
नेपालको बिजुली किन्दिन्छौं, समृद्धिमा पनि सघाउँछौं भनेका छन् । यी कुरालाई अगाडि बढाउँछू । रणनीति तर्जुमा मात्र होइन कार्यान्वयन पनि प्राथमिकता छ ।
आर्थिक क्षेत्रमा अन्तरदेशीय प्रसारण लाइनको व्यापार छ । गैर भन्सारको कुरा छ । बन्दरगाहमा दिनुपर्ने सुविधा लिन सकिएको छैन । पहल गर्छु । रसायनिक मलको कुरा पनि छ । लगानीसम्बन्धी ऐन कानुनबारे जानकारी गराउनुपर्ने अवस्था छ । सफलताका कुराहरू पनि देखाउनुपर्नेछ । सजिलो हुन्छ ।
भारतमा आप्रवासी धेरै छन् । तिनलाई नेपाल ल्याएर रोजगारी दिने कार्यमा काम गर्नेछु । धार्मिक पर्यटन विकास, पर्यटन प्रवर्द्धनमा काम गर्छु । सीमा समस्या छ । ईपीजी छ । सीमा समस्यामा भारतमात्र होइन पश्चिमाको पनि चासो छ । हुलाकी सडकलाई पनि अगाडि बढाउन पहल गर्छु ।
सोही बैठकमा सांसदहरूले पनि आ–आफ्नो विचार पनि राखेका छन् ।
सुरेन्द्र पाण्डे
शंकरजी भारतभन्दा बेलायत गएको भए हुन्थ्यो । राजनीतिक सम्बन्धमा चल्ने भारतमा कसरी भूमिका निर्वाह गर्नुहुन्छ ? यत्रो अनुभव भएको मान्छे राजनीतिक सम्बन्ध सर्वपरी रहेको भारतमा कसरी काम गर्नुहुन्छ ?
देव गुरूङ
संयुक्त राष्ट्रसंघको वडापत्रअनुसार भारतसँग कसरी समान प्रकारको हैसियत र सम्बन्ध स्थापित गर्नुहुन्छ ? खुला सीमा, सीमा विवादको प्रश्न, कालापानी लिपुलेक, लिम्पियाधुरा लगायत विभिन्न ठाउँमा सीमा अतिक्रमण छ ? यस्ता समस्या कसरी समाधान गर्न सकिन्छ ? सन् १९५० को सन्धी समयसापेक्ष अपडेट गर्नुपर्ने कुराहरू छन्, यसमा कसरी पहल गर्नुहुन्छ ?
पञ्चशीलको सिद्वान्त छ, मान्यता छ, उहाँहरूको चासो सुरक्षा संयन्त्रतिर छ । सन्तुलित ढंगले कुटनीतिक भूमिका निभाउन चुनौती छ । भारत र पाकिस्ताको विवादले अघि बढ्न सकेको छैन । कसरी सहकार्य गर्ने, अगाडि बढ्ने भन्ने कुरा नै हो । चुनौती छ । चुनौतीलाई मनन गर्नुहोला ।
पुष्पा भुसाल
सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक समानता भएको देश हुन् । राजनीतिक सम्बन्धभित्रको विश्वास नभएको देश भएकाले चुनौती छ । विकास र प्रविधिमा धेरै अगाडि बढेको देशमा राजदूतबाट के अपेक्षा गर्ने त ? विश्वासको वातावरण बनाउन विगतका राजदूतले प्रभावकारी भूमिका खेल्नु सकेनन् । अब नयाँ ढंगले जानुपर्छ । सम्बन्ध निर्माण नयाँ ढंगले हुनुपर्छ । धार्मिक पर्यटन, धार्मिक सम्बन्ध पनि महत्त्वपूर्ण छ । पर्यटनमा पनि फाइदा लिनुपर्छ । यसलाई नयाँ आयाम र सम्बन्धका रूपमा लैजान चुनौती छ । तर, भारतप्रति जनताको विश्वास अभिवृद्धि गराउने, भारतप्रति नेपालीको विश्वास बढाउने काम गर्नुपर्छ ।
प्रदेश सरकारस्तरमा पनि सहकार्य, भारतसँग प्रदेशको पनि सम्बन्धअघि बढेको छ । त्यसको लागि पनि नेपालमा स्टकर तयार गर्न भूमिका हुनुपर्छ । भारतप्रतिको विश्वासलाई प्रगाढ रूपमा लैजाने चुनौती छ । आफ्नो कार्यकालमा कसरी अगाडि बढाउनुहुन्छ ?
अम्बिका थापा
लिपुलेकमा दुई देशीय होइन त्रिदेशीय रूपमा हेर्नुपर्छ । यहाँको पालामा कुनै समस्या नआओस् ।
सुमन प्याकुरेल
भारतसँग हामी डिमोरलाइज भएर प्रस्तुत भइरहेका छौं । राष्ट्रिय स्वाभिमानलाई उठाएर, आँखामा आँखामा जुधाएर यथार्थ कुरा राख्न सक्नुहोस् ।
सांसदले उठाएको प्रश्नको जवाफ दिँदै प्रस्तावित राजदूत शर्मा
प्रदेशस्तरमा सम्बन्ध कायम गर्न पहल गर्छु । पहिला पर्यटकीय क्षेत्रमा लाने, हिन्दु र बुद्विजम जोड्न सकिन्छ । ठाउँ देखाएर लगानीका लागि उत्प्रेरित गर्नेछु । यथार्थ कुरा प्रस्तुत गर्ने कुरामा विश्वास जगाउँछु । मेरो अनुभवले पनि मद्दत गर्छ । अनेस्टी, ट्रस्टले क्रेडिबिलिटी बढाउँछ । केही फरक कुरा गर्न कोसिस गर्छु । पुरानो अनुभवले पनि सफल हुन्छु भन्ने लाग्छ ।
प्रतिक्रिया