ताजा अपडेट »

माथि जाने पहिलो सिँढी : प्रेरक प्रसङ्ग

सोमबार, ०१ कार्तिक २०७८, ०६ : ३५
96 Shares
सोमबार, ०१ कार्तिक २०७८
96 Shares

उनी स्कुलका मेधावी छात्र मानिन्थे । एक पटक स्कुलमा कथा प्रतियोगिता आयोजना गरियो । कथा लेख्नको लागि एक महिनाको समय दिइयो ।

केवल ती विद्यार्थीलाई मात्र हैन बरु उनका सबै साथीहरु तथा अध्यापकलाई पनि विश्वास थियो कि पुरस्कार उनैले पाउनेछन् । तर केवल एउटा कथा लेखनको लागि एक महिनाको समय दिनु भनेको मूर्खता हो भन्ने उनलाई लाग्यो । जब दुई दिन बाँकी रह्यो तब उनले हतारहतारमा एउटा कथा लेखे र दिए ।

जुन दिन पुरस्कारको घोषणा गरियो, त्यो दिन विद्यार्थीहरु बडो उल्लासले स्कुल पुगे । परिणाम घोषित भयो । पहिलो पुरस्कार उनले हैन अरु कुनै छात्रले पायो ।

क्षुब्ध भएर उनी घर फर्केर आए र रुन थाले । उनी रोएको उनकी दिदीले देखिन् र भनिन्— पुरस्कार पाएनौँ, यसले रोएको हो ? यो कुरा मलाई पहिला नै थाहा थियो । एक महिनाको काम तिमीले दुई दिनमा पूरा गर्‍यौ भने अरु के परिणाम हुन्छ ? ठीक समयमा हतार गरेर काम पूरा गर्ने तिम्रो पुरानो बानी छ । त्यसपछि फेरि उनले स्नेहपूर्वक भनिन्, अब रोएर केही फाइदा छैन । यदि साँच्चै तिमीलाई पराजयको दुःख छ भने तिमीले यो घटनालाई माथि जाने पहिलो सिँढी सम्झनु र भविष्यमा यस्तो भूल दोहोरिन नदिनु ।

दिदीको पाठले उनको आँखा खोलिदियो र उनले यो कुरालाई आदर्श मानेर आफैलाई यो साँचोमा ढाल्ने प्रयास गरे ।

पछि गएर यिनै बालक अर्नेस्ट हेमिङ्ग्वेको नामले विश्वप्रसिद्ध साहित्यकार भए । उनले साहित्यमा नोबेल पुरस्कार पनि प्राप्त गरे ।

साभार :‘महान् व्यक्तिका प्रेरक प्रसङ्हरु’ पुस्तकबाट

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।