चितवन । वन तथा वातावरणमन्त्री मन्त्री रामसहायप्रसाद यादवले चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टर सौराहामा बुट्यानमा जडान गरिएको क्यामरा ‘अन’ गरेर राष्ट्रिय बाघ सर्वेक्षण २०२२ सुरु गरेका छन् । राष्ट्रिय निकुञ्ज तथा वन्यतन्तु सरंक्षण विभागले देशभर बाघ सर्वेक्षण गरेको हो ।
आजदेखि देशभर बाघ सर्वेक्षण सुरु भएको हो । वनमन्त्री यादवले चितवन-पर्सा कम्प्लेक्सबाट बाघ सर्वेक्षण सुरु गरेका हुन् । चितवन, पर्सा, बर्दिया, बाँके र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटे बाघ पाइन्छ । बाघ गणनाका लागि पाँचवटा राष्ट्रिय निकुञ्ज र बाघ पाइने निकुञ्जबाहेकका क्षेत्रलाई समेत समेटेर तीनवटा कम्प्लेक्स बनाइएको छ ।
चितवन-पर्सा कम्प्लेक्स, बाँके बर्दिया कम्प्लेक्स र शुक्लाफाँटा-लालाझाडी क्षेत्र गरी तीनवटा कम्प्लेक्स छन् । वनमन्त्री यादवले बुट्यानमा जडान गरिएको क्यामरा अन गरेपछि क्यामरामा बाघ कैद हुने विधिको डमी देखाएर सर्वेक्षण सुरु गरिएको हो । सर्वेक्षणका लागि सर्वेक्षकहरू आ-आफ्नो क्याम्पमा गइसकेका छन् । केही सर्वेक्षक भोलिसम्म आफ्नो क्याम्पमा पुगिसक्ने छन् ।
अन्तर्राष्ट्रिय प्रतिबद्धता पूरा हुने विश्वास
नेपालले सन् २०१० मा रसियाको सेन्टपिटर्सबर्गमा भएको बाघसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा सन् २०२२ सम्ममा बाघको संख्या दोब्बर बनाउने प्रतिबद्धता जनाएको थियो । नेपालको तर्फबाट तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले बाघको संख्या दोब्बर बनाउने प्रतिबद्धता जनाएका थिए ।
सन् २००९ मा नेपालमा १२१ वटा बाघ रहेको अनुमान गरिएको थियो । प्रतिबद्धताअनुसार सन् २०२२ मा बाघको संख्या २५० पुग्नुपर्ने छ । नेपालमा सन् १०१३ मा १९८ र सन् २०१८ मा २३५ वटा बाघ रहेको अनुमान गरिएको थियो ।
बाघ सर्वेक्षण उद्घाटन गर्दै वनमन्त्री यादवले नेपालले अन्तर्राष्ट्रिय प्रतिबद्धता सहजै पूरा गर्ने विश्वास व्यक्त गरे । ‘सन् २०१८ मा भन्दा १५ वटा मात्रै बाघ बढाउन सक्यौँ भने पनि हाम्रो प्रतिबद्धता पुरा हुन्छ । विगतको संख्या हेर्दा हामी त्यो प्रतिबद्धता सहजै पुरा गर्न सक्छौँ भन्ने विश्वास छ’, उनले भने ।
बाघ लोपोन्मुख जातिको जनावरमा सूचीकृत भएको जनावर हो । विश्वमा नेपाललगायत १३ वटा देशमा मात्रै पाटे बाघ पाइन्छ ।
करिब एक हजार क्यामरा प्रयोग
बाघ सर्वेक्षणका लागि करिब एक हजारवटा स्वचालित मेसिन प्रयोग गरिने छ । चितवन-पर्सा कम्प्लेक्समा मात्रै करिब आठ सयवटा क्यामरा प्रयोग हुने चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले बताए । ‘एक ठाउँमा एक जोडी क्यामरा राखिने हो । कम्तीमा १५ दिनसम्म क्यामरालाई एक ठाउँमा राखिन्छ’, उनले भने, ‘एक ठाउँमा सर्वेक्षण सकेपछि त्यही क्यामरा अन्यत्र पनि प्रयोग हुने भएकाले क्यामरा अपुग हुँदैन । मिलाएर प्रयोग गर्छाैँ ।’
सर्वेक्षण गर्दा चितवन-पर्सा कम्प्लेक्सलाई तीनवटा, बाँके बर्दियालाई चारवटा र शुक्लाफाँटा-लालझाडीलाई एउटा ब्लक विभाजन गरिएको छ । ब्लकहरूलाई पनि दुई किमी लम्बाइ र दुई किमी चौडाइ भएका ग्रीडहरूमा विभाजन गरिएको छ । तीन कम्प्लेक्समा क्रमश: ८९५, ८१४ र २६० वटा ग्रीड छन् ।
चितवन–पर्सा कम्प्लेक्सको पहिलो, दोस्रो र तेस्रो ब्लकमा क्रमश २८७, ३१०, २९८ वटा ग्रीड रहेका छन् । प्रत्येक ग्रीड भित्रमा बाघले प्रयोग गर्ने बाटो र क्षेत्रहरु हेरी एक जोडी स्वचालित क्यामराहरु जडान गरिने छ । सर्वेक्षणका क्रममा चितवन-पर्सा कम्प्लेक्समा सात, बाँके बर्दियामा र शुक्लाफाँटा-लालझाडी कम्प्लेक्समा तीन-तीनवटाका दरले हात्तीह परिचालित हुने छन् ।
बाघ सर्वेक्षण गर्न चितवन-पर्सा कम्प्लेक्समा मात्रै १०६ जना प्राविधिक खटिएका छन् । उनीहरूलाई १७ र १८ मंसिरमा प्रयोगात्मक अभ्यास सिकाइसकिएको छ । बाघ सर्वेक्षण सम्पन्न गर्न तीन करोड ७० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । सर्वेक्षणमा डब्लुडब्लुएफ नेपाल, जेडएसएल नेपाल र राष्ट्रिय प्रकृति संरक्षण कोषले आर्थिक तथा प्राविधिक सहयोग गरेका छन् ।
बाघ सर्वेक्षणमा क्यामरा ट्रयाप, सन्टो कपास, रेञ्ज फाइन्डर, जिपिएस, रेकर्ड फर्मलगायतका सामग्री प्रयोग गरी क्यामरा ट्रयापिङ र अकुपेन्सी सर्वे विधि अपनाएर बाघ सर्वेक्षण गरिँदै छ । तीन महिनाभित्र बाघ सर्वेक्षणको काम सकिने अनुमान गरिएको छ । सर्वेक्षणबाट प्राप्त नतिजा आगामी विश्व बाघ दिवस (२९ जुलाई)को दिनमा सार्वजनिक गर्ने राष्ट्रिय निकुञ्ज तथा वन्यतन्तु सरंक्षण विभागको योजना छ ।
प्रतिक्रिया