बुटवल । नेकपा एमालेको आगामी मंसिरमा हुने १० औं महाधिवेशनका लागि भएको पालिका अधिवेशन अन्तरगत लुम्बिनी प्रदेशका ९८ पालिकाहरुमा नेतृत्व चयन भएको छ । लुम्बिनीका १०९ पालिका मध्ये ११ पालिकामा नेतृत्व चयन हुन बाँकी रहेको एमालेले जनाएको छ ।
सहमति नजुटेपछि रुपन्देहीको तिलोत्तमा नगरपालिकासहित देवदर नगरपालिका, सिद्धार्थनगरपालिका र सियारी गाउँपालिकामा अधिवेशन सम्पन्न हुन सकेको छैन । यसैगरी बुटवल उपमहानगरपालिकामा समेत अध्यक्ष र उपाध्यक्षमा सहमति भए पनि सचिव र दुईवटा उपसचिवमा कुरा नमिल्दा सम्पन्न भएको छैन ।
बर्दियाको राजापुर गाउँपालिका र गेरुवा गाउँपालिकामा बाढी पहिरो प्रभावित क्षेत्र भएका कारण कार्तिक १५ गतेका लागि अधिवेशनको मिति तय गरिएको छ । यसैगरी रोल्पाको थवाङमा आज मात्रै अधिवेशनको कार्यक्रम रहेको छ भने लिवाङमा पर्सि अधिवेशन गर्ने गरी कार्यक्रम तय गरिएको एमाले लुम्बिनी प्रदेशले जनाएको छ । गुल्मीका दुई वटा पालिकाहरु मदाने र धुरकोट गाउँपालिकामा आंकक्षि धेरै भएपछि सहमति जुट्न नसक्दा हालसम्म नेतृत्व चयन नभएको एमालेले जनाएको छ । यसैगरी बाँकेको कोहलपुर नगरापालिकामा समेत नेतृत्व चयनका लागि सहमतिको प्रयास जारी रहेको छ ।
हालसम्म नेतृत्व चयन भएका नवलपरासीको सुनवल र बर्दघाट बाहेकका सबै पालिकाहरुमा सर्वसहमतिमै नेतृत्व चयन भएको एमालेले जनाएको छ । आंक्षि धेरै भएपछि ती दुई पालिकाहरुमा मतदानको प्रक्रियाबाट नेतृत्व चयन भएको थियो । महत्व पूर्ण मानिएको लुम्बिनीका ४ वटै उपमहानगरपालिकामा सर्वसहमतिबाट अध्यक्षहरु चयन भएका छन् ।
बुटवल उपमहानगरपालिकामा किशन ज्ञवाली अध्यक्ष भएका छन् भने तुलसीपुर उपमहानगरपालिकामा माधव वली, घोराही उपमहानगरपालिकामा भुवन चौधरी र नेपालगञ्ज उपमहानगरपालिकामा दत्तप्रसाद आचार्य अध्यक्ष भएका छन् । बुटवल उपमहानगर बाहेकका सबै उपमहानगरमा अन्य पादाधिकारीहरुको समेत टुङ्गो लागेको छ । बुटवल उपमहानगरमा सचिव र २ वटा उपसचिव पदमा सहमति जुट्न नसकेपछि छलफल जारी रहेको छ ।
प्रतिक्रिया