भाद्र २६,
बुटवल । लुम्बिनी बौद्ध विश्व विद्यालय, केन्द्रीय क्याम्पस, लुम्बिनीको आयोजनामा लुम्बिनी बौद्ध विश्वविद्यालयद्वारा सञ्चालित विभिन्न शैक्षिक कार्यक्रमहरुको प्रभावकारिता र प्रभावका बारेमा स्थानिय सरकारका प्रमुख र प्रशाकीय अधिकृतहरुसँग अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएकोछ ।
लुम्बिनी बौद्ध विश्व विद्यालयद्वारा सञ्चालित स्नातक तह कार्यक्रम अन्तर्गतको ट्राभल एण्ड टुरिजम् बिषयको बिए-बिटिटिएम कक्षा संचालन र स्थायित्वको लागि स्थानिय तहबाट विद्यार्थीहरुको सहभागितालाई जोड दिने बिषयमा छलफल भएकोछ । ट्राभल एण्ड टुरिजम विषयको शैक्षिक कार्यक्रमको अध्ययन आवस्यकता र सम्भावना अनि विद्यार्थीहरुको आकर्षण बढाउन स्थानिय सरकारका जनप्रतिनिधिहरुबाट खेल्न सक्ने भूमिकाका बारेमा लुम्बिनी बौद्ध विश्व विद्यालय केन्द्रीय क्याम्पसका क्याम्पस प्रमुख फणिन्द्र न्यौपानेले योजना तथा अबधारणा पत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रममा रुपन्देहीका स्थानीय तहका प्रमुख र प्रशासकीय प्रमुखहरुले धारणा ब्यक्त गेका थिए । विश्व विद्यालयका उपकुलपति हृदय रत्न बज्राचार्यले लुम्बिनी बौद्ध विश्व विद्यालयको गरिमा बढाउन र लुम्बिनीमा आउने बाह्य तथा आन्तरिक पर्यटकहरुलाई लुम्बिनीको कला, साहित्य र संस्कृति अनि स्थानिय रितिरिवाजहरुको बारेमा जानकारी दिई यहाँको भौगोलिक अवस्थाबारे जानकारी गराई पर्यापर्यटनको बिकासको लागि ट्राभल एण्ड टुरिजम शैक्षिक कार्यक्रमले टेवा पुग्ने बताए । क्याम्पस प्रमुख फणिन्द्र न्यौपानेले प्रस्तुत गरेको शैक्षिक योजनामा माथि बिचार राख्दै लुम्बिनी सांस्कृतिक नगर नगरपालिकाका प्रमुख मनमोहन चौधरीले लुम्बिनीको गहनाको रुपमा स्थापित लुम्बिनी बौद्ध विश्वविद्यालयको सम्बर्धन र प्रबर्धनका लागि आफ्नो नगरपालिकाको पनि दायित्व र जिम्मेवारी भएको बताए । विद्यालयमा अध्ययन गर्न आउने नगरपालिकाका कुनैपनि विद्यार्थीहरुको लागि छात्रबृत्ती स्वरुप अनुदान उपलब्ध गराउने र विद्यालयबाट उत्पादन हुने विद्यार्थीलाई लुम्बिनीको पर्यटन बिकासमा अवसर दिइने प्रतिबद्धता व्यक्त गरे ।
यसैगरी कञ्चन गाउँपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले यातायातको सुबिधा भए यस विश्वविद्यालयमा विद्यार्थीहरुको अभाव नहुने र कञ्चनबाट अध्ययन गर्न आउने विद्यार्थीहरुको लागि छात्रवृत्ती स्वरुप आर्थिक सहयोग उपलब्ध गराउने प्रतिबद्धता ब्यक्त गरे । यस्तै सियारी गाउँपालिकाका अध्यक्ष अयोध्या प्रसाद चौधरीले आफ्नो गाउँपालिकाले दोभाषे शिक्षाको लागि बजेट ब्यबस्था गरेको र यदि यस विश्वविद्यालयमा बिबिध भाषाको दोभाषे कक्षा संचालन गरे सो कक्षा पढ्न आउने बिद्यार्थीहरुका लागि आर्थिक सहयोग गर्ने तर छुट्टै अनुदानको रुपमा सहयोग गर्न नसकिने उल्लेख गरे । सेमरी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत टेकराज भट्टराईले स्थानिय सरकारहरुले आफ्नो पालिकामा रहेका शैक्षिक संस्थाहरुलाई पनि बजेट दिनु पर्ने भएकोले विश्वविद्यालयको लागि भनेर अनुदान दिन नसकिने बताए ।
प्रतिक्रिया