असोज १०,
गाडी चलाउन जानेको तथा वर्षौदेखि सवारी चलाइरहेका मान्छेहरूले पनि सवारी चलाउँदा केही न कही गल्ती गरिरहेको भेटिन्छ । गाडी चलाउने गलत तरिकाले गाडीको आयुकासाथै सञ्चालन खर्चमा पनि बृद्धि ल्याइरहेको हुन्छ । चालकले जानेर वा नजानेर यस्ता गल्तीहरू गरिरहेका हुन्छन् । यहाँ हामी त्यस्ता गाडी चलाउँदा गरिने गल्तीहरूकाबारेमा चर्चा गरिरहेका छौँ, जुन तपाईंहरूले तुरुन्त सुधार गर्न जरुरी हुन्छ ।
१. गियर लिभरमा हात राख्ने कार्य
प्रायःजसो चालकहरूले गाडी चलाउँदा एउटा हात स्टेरिङ्ग र एउटा हात गियरमा राख्दै चलाएको देखिन्छ । झट्ट हेर्दा त यस्तो बानी खासै केही खराबजस्तो लाग्दैन । तर, गियर लिभरमा निरन्तर हात राखेर चलाउँदा यसले गियर बक्सलाई नोक्सानी पुर्याइरहेको हुन्छ ।गियर लिभर सिफ्टिङ्ग रेल्सको माथि रहेको हुन्छ । सिफ्टिङ्ग रेल्ससँगै रहेने सिफ्टिङ्ग फर्क गियर ट्रान्समिसनका लागि सधैँ तयार हुन्छ । यसरी गियर लिभरमा हात राखिरहँदा सिफ्टिङ्ग रेल्स सधैँ थिचिइरहेको हुन्छ । त्यही कारण सिफ्टिङ्ग फर्क सिक्रोनाइजमाथि दबाव दिइरहेको हुन्छ । फलस्वरुप त्यहाँ फ्रिक्सन उत्पन्न हुन्छ र गियरका दाँतीहरू चाँडै घस्रने हुन्छ ।
यी बिग्रिएका दाँतीहरूका कारण गियर फुस्कन थाल्छ । त्यसकारण गियर लिभरमा हात राखेर चलाइरहनु हुँदैन । गियर परिवर्तन गर्दामात्र सो लिभरलाई चलाउने हो । दुवै हात स्टेरिङ्गमा राखेर चलाउने बानी सबभन्दा राम्रो हो ।
२. गाडी रोक्ने बित्तिकै इन्जिन बन्द गर्ने
प्रायः हामी हतारमा हुन्छौँ र आफ्नो गन्तब्यमा पुग्नेबित्तिकै गाडीको इन्जिन अफ गरिहाल्ने गरेका छौँ । आजकल गाडीहरूमा पावर–बुस्ट गर्नका लागि टर्बो चार्जर प्रयोग गरिएको हुन्छ । टर्बो चार्जर गाडीको इन्जिनभन्दा धेरै बढी आरपीएममा चलिरहेको हुन्छ । जसका कारण यसको तापक्रम ज्यादै धेरै हुन्छ । यस्तो अवस्थामा गाडी रोक्नेबित्तिकै इन्जिन अफ गरेमा टर्बो खराब हुनसक्छ । साथै, टर्बोले जति काम गर्नुपर्ने हो, त्यो पनि कम हुनसक्छ । त्यसकारण गाडी रोकेको १५ देखि ३० सेकेन्डसम्म स्टार्टमै राख्नु राम्रो हुन्छ । तर, यो कार्य सधैँ गर्न जरुरी छैन । लोमो हाई–वेमा यात्रा गरेर आउँदा वा धेरै स्पीडमा गाडी चलाएर आउँदामात्र यस्तो गर्न जरुरी हुन्छ ।
३. गियर परिवर्तन नगर्ने बानी
धेरैजसो चालकहरू आफ्नो गाडीको अगाडि स्पीड–ब्रेकर आउँदा वा खाल्डोहरू आउँदा स्पीड कम गर्छन् । तर, ब्रेकर पार भएपछि पनि सोही गियरमा एक्सलरेट गर्ने कोशिस गर्छन् । यस्तो कार्य गर्नु गलत हो । यस्तो गर्दा गाडीको इन्जिनलाई पहिलाकै स्पीडमा पुग्न धेरै दबाव पर्छ । फलतः सिलिण्डर हेड, गियर–बक्स वा क्लच–ड्यामेज हुनसक्छ । त्यसकारण जहिले पनि कम स्पीडमा एक्सलरेट गर्नलाग्दा गियर सधैँ डाउन गर्नुपर्छ । वास्तवमा प्रत्येक गियरको मिनिमम् तथा म्याक्सिमम–स्पीड लिमिट हुने गर्छ । यदि कम गियरमा धेरै स्पीड तथा ठूलो गियरमा कम स्पीडमा गाडी चलाइयो भने अन्जानमै गाडीको इन्जिनलाई नोक्सानी पुर्याइरहेको हुन्छ । अझ कति मानिस त पुनः स्पीड समात्न हाफ–क्लचको प्रयोग गर्छन् । यो कार्य झन् अगाडिकोभन्दा पनि गलत हो ।
४. क्लच वा ब्रेक पेडलमा खुट्टा राख्ने बानी
कतिजनाको क्लच वा ब्रेक–पेडललाई फूट–रेस्ट मानेर लगातार खुट्टा रेस्ट गराइरहे बानी हुन्छ । यसो गर्नु गलत कार्य हो । क्लच वा ब्रेक–पेडलमाथि लगातार खुट्टा राखेमा तपाईंको गाडीमा रहेको क्लच वा ब्रेक प्याड चाँडै खिईने हुन्छ । जसले गर्दा क्लच वा ब्रेक–पेडलको लाइफ घट्न गई छिटो–छिटो बदल्नुपर्ने हुनसक्छ । कतिपय गाडीमा क्लचसँगै फूट–रेष्ट रहेको हुन्छ अथवा फूट–रेष्ट नभए तापनि तल फ्लोर–म्याटमा खुट्टा राख्नुपर्छ । त्यस्तै, कहिलेकाहिँ ट्राफिकमा अथवा कोहीसँग रोकेर कुरा गरिरहँदा गियरमै गाडी राखेर क्लच थिचेर बसेमा पनि क्लच र इन्जिनलाई लोड परिरहेको हुन्छ । त्यसैले केही समय रोक्नै परेमा गियरलाई न्यूटलमा राखेर क्लच–प्याड रिलिज गर्नु उत्तम हुन्छ ।
५. आरालोमा लगातार ब्रेक–थिचिरहनु
प्रायः चालकहरूले लामो ओरालोमा गाडी चलाउँदा ब्रेकलाई लगातार थिचिरहेका हुन्छन् । अझ कोहीको त इन्धन जोगाउने चक्करमा स्टार्ट नै बन्द गर्ने अथवा न्यूटलमा गाडी चलाउने बानी रहेको हुन्छ । यसो गर्नु गलत कार्य हो । लगातार ब्रेक थिचिरहँदा ब्रेक–प्याड छिट्टै खिइन्छ । त्यस्तै, इन्जिन अफ गरेर चलाएमा पावर–स्टेरिङ्ग सारो हुने तथा ब्रेक भनेको ठाउँमा नलाग्ने हुन्छ । अझ अन्य सेफ्टी–फिचरहरू एबीएस, ईबीडी तथा एयर–व्यागले समेत काम गर्दैन । यस्तो अवस्थामा गाडीलाई गुडाउनुपर्दा लोयर–गियर १ वा २ नम्बरमा राखेर चलाउनुपर्छ, जसले गर्दा स्पीड–कन्ट्रोलमा रहन्छ र सबै फिचरहरूले राम्रोसँग काम गर्छ ।
६. उकालोमा हाफ–क्लचमा गाडी रोक्नु वा उठाउनु
यदि गाडी उकालोमा चढिरहेको अवस्थामा रोकी राख्नुपरेमा केही मानिसको हाफ–क्लचमा राखेर एक्सिलेटर पनि थिचिरहने बानी हुन्छ, त्यसो गर्नु गलत कार्य हो । यसो गर्दा इन्धन बढी खर्च हुन्छ भने क्लच–प्लेट पनि खिइन्छ । उकालोमा गाडी उठाउँदा पनि हाफ–क्लच लिएर उठाउने कार्य गलत हो । उकालोमा गाडी रोक्नुपर्दा सबभन्दा पहिले फूट–ब्रेक थिच्नुपर्छ, अनि ह्यान्ड–ब्रेक लगाउनुुपर्छ । ह्याण्ड–ब्रेक लगाएपछि गाडीको गियर न्यूटलमा राख्नुपर्छ, यसो गर्दा गाडी रोकिन्छ र पछाडि पनि सर्दैन ।
त्यसपछि गाडी गुडाउनुपर्दा १ नम्बर गियर लगाउने अनि एक्सिलेटर थिच्दै जाने र क्लच विस्तार छोड्दै गर्नुपर्छ । एउटा पोइन्टमा पुगेपछि गाडी हल्लिन थाल्छ, सोही समयमा ह्यान्ड–ब्रेक रिलिज गर्नुपर्छ र गाडी अगाडि बढ्छ ।सुरुमा क्लच, एक्सिलेटर र ह्यान्ड–ब्रेक तिनैथरि मिलाएर कार्य गर्न गाह्रो हुन्छ, तर यसो गर्नु प्राक्टिस गर्दै गएपछि बानी लाग्नेछ । कहिले पनि दोस्रो वा तेस्रो गियरमा गाडी उठाउनु हुँदैन ।
७. अटोमेटिक गाडीलाई पार्किङ्ग मोडमा छाड्नु
यदि तपाईं अटोमेटिक गाडी चलाउनुहुन्छ भने गाडी रोकेर छाड्दा ‘पी‘ मोडमा मात्र राखेर छाड्नु गलत कार्य हो । ‘पी‘ मोडमा गाडी पार्किङ्ग गरिरहँदा पूरै प्रेशर गाडीको ट्रान्समिसनमा पर्छ । ट्रान्समिसनमा पनि हाम्रो कान्छी औँला बराबरको एउटा पिन हुन्छ, जसलाई ‘पार्किङ्ग पाउल’ भनिन्छ । ‘पी’ मोडमा मात्र गाडी पार्क गरेर छोड्दा गाडीको पूरै प्रेशर सोही पार्किङ्ग पाउलमा पर्छ, जसले गर्दा सो पिन ड्यामेज हुन पनि सक्छ । त्यसकारण अटोमेटिक गाडीलाई लामो समय पार्क गर्नु पर्दा ह्यान्ड–ब्रेक पनि अनिवार्य लगाउनुपर्छ । त्यस्तै, गाडी पूरा नरोकिकन रिभर्स गियर लगाउने वा रिभर्स गर्दा गाडी नरोकीकन फ्रन्ट–गियर लगाउने कार्यसमेत गर्नु हुँदैन । -–मेरो अटो
प्रतिक्रिया