ताजा अपडेट »

दशैंमा कलाकार : घर-परिवारमै सिमित रहेर मनाउँदै

शुक्रबार, २२ असोज २०७८, १८ : ३४
32 Shares
शुक्रबार, २२ असोज २०७८
32 Shares

बुटवल । विगत २ वर्षदेखिको कोरोना महामारीले कलाकार तथा रङ्गकर्मीहरुको गतिविधि पनि खुम्चिएको छ । चाड-पर्वहरुको आगमनसँगै स्टेजमा व्यस्त हुने कलाकारहरु गतविधि शून्य प्राय भएपछि दिनचर्यामा परिवर्तन आएको हो। कलाकार तथा रंगकर्मीहरुका लागि मुरी उब्जाउने सिजनको रुपमा रहेको यसपालिको दशै, तिहार पनि त्यति सुखद् भने नहुने देखिएको छ ।

विभिन्न कार्यक्रम तथा महोत्सवहरुमा दर्शकका बीच रहने कलाकारहरु यसपाली पनि गएको वर्ष जस्तै परिवार तथा साथीभाइमै सीमित हुने भएका छन् । लामो समय स्टेजमा चढ्न नपाएका कलाकारहरुको मुख्य पेसा नै अन्यौलमा परेको बेला रुपन्देहीका कलाकारहरु कसरी दशैं मनाउने योजना छन् भन्ने विषयमा रहेर तयार गरिएको सामग्री ।

लोक गायक बैकुण्ठ महतले यो वर्षको दशैंमा स्टेजमै व्यस्त हुने भएका छन् । गत वर्ष जन्मघर गुल्मीमै दशैं मनाएका महतले यो वर्षको दशैं काठमाण्डौंमा मनाउने भएका छन् । कोरोना महामारीले पछिल्लो २ वर्षदेखि ठप्प बनेको रङ्गमञ्च बिस्तारै खुल्दै जाँदा कालाकारहरु पनि व्यस्त हुने दिन आउँदै गरेको उनले बताए ।

पहाड घर गुल्मीबाट बुटवल झरेपछि कलाकारितामा प्रवेश गरेका महतले विगतका वर्षहरुमा पनि यसैगरी नै दर्शकका माझ पर्वहरु मनाउने गरेका थिए । गएको वर्षभने सबै गतिविधि ठप्प भएको थियो । यो वर्ष पनि दशैं आउनुभन्दा एक साताअघि नै जन्मघर गुल्मी पुग्ने योजना बनाएका महतलाई आकस्मिक रुपमै स्टेजका लागि निम्तो पाएपछि काठमाण्डौंमै बस्ने योजना सुनाए ।

‘दशैंमा नव दुर्गासम्म नै मेरो स्टेज कार्यक्रमहरु छन् । आधा दर्जन बढी कार्यक्रमहरु तय भए पनि यो योजना त्यति पुरानो भने होइन ।’–ग्लोबल आवाजसँग कुरा गर्दै उनले भने ‘दशैं आउन १०/१५ दिन अघि मात्रै कार्यक्रमहरुको अफर आएका हुन्, दिन तथा रातमा समेत कार्यक्रम भएकाले यो वर्षको दशैंमा व्यस्त हुने भइयो ।’ आफूले काठमाण्डौंमा बसेर दशैं मनाए पनि उनका परिवारले भने गुल्मी पुगेर मनाउने योजनामा रहेका छन् ।

बुटवलमै रहेर लामो समय सञ्चार क्षेत्रमा काम गर्दै गायनमा लागेकी गुल्मेली चेली मञ्जु पौडेलको दशैं काठमाण्डौंमै बित्ने भएको छ । मेला महोत्सव तथा चाडवाडको समयमा प्राय घरमा नरहने उनले पछिल्लो दुई वर्ष भने घरपरिवारसँगै बस्ने गरेकी छन् ।

दशैं विषेश कार्यक्रमका लागि हेटौंडा पुगेकी उनले यसपालिको दशैंका लागि ४ वटा कार्यक्रम तय भएको बताइन् । अधिकांस पर्वहरुमा विदेशमा रहेका नेपाली दर्शकहरुसँगै मनाउने गरेका विगत सम्झिँदै उनले त्यस समयका हजारौं दर्शकहरुलाई सम्झिरहेको उल्लेख गरिन् । ‘म प्राय पर्व तथा मेला महोत्सवको समयमा विदेश तथा स्वेदशमा रहेका दर्शकहरुकै बीचमा रहने मान्छे हु, कोरोना महामारीले दर्शकसँगको दुरी बढाएको छ ।’-मञ्जुले भनिन् ‘हामी मात्रै होइन विश्वको जनजीवन प्रभावित भएको छ । समय बलवान हुँदोरैछ, हामीले चाहेर पनि यसलाई रोक्न र बदल्न सक्दैनौं ।’

आफ्नो ६५ वर्षीया आमालाई पनि काठमाण्डौंमा सँगै राखेर बसेकी मञ्जुले यो वर्षको दशैं अन्यको जस्तै सामान्य बित्ने भएपनि आफ्ना लागि त्यति सुखको समय भने नभएको गुनासो पोखिन् । आमाको स्वास्थ्य समस्याका कारण तीज समेत खुसीले मनाउन नपाएको बताउँदै उनले आमाको स्याहार-सुसारमै दशैं बित्ने उल्लेख गरिन् । दशैं तिहार लगत्तै क्यानडा जाने तयारीमा रहेकी उनले गतवर्षभन्दा यो वर्ष गतिविधि केही बढेकाले थप सहज हुने आशा व्यक्त गरिन् ।

गायन, मोडल तथा उद्घोषकका रुपमा दर्शकमाझ परिचित अनुहार हो दिपु मगर । सञ्चारकर्मीको रुपमा समेत परिचय बनाएका मगर लोक तथा दोहोरी गीत प्रतिष्ठान लुम्बिनी प्रदेशका प्रथम उपाध्यक्ष हुन् । पछिल्लो २ वर्षदेखि स्टेज र दर्शकसँगको भेट पातलिएको बताउने उनले यसपालिको दशैंमा पनि घर परिवारमै बसेर मनाउने निधो गरेका छन् । विगतमा दशैंका बेला परिवारका लागि फुर्सद नै नहुँने गरेको सुनाउँदै उनले यसपालि भने गृह जिल्ला प्यूठानमै हुने २ वटा कार्यक्रम बाहेक अन्य सेडूल नरहेको उल्लेख गरे ।

तीज भाका ‘भुरुङ झै नाचेको’ बोलको गीतबाट दर्शकमाझ थप परिचित भएका उनले गत वर्षको तुलनामा केही चहल–पहल बढेपनि मेला महोत्सव तथा ठूला कार्यक्रमहरु नहुँदा स्टेज चढ्न नपाइएको गुनासो गरे । गायनसँगै मोडलिङ, उद्घोषण तथा रेडियो, टेलिभिजनमा समेत कार्यरत रहेका उनले निर्विकल्प कलाकारीता क्षेत्रमा मात्रै लागेकाहरुलाई महामारीले ठूलो आर्थिक संकटको सामना गर्नु परिरहेको उल्लेख गरे । दशैं लगत्तै २/३ वटा गीतका म्यूजिक भिडियोमा व्यस्त हुने योजनामा रहेका उनले दशैंमा भने घरमै बुवा–आमासँग बसेर रमाउने बताए ।

विगतका दशैंहरुमा विदेश घुमेर टिकाको दिन टुप्लुक्क घर आइपुग्ने लोक गायिका रुपा घर्ती यो वर्ष भने दशैंभन्दा एकसाता अघिनै गृह जिल्ला फर्किने तर्खरमा छिन् । बुटवलमा लामो समय सञ्चार क्षेत्रमा आवद्ध हुँदै कलाकारितामा लागेकी रुपाको अधिकांश भेट विदेशमा रहेका नेपाली दर्शकहरुसँग हुने गर्दछ । विगत २ वर्षदेखि भने यो क्रम रोकिएको छ ।

काठमाण्डौंमा बस्दै आएकी उनी यो वर्षको दशैं सेडुल अन्तर्गत धनुषामा हुने एक कार्यक्रममा सहभागी भई बुटवल हुँदै जन्म घर गुल्मी लाग्ने योजना सुनाइन् । जापान, कोरिया, हङकङ लगाएतका आधा दर्जन बढी देशको भ्रमण गरिसकेकी उनले विगतका दशैं सम्झँदै पछिल्लो २ वर्ष भने शून्यमै बस्नु परेको गुनासो गरिन् ।

चर्चित लोकदोहोरी गायक बद्री पँगेनीसँग ‘पानी सलल’ बोलको दोहोरी गीत गायपछि दर्शक श्रोता बीच परिचित बनेकी रुपाले प्राय दशैं तिहार परिवारसँगै मनाउने गरेपनि त्यसअघि पछिका समयमा भने विदेशमै व्यस्त हुने गरेको विगत सुनाइन् । ‘स्टेजका कार्यक्रमहरु प्राय ठप्प नै छन्, आम्दानीको बाटो रोएिको छ ।’–गुनासो गर्दै उनले भनिन् ‘विगतका वर्षहरुमा यो अवधिमा फुर्सद पाउनै गार्हो हुन्थ्यो, यसपाली भने बस्ने खाने बाहेक केही भएन ।’ एक साता अघि नै गृह जिल्ला गुल्मी आउने बताएकी उनले दशैंको एकसातापछि काठमाण्डौं फर्किएसँगै आफ्नो नयाँ एल्बमको काममा व्यस्त रहने बताइन् । ‘जोगी भइन्छ’ बोलको लोक पप गीत बजारमा ल्याउने तयारीमा रहेको उनले बताइन् ।

पछिल्लो समय ‘लडाइँ झगडा’ बोलको गीत बजारमा ल्याएकी युवा पुस्ताकी चर्चित पप गायिका एञ्जिला रेग्मी दशैं आउनुभन्दा ३ दिन अघि बुटवल ओर्लने कार्यतालिका बनाएकी छन् । युवा पुस्तामाझ लोकप्रिय बन्दै गएकी एञ्जिला काठमाण्डौंमा गीत रेकर्डिङ तथा स्टेजका कार्यक्रमहरुमै व्यस्त छिन् । गत वर्ष टिका थुनिएको उनको परिवारमा यो वर्ष भने बुवा-आमाको हातबाट टिका थाप्न बुटवल आउने उनले बताइन् ।

पछिल्लो एक वर्षको दशैं बाहेक अन्य दशैमा उनी विभिन्न ठाउँमा हुने स्टेज कार्यक्रमहरुमै व्यस्त हुँदा परिवारलाई समय दिन समेत गार्हो हुने विगत सुनाउँदै यो वर्ष केही बढी समय परिवारलाई दिन पाउने बताइन् । दशैंपछि एक सातामै काठमाण्डौं फर्किने योजना बनाएकी एन्जिलाले कोरोना महामारीका कारण गतिविधि ठप्प भएपनि यो वर्ष भने चहलपहल बढ्दै गएको उल्लेख गरिन् । कोरोना महामारीले गत वर्ष पौष महिनासम्म ठप्प भएर बस्न परेको अनुभव सुनाउँदै उनले भनिन्, ‘गत वर्ष पौष महिनादेखि चैत्रसम्म केही भए पनि गतिविधि सञ्चालन भए । यो वर्ष पनि पहिलेदेखि नै चहलपहल बढेको छ । केही आशा पलाएको छ ।’

महामारीले गतिविधि शून्य भएपनि आफूभने खाली बस्न नपरेको उनले बताइन् । सामान्य समयमा स्टेजमै बढी व्यस्त हुने उनले यो समयमा एल्बम् तथा गीत रेकर्डिङका लागि समय दिन पाएको उल्लेख गरिन् । यूकेजी कक्षादेखि नै स्टेज चढ्न सिकेकी उनले बजारमा ल्याएका गीतहरु मध्ये ‘दिलको भित्तैमा’ युवामाझ निकै चर्चित बनेको थियो । स्वदेश तथा विदेशका कार्यक्रमहरुमा दर्शक बीच आइरहने अनुहार एन्जिला यो वर्षको दशैं अघि काठमाण्डौंमा २ वटा कार्यक्रम सकेर बुटवल ओर्लने छिन् ।

डि. बी. सुस्लिङ
लेखकको बारेमा
डि. बी. सुस्लिङ

सुस्लिङ ग्लोबल आवाज अनलाइनका समाचार संयोजक हुन् ।