नेपाली भाषाको ‘वर्ग’ अंग्रेजीको अबिकक को समानार्थी शब्द हो। अबिकक ल्याटिन भाषाको अबिककष्अ बाट ल्याइएको हो । ल्याटिन भाषामा अबिककष्अ को अर्थ मानिसहरूको समूह भन्ने हुन्छ। त्यसैले वर्ग भन्नाले विभिन्न पेसा, उमेर, लिङ्ग, धर्म, संस्कृति, आर्थिक हैसियत आदिका आधारमा विभाजित मानिसहरूको समूह भन्ने बुझिन्छ । कुनै पनि समाजमा मानिसको आर्थिक तथा सांस्कृतिक जीवन समान पाइँदैन । एउटै समाजमा भिन्न आर्थिक अवस्था र सामाजिक सांस्कृतिक जीवनशैली भएका मानिसहरू बसोवास गर्दछन्।
उनीहरूको सामाजिक, शैक्षिक तथा राजनीतिक स्तर पनि फरक फरक हुन्छ । कार्ल माक्र्स भन्दछन्–मानिस वर्गीय प्राणी हो । समाजमा मानिसका शैक्षिक, उमेरजन्य, आर्थिक, सामाजिक स्तर आदि स्थिति असमान किसिमको हुन्छ । त्यसैले समाजमा सांस्कृतिक तथा आर्थिक आधारमा निर्माण भएको मानिसहरूको समूहलाई सामाजिक वर्ग भनिन्छ । गिडन्स सामाजिक वर्गको निर्माण आर्थिक स्तरले निर्धारण हुने विचार राख्दछन्। उनका अनुसार सामाजिक वर्ग भनेको उस्तै प्रकारको आर्थिक स्तर भएका मानिसहरूको समूह हो।
अर्का विद्वान् म्याक्स वेवरको विचारमा भौतिक स्रोत र साधनको पहुँचले वर्गको निर्धारण गर्दछ। उनी भन्दछन्, स्रोत र साधनमा सबै मानिसको समान पहुँच हुँदैन । पहुँच भएका, नभएका, बढी भएका वा कम भएका मानिसहरूको फरक फरक समूहहरू सामाजिक वर्ग हुन् । माथि प्रस्तुत गरिएका विचारहरूबाट बुझ्न सकिन्छ, समाजमा विद्यमान मानिसका फरक फरक स्तरहरू सामाजिक वर्ग हुन् । सामाजिक वर्गलाई मानिसको सामाजिक र आर्थिक स्तरले निर्धारण गर्दछन् ।
सामाजिक वर्ग, सामान्यतया सामाजिक आर्थिक वर्गको पर्यायवाची हुन्छ । किनकि सामाजिक वर्ग सामाजिक र आर्थिक गतिविधिहरूले निर्धारण वा वर्गीकृत गरेको पाइन्छ । सामाजिक समूहहरू निर्देशित भइरहेका हुन्छन् । जसको आधारमा वर्ग विभाजन हुन जान्छ । समाजमा महिला, जनजाति, युवा आदि ठूला समूहहरू रहेका हुन्छन् । यिनीहरू वर्गको श्रेणीमा रहेका हुँदैनन् किनकि यो लैङ्गिक, उमेरगत र जातीय भिन्नता हो । उत्पादनमा तिनीहरू सबैको स्थान समान रहेको हुन्छ ।
समाजमा धेरै प्रकारका समूहहरू विद्यमान छन् । यी समूहहरू सामाजिक र आर्थिक संरचनाका आधारमा निर्माण भएका हुन्छन् । आदिम जङ्गली युगमा मानिसहरूको स्तर र जीवनशैली एकै प्रकारको थियो । त्यसकारण त्यस समयमा कुनै प्रकारको सामाजिक वर्ग अस्तित्वमा थिएन । स्थायी बसोवास, कृषि तथा उद्योग व्यापारको विकाससँगै मानव समाजमा फरक–फरक स्तरका मानिसहरूका समूह देखापर्न थाले । श्रम विभाजन र उत्पादनका साधनमा निजी स्वामित्वको अवधारणाको परिणाम स्वरूप सामाजिक वर्गको उदय भयो ।
सम्पत्तिको निजी स्वामित्वले मानिसलाई धनी, गरिब, श्रमिक, मालिक, शोषक, शोषित आदि फरक फरक समूहमा विभाजन ग¥यो । एउटै सामाजिक वर्गमा पर्ने मानिसहरूको जीवनशैली प्रायः उस्तै किसिमको हुन्छ । उनीहरूको पोसाक, खाना, व्यवहार, सौन्दर्य, शिष्टाचार लगभग उस्तै प्रकारको पाइन्छ । आर्थिक हैसियतका अतिरिक्त सामाजिक संरचना र व्यवहारले पनि समाजमा वर्गको स्थापना गर्दछ । कुनै निश्चित जातीय समूहमाथि हुने विभेद, शोषण र दमनको परिणाम स्वरूप समाजमा शोषक र शोषित वर्गको जन्म हुन पुग्छ ।
सामान्यतया वर्तमान विश्वमा धनी वर्ग, मध्यम वर्ग र गरिब वर्ग गरी तीन वर्गका सामाजिक समूहहरू पाउन सकिन्छ । सामाजिक वर्गका सन्दर्भमा कार्ल माक्र्स र म्याक्स वेवरको विचार मननीय पाउन सकिन्छ । कार्ल माक्र्सको विचारमा उत्पादनका साधनको स्वामित्वले मानव समाजलाई मालिक र श्रमिक वर्गमा विभाजन गर्दछ । उत्पादनका साधनमा मालिकको स्वामित्व रहन्छ । उनीहरू श्रमिक वर्गलाई उत्पादनका कार्यमा खटाउँछन् ।
तर,श्रमिकले सम्मानजनक ज्याला प्राप्त गर्दैनन् । परिणाम स्वरूप मालिक क्रमशः धनी हुँदै जाने र श्रमिक गरिब झन् गरिब बन्दै जाने अवस्था आउँछ । त्यसैले उनीहरूको जीवनशैली र सामाजिक स्तर व्यापक फरक हुन्छ । माक्र्सका अनुसार मालिक पूँजीपति वर्ग हुन् भने श्रमिक सर्वहारा हुन् । त्यसैले म्याक्स वेवरले अन्य अवधारणाको आधारमा समाजको वर्गलाई व्याख्या गरेका छन् ।
उनका अनुसार आर्थिक अवस्था, आम्दानीको स्तर, शिक्षा तथा अन्य स्रोत र साधनमा पहुँचको आधारमा वर्ग विभाजन हुन्छन् । उनीभन्दा सामाजिक दूरी र बहिष्करणका कारण सामाजिक वर्ग निर्धारण हुन्छन् । उनी समाजमा सम्भ्रान्त वर्ग, मध्यम वर्ग र निम्न वर्ग गरी तीन वटा समूह अस्तित्वमा रहेको विचार राख्छन् । माथि प्रस्तुत गरिएका विचारहरूका आधारमा विश्व समाजमा मुख्य तीन वर्गहरू अस्तित्वमा रहेको पाइन्छ । तिनीहरूको बारेमा तल वर्णन गरिएको छ।
समाजमा विभिन्न आधारहरूमा वर्गहरूको निर्माण हुन्छ । सामाजिक वर्ग विभाजनका आधारहरू तल प्रस्तुत गरिएका छन् ।
१) शक्ति: शक्ति भन्नाले राजनीतिक शक्ति बुझ्नुपर्दछ । यस आधारमा समाजमा शासक र शासित वर्ग निर्माण हुन्छन् ।
२) इज्जत र सम्मान: समाजमा उच्च कुलका वा सम्भ्रान्त वर्गका मानिसहरूको बेलावाला हुन्छ । उनीहरू सम्मानित दर्जामा हुन्छन् भने अर्को थरि समूह अपहेलित जीवन जिउने गर्दछ ।
३) सम्पत्ति: यसका आधारमा मानिसहरू धनी र गरिब वर्गमा विभाजित हुन्छन् । धनी मानिसहरू सम्पन्न र विलासी जीवन बिताउँछन् भने गरिबहरूको जीवनस्तर निम्न किसिमको हुन्छ ।
४) पेसा: पेसाका आधारमा मानिसहरू उच्च र निम्न दर्जामा विभाजित हुन्छन् । शारीरिक परिश्रम गर्नुपर्ने र गर्नु नपर्ने, राम्रो आम्दानी हुने र नहुने आदि कुराले वर्ग निर्धारण गर्दछ ।
५) शिक्षा: समाजमा शिक्षामा पहुँच भएका र शिक्षा प्राप्त गरेका मानिस शिक्षित वर्गमा पर्दछन् भने शिक्षाको अवसरबाट वञ्चित मानिस अशिक्षित वर्गमा पर्दछन् ।
६) जाति: जातीयताले पनि वर्गको निर्धारण गर्दछ । यस आधारमा उच्च जाति र निम्न जातीय वर्गमा सामाजिक विभाजन भएको पाइन्छ ।
समग्रमा वर्तमान समय विज्ञान र प्रविधिको युग भएकोले डिजिटल रुपमा साक्षरता प्राप्त गरेको र नगरेको तथा त्यसमा पहुँच राख्न सक्षम रहने र नरहने आधारमा पनि समाजमा वर्गको निर्माण भएको छ । वर्तमान समयमा सामाजिक सञ्जालमा पहुँच राख्न सक्ने/नसक्नेका बीचमा उत्तर आधुनिकताले गहिरो अन्तर ल्याएकोले पनि वर्ग विभाजनको पछिल्लो अवधारणमा प्रविधिका आधारमा भएको विभाजनलाई पनि समावेश गरिनु आवश्यक छ । यो अभ्यास वर्ग विभाजनको आधुनिक समय सापेक्ष आधारका रुपमा स्थापित हुँदैछ ।
सामाजिक रूपान्तरण भन्नाले मानिसका जीवनका सामाजिक, सांस्कृतिक, आर्थिक तथा राजनीतिक पक्षको पुर्नसंरचना गर्ने भन्ने बुझिन्छ। नेपालमा पहिलो संविधान सभाको निर्वाचन पछि यो सवालमा अत्यधिक बहस भएको थियो । जब समाजमा वर्ग निर्माणका आधारहरु सक्रिय रुपमा रहिरहन्छन् । तत्कालिन समयसम्म हाम्रो सामाजिक रुपान्तरण्को गतिले उचाई प्राप्त गर्न सक्दैन । हाम्रो समाजिक अवस्था सधैँ एकनासको रहँदैन। समय सापेक्ष समाजमा विद्यमान सामाजिक विश्वास, सामाजिक सम्बन्ध, सोचाई आदि कुराहरूमा परिवर्तन आइरहन्छ।
भूमण्डलीकरण, वातावरणीय परिवर्तन, आर्थिक अभाव आदि कारणहरूले विश्व समाजमा सामाजिक रूपान्तरण हुँदै गइरहेको छ । विश्वमा भइरहेका राजनीतिक, आर्थिक तथा प्राविधिक विकासले केही नकारात्मक अवस्था सिर्जना गरेको छ । आम गरिबी, बेरोजगारी, शोषण, विभेद, असमानता, मानव अधिकार हनन आदि कुरमा वृद्धि हुँदै गएको छ । त्यसकारण अबको सामाजिक रूपान्तरण शान्ति, मानव अधिकार, समानता, भ्रातृत्व, सहिष्णुता र विभेद रहित समाज निर्माणका लागि हुनुपर्ने देखिन्छ । अबको सामाजिक रूपान्तरण सामाजिक समावेशिता , समानता, सहअस्तित्व विकासका लागि हुनु पर्दछ ।
प्रतिक्रिया