प्राविधिक शिक्षाका लागि देशभर सयौंका संख्यामा शैक्षिक संस्थाहरु स्थापना भएका छन् । फरक– फरक विशेषता तथा विशिष्टिकरणसँगै ती शैक्षिक संस्थाहरु बीचको प्रतिस्पर्धा र आगामी बाटोहरु थप चुनौतीपूर्ण पनि बन्दै गएका छन् । मुलुकको विकास र सवल यात्राका लागि प्राविधिक क्षेत्रमा धेरै जनशक्तिको खाँचो छ । विगत १०/१५ वर्षको अवधिमा नेपालमा धेरै प्राविधिक विद्यालयहरुको स्थापना भए । पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेजले यसै अवधिमा सेवा शुभारम्भ गरेको हो । १५ वर्ष पहिले वि.स. २०६२ सालमा स्थापना भएको यस शैक्षिक संस्थाले नेपालको धरानमा मात्रै अध्यापन हुँदैआएको वि.वि.एस.नर्सिङ कार्यक्रम धरानपछिको पहिलो भएको दाबी छ । नेपालको काठमाण्डौं उपत्यकापछिको दोस्रो ठूलो शैक्षिक हबका रुपमा विकासहुँदै गरेको रुपन्देही जिल्लामा प्राविधिक विषयमा अध्यापन गराउने शैक्षिक संस्थाहरुको पनि उल्लेख्य उपस्थिति रहेको छ । यसै विषयमा रहेर सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेजका कार्यकारी प्रमुख दिपक रोकासँग डि.बी. सुस्लिङले गरेको कुराकानी:
सञ्जीवनी कलेज बारे छोटो जानकारी तथा परिचय दिनुपर्दा कसरी दिनुहुन्छ ?
-मुलुकमा प्राविधिक क्षेत्रमा दक्ष जनशक्तिको अत्यन्तै माग भएको अवस्थामा यो शैक्षिक संस्थाको स्थापना गरिएको थियो । यस शैक्षिक संस्थामा डिप्लोमा लेवलका प्राविधिक विषयका शैक्षिक कार्यक्रमहरु सञ्चालन हुँदै आएका छन् । सिटिइभिटि अन्तर्गत स्टाफ नर्स र पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत बिएससी नर्सिङ, बिपिएच तथा बिएन गरी ४ वटा शैक्षिक कार्यक्रमहरु सञ्चालनहुँदै आएका छन् । यस शैक्षिक संस्थामा प्रत्येक संकायमा १ सय २० जनाका दरले ४ सय ८० जना विद्यार्थीहरुले अध्ययन गरिरहेका छन् ।
यस क्षेत्रमा अन्य प्राविधिक बिद्यालयहरु पनि छन्, यसको छुट्टै विशेषता के छ ?
-हामीले नयाँ भन्दा नयाँ प्रविधिको प्रयोग गरि शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्ने प्रयास गरेका छौं । सबै संकाय तथा कक्षाहरुमा पूर्ण रुपमा मल्टिमिडिया प्रोजेक्टरको माध्यमबाट शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्ने गरेका छौं । यस विद्यालयको अर्को विशेष्ता भनेको यहाँबाट उत्पादन भएका आधा भन्दा बढी विद्यार्थीहरु स्वदेशमा नै रोजगार प्राप्त छन् । विश्व बजारसँग पनि उत्कृष्ट प्रतिष्पर्धा गर्नसक्ने शैक्षिक जनशक्ति उत्पादन गर्न हामी सक्षम भएका छौं ।
प्राविधिक शिक्षामा विद्यार्थीको आकर्षण बढी भएपनि महँगो भएको गुनासो छ नि ?
-शैक्षिक सामग्री, प्राविधिक विषयका शिक्षक लगाएत सबै चिज महँगो हुने भएकाले पनि स्वभाविक रुपमा नै यो शिक्षा अन्य शिक्षा भन्दा महँगो भएको हो । प्राविधिक शिक्षा देशमा दक्ष जनशक्ति उत्पादनका लागि आवश्यक शिक्षा भएपनि राज्यको उपस्थिति कमजोर देखिन्छ । राज्यले प्राविधिक शिक्षाका लागि लगानी गर्न नसक्दा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीले अध्ययन गर्नबाट बञ्चित भएका छन् । आवश्यक नीति निर्माण गरी सरकारले प्राविधिक शिक्षालाई निःशुल्क बनाउन पर्छ भन्ने हाम्रो माग हो ।
प्राविधिक शिक्षा हासिल गरिसकेपछि विद्यार्थीहरु विदेश पलायनको समस्या छ नि ?
-यो समस्या परम्परागत रुपमा नै चल्दै आएको छ । प्राविधिक शिक्षा हासिल गरेका विद्यार्थीहरुलाई विभिन्न अस्पताल तथा अन्य प्राविधिक क्षेत्रहरुमा आवश्यक कोटा निर्धाण गरी स्वदेशमै रोजगारीको सिर्जना गर्न सक्यौं भने यो समस्या समाधान हुन्छ । लगानी अनुसारको पारिश्रमिक नपाउने तथा सरकारी क्षेत्रमा जनशक्तिअनुसारको ठाउँ नपाउँदा यस्तो भएको हो । देशमा प्राविधिक क्षेत्रका धेरै ठाउँमा दक्ष जनशक्तिको अभाव छ । तर, सरकारले कुन क्षेत्रमा कति संख्यामा जनशक्ति आवश्यक हो, यकिन तथ्यांक निर्माण गरी सो अनुसारको व्यवस्था गर्न सक्ने हो भनै यी सबै समस्या हल हुन सक्छन् ।
राज्य पुनः संरचनाअनुसार शैक्षिक गतिविधि के कसरी सञ्चालन गर्नुभएको छ ?
-मुलुक केन्द्र, प्रदेश र स्थानीय गरी तीन तहमा राज्य संरचना बनिसकेको अवस्थामा त्यस अनुसारको तयारी र व्यवस्थापन हुन आवश्यक छ । शैक्षिक संस्थाहरुलाई नियमन गर्ने निकायहरु पनि प्रदेश स्तरमा विस्तार हुनु पर्नेमा राज्यले त्यो काम गर्न नसक्दा केही समस्याहरु देखिएका छन् । प्रदेशबाटै हुन सक्ने कामका लागि पनि संघीय राजधानी काठमाण्डौं धाउनु पर्ने बाध्यताको छिट्टै अन्त्य होस भन्ने हामी चाहान्छौं । संघीयताको व्यवहारिक अभ्यास शैक्षिक संस्थाहरुले पनि गर्न आवश्यक छ, त्यसको लागि हामी तयार छौं ।
प्रतिक्रिया