विश्वकै विशाल मध्येको यो सामाजिक सञ्जालले सेप्टेम्बरसम्मको तीन महिनामा ९ अर्ब अमेरिकी डलर नाफा कमाएको बताइएको छ। अघिल्लो वर्षको यही अवधिमा उसको नाफा ७.८ अर्ब डलर थियो।तर एपलको प्रणालीमा आएको नयाँ अपडेटका कारण फेसबुकलाई लक्षित समूहसम्म विभिन्न ब्रान्डका विज्ञापन पठाउन कठिन भएको थियो।
एक जना पूर्व कर्मचारीले फेसबुकमाथि अनैतिक व्यवहारहरूको आरोप लगाइरहँदा उसको नाफा भने अझै बढेको देखिएको हो।फ्रान्सिस् हाउगनले फेसबुकले प्रयोगकर्ताहरूको सुरक्षा भन्दा आफ्नो नाफामा ध्यान दिएको आरोप लगाउँदै एउटा आन्तरिक कागजातको विवरण सार्वजनिक गरेकी थिइन्।
विभिन्न समाचार विवरणहरूले फेसबुकले अमेरिका बाहिर घृणा फैलाउने भाषण र यौन बेचबिखनलाई बढवा दिने सामाग्रीलाई मध्यस्थता गर्न सङ्घर्ष गरिरहेको सार्वजनिक गरेका थिए।फेसबुकका प्रमुख कार्यकारी मार्क जकरबर्गले सोमबार लगानीकर्ताहरूलाई भने- "चुहावट भएका कागजात प्रयोग गरेर सङ्गठित रूपमा हाम्रो कम्पनीलाई बदनाम गर्ने प्रयास भइरहेको हामीले देखिरहेका छौँ।"
फेसबुकले सेप्टेम्बर ३० सम्मको १२ महिनामा आफ्ना प्रयोगकर्ताहरू ६ प्रतिशतले बढेर २ अर्ब ९१ करोड पुगेको जनाएको छ।
एपलको गोपनीयता नीति
एपलको गोपनीयता नीतिले उसको आम्दानीमा पारेको असरका बाबजुद विश्लेषकहरूले फेसबुकको आम्दानी यो स्तरमा बढ्ने अनुमान गरेका थिएनन्।फेसबुकले एपलको गोपनीयता नीतिले उसको डिजिटल व्यापारमा असर गरे पनि समय क्रममा त्यसबाट परेको असर व्यवस्थापन गरिएको जनाएको छ।
फेसबुकले यो वर्ष १० अर्ब डलर भर्चुअल रियालिटी सम्बन्धी परियोजना मेटाभर्सका लागि खर्च गर्ने जनाएको छ।विश्वकै सबैभन्दा ठुलो सामाजिक सञ्जालले विश्वभरका विधायकहरूको निगरानीको सामना गरिरहेको छ। उसमाथि अस्वस्थ प्रतिस्पर्धामा उत्रिएको आरोपमा मुद्दा समेत परेको छ।
आन्तरिक सूचनादाताहरूबाट बाहिरिएका कागजातहरू वाल स्ट्रिट जर्नलमा छापिएपछि फेसबुकमाथि यस विषयमा थप दबाब परेको छ।
ती सूचक मार्फत किशोर किशोरीहरूको मानसिक स्वास्थ्यमा इन्टाग्रामको प्रभाव, फेसबुकमा उपलब्ध हुने मञ्चहरूले विभाजनहरू बढाउन सहयोग गरे वा नगरेको र अमेरिकी संसद् भवन क्यापिटलमा भएको दङ्गाको घटनामा फेसबुकले देखाएको व्यवहार लगायतका आन्तरिक अनुसन्धानहरू बाहिरिएका थिए।
युकेका सांसदहरूसँग सोमबार सुनुवाइको क्रममा हाउगनले फेसबुकले "निःसन्देह रूपमा घृणालाई बढाएको" आरोप लगाएकी थिइन्। उनले फेसबुकको सुरक्षा टोलीलाई स्रोत साधनको अभाव रहेको र "फेसबुकले सुरक्षाको लागी आम्दानीको एक अंश पनि योगदान दिन नचाहने" भनेकी थिइन्।
युकेका सांसदहरूले अनलाइन सुरक्षा सम्बन्धी नयाँ बन्ने कानुनमा ठुला सामाजिक सञ्जालहरूबारे कस्ता नयाँ नियमहरू बनाउने भनेर छलफल गरिरहेका छन्।तर जकरबर्गले असल भावनाले गरिएका आलोचनाहरू आफूहरूलाई राम्रो गर्न सहयोगी हुने भए पनि कम्पनीबारे गलत चित्रण गर्न चुहिएका कागजातहरू प्रयोग गरिएको गुनासो गरेका थिए।
उनले अनुचित लागेका कतिपय जटिल विषयहरूमा आफ्नो कामबारे आन्तरिक अनुसन्धान र छलफल गर्ने खुला संस्कृति आफूहरूसँग रहेको बताएका थिए।आरोपहरूका बाबजुद सोमबार कारोबार सुरु भएको केही घण्टाभित्रै फेसबुकको शेयर १.३ प्रतिशतले बढेको थियो। कम्पनीको स्टक यो वर्ष मात्रै २० प्रतिशतले बढेको छ।बीबीसी नेपाली
प्रतिक्रिया