ताजा अपडेट »

युवा नेताहरुको दशैं : नेता कार्यकर्ता तथा परिवारसँग भेटघाट, घुमफिर र टिकाटालो

बुधबार, २७ असोज २०७८, १० : ५३
66 Shares
बुधबार, २७ असोज २०७८
66 Shares

बुटवल । यो वर्षको विजया दशमी असोज २९ गते परेको छ । पछिल्लो २ वर्षदेखि विश्वव्यापी कोरोना महामारीका बीच विजया दशमीमा हुने गतिविधिहरु समेत प्रभावित भएका छन् । ठूला बडा तथा मान्यजनबाट आशिर्वाद लिने तथा एक आपसमा रमाईलो गरेर मनाइने हिन्दुहरुको महान पर्वका रुपमा रहेको बडा दशैं महामारीका बीच पनि हर्षोल्लाहसका साथ मनाइदै छ ।

सधै राजनीतिक गतिविधिमा व्यस्त रहने राजनीतिक दलका नेताहरुले पनि यो सयम परिवार तथा आफन्तजनका लागि छुट्याउने गर्दछन् । यसै सन्दर्भरमा रहेर युवा नेताहरुले दिएका प्रतिक्रिया यहाँ प्रस्तुत गरिएको छ ।

नेकपा एमालेका सचिव योगेश भट्टराई भन्छन् : यसपालि मेरो दसैँ छैन । आमा बित्नु भएको भएर । चाडपर्वको खाली समयमा घुमघामको योजना बनाएको छु । तर भाइरल ज्वरोले ग्रसित भएकाले स्वस्थ भएपछि जाने सोचमा छु ।

मेरा लागि दसैँ फुर्सदको समय पनि हो

गगन थापा, नेता, नेपाली कांग्रेस

सप्तमीको दिनसम्म पार्टीको कार्यक्रम छ । त्यसरी नै वित्छ । अष्टमीबाट परिवारसँग पहिलेजस्तै सामान्य रूपमा मनाउने योजना छ । हामीहरूको खास एउटा गुठी छ । थापाहरूको गुठीमा सामूहिक टीका हुन्थ्यो । तर गत वर्षदेखि कोभिड-१९ संक्रमण महामारीले रोकिएको गुठी टीका यसपालि पनि रोकिने भएको छ । त्यसो हुँदा आफ्नै परिवार र आफन्तहरुसँग मात्रै मनाउँछौं ।

राजनीतिक दौडधूपले परिवारलाई समय दिन नभ्याइरहेका बेला मेरा लागि त फुसर्दको समय पनि हो । तीन/चार दिन सबै कुरा छोडेर घर बस्ने, मन्दिर जाने,  बच्चाहरू, आमाबासँग पूर्ण समय वित्छ । अस्ति फुर्सद निकालेर केटाकेटीलाई लिएर कपडा किनेर आएँ । यसरी नै बित्छ । मैले शुभचिन्तकलाई टीका लाइदिने चलन छैन । मैले आमाबुवाबाट लाउँछु । मेरो बुवाआमासँग मेरा साथीहरु धेरै वर्षदेखि टीका लगाउनु हुन्छ परिवारजस्तै मानेर । उनीहरूसँग मेरो भेट हुन्छ । यसपालि घुमघामको योजना पनि छ । एकादशीपछि दुई दिन जतिलाई भए पनि कतै निस्किनुपर्छ भन्ने सोचेको छु । विजयादशमीको भोलिपल्ट घरमा बसेर दुई दिनलाई परिवारै उपत्यका बाहिर जाने योजना छ ।

दाजु-भाउजूको हातबाट टीका लगाउँछु

ठाकुर गैरे, नेता, एमाले

दसैँ मनाउन पाल्पा आइपुगेको छु । शुभकामना आदानप्रदान, पारिवारिक भेटघाट, टिका लाउने यसरी नै बित्छ । बुवाआमा हुनुहुन्न । दाजुभाउजूको हातबाट टीका लगाउँछु । शुभचिन्तकलाई टीका लगाउने गरेको छैन ।

परिवारको बीचमा परिवारका सदस्यबाट टीका थाप्ने र लगाइदिने हुन्छ । मेरो घुमघामको योजना छैन । पार्टीका तर्फबाट आयोजना हुने शुभकामना कार्यक्रममा सहभागी हुन्छु । छिमेक साथीभाइ भेटघाट हुन्छ । दसैँतिहार जस्ता चाडपर्वले सामाजिक सद्भाव बलियो बनाउने र राष्ट्रिय एकतालाई सुदृढ गर्ने, आफन्त, परिवारजन र साथीभाइसँग पुनर्मिलन हुनेर सुखदु:ख बाँड्ने अवसर पनि हो ।

तीन वर्षदेखि दसैँ छैन

विश्वप्रकाश शर्मा, प्रवक्ता, नेपाली कांग्रेस

आध्यात्मिक हिसाबले यसपालि मेरो दसैँ छैन । पोहोर पनि थिएन । परार पनि थिएन । तर दसैँको रमझम लागेको छ । पुराना साथीहरूसँग भेटघाट, अहिले पार्टीको अधिवेशन लागेको हुँदा अधिवेशनसँग सम्बन्धित विभिन्न छलफलहरू, आफूसँगै पढेका साथीहरूसँग पुनर्मिलन हुन्छ । यसपालि विशेषत: घुमघाम, भेटघाट र अधिवेशनसम्बन्धी छलफल हुन्छ ।

गाउँमा पारिवारिक भेटघाट, पुराना आत्मिय र विद्यार्थीकालका साथीहरू भेटघाट र अधिवेशनसम्बन्धी विमर्श हुन्छ । आध्यात्मिकतर्फ म परिवारसहित मन्दिर जान्छु । दर्शनभेट हुन्छ । साथै विपन्न परिवारजनलाई पनि भेट्छु । शहीद परिवारजनलाई भेट्छु । आफ्नो जीवन देश र समाजका लागि विभिन्न समयमा र अवस्थामा जीवन गुमाउने शहीद परिवारको भेटघाटलाई अधिवेशनको प्राथमिकता दिएको छु । शहीद श्यामसुन्दर यादवको घरमा पुगिसकेको छु ।  पार्टीका ज्येष्ठ नेतालाई भेट्छु । दसैँ आध्यात्मिकका साथै आत्मीय बढाउने पर्व हो । त्यसकारण कसैलाई जुठो परेर आध्यात्मिक कर्म रोकियो भने पनि आत्मीयता बढाउने कर्म कुनै जुठोले रोकिँदैन ।

घुमघामको योजना छैन, आधा समय फोन उठाउँदैमा जान्छ

विरोध खतिवडा, स्वास्थ्य तथा जनसंख्यामन्त्री

मेरो दसैँ काठमाडौंमा हुन्छ । बुवाबाट टीका लगाउँछु । जिल्ला (चितवन)मै बसेको भए शुभचिन्तकलाई लाइदिन्थे । काठमाडौंमा ओल्लो घरका मान्छेले पल्लो घरकालाई चिन्दैनन् । तैपनि कोही शुभचिन्तक आउनुभयो भने फरक परेन । टीका लगाइदिन्छु । घुमघामको चान्स छैन ।

दुई दिन कता घुम्ने, घुम्ने भने पनि जिल्ला नै घुम्ने हो । त्यो पनि सम्भावना छैन । कास्की, चितवन पुगिसके । काठमाडौंमै नातगोता दुनियाँ भेट्ने काम बाँकी छ । त्यो पनि होला । घर आउनेहरूसँग गफ गरेर बिताउनुपर्‍यो ।  त्योभन्दा फुर्सदको समय भयो भने पत्रपत्रिका पढ्ने, दशैँ विशेषांक हेर्दाहेर्दै समय बित्छ ।

आधा समय फोन उठाउनमै जान्छ । अहिले स्वास्थ्यको होसियारी गर्ने, दूरी कायम गर्ने भनेर आशीर्वाद दिनुपर्ने अवस्था छ । हामीले जसरी मनाउँदै आएका छौं त्यसरी नै मनाउने हो । माननीय हुँदा, मन्त्री हुँदा दसैँ कस्तो भन्दा उस्तै हुन्छ ।

कार्यकर्तासँग दसैँको शुभकामना आदान-प्रदान भेटघाट गर्ने हो

​​​​​​​ राजकिशोर यादव, नेता, जसपा  

म दसैँमा अलि पूजापाठमा समय बिताउँछु । यसपालि राजनीतिक दौडधूप चलिरहेको छ । तथापि म ध्यान, जपमा केन्द्रित छु ।

यसो फुर्सद भएको बेला कुनै पुरानो किताब हातमा पर्‍यो भने पढ्छु । घटस्थापनादेखि नियमित पूजापाठ गरिरहेको छु । यो पालि दसैँ जिल्लामै हुन्छ । निर्वाचन क्षेत्रमा समय बिताउने योजना बनाएको छु । अलिकति कार्यकर्ताको बीचमा गएर दसैँको शुभकामना आदानप्रदान र भेटघाट गर्ने हो ।

यो पालि हाम्रो टीका हुँदैन । ‍टीका नभए पनि कार्यकर्ताहरू परिवार भएकाले उनीहरूको बीचमा हामी हुन्छौं । मेरो दशैं यसरी नै बित्छ । दसैँ शक्ति सञ्चय गर्ने अवसर हो । भागदौड जिन्दगीमा बसेर आफ्नो बारेमा जीवन जगत के गरेको छु आत्ममूल्यांकन, अध्ययन गर्ने मौका पनि हो ।

बाहिर भएकालाई परिवार भेट्ने अवसर पनि हो । चाडपर्वले भाइचारा र परिवारको महत्व पनि सम्झाउँछ । सकारात्मक उर्जा दिन्छ । परिवारलाई बाँधेर राख्ने नेपालीको मौलिकता, परिवारमा ज्येष्ठ नागरिकको महत्व, परिवार जोड्ने कडीको रूपमा पनि यसलाई बुझ्न सकिन्छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।