बुटवल । रुपन्देहीको सैनामैनामा चक्रपथ निर्माणको कामले तिब्रता पाएको छ । सैनामैनाका १ देखी ११ सम्म सबै वडाका साथै पूर्व–पश्चिम राजमार्ग, लुम्बिनी जोड्ने सडक र सहायक मार्गहरु जोड्ने चक्रपथ निर्माणको कामले तीब्रता पाएसँगै नगरबासी खुसी भएका छन् । कोरोना महामारीले गत वर्ष ठप्प बनेको सडक विस्तार तथा निर्माणको काम यो वर्ष भने महामारीका बीच पनि रोकिएन ।
विभिन्न ३ खण्डमा निर्माण भइरहेको योजनाहरु मध्ये पहिलो योजना अन्तर्गत ४० किलो मिटर लामो चक्रपथ निर्माणको काममा ६० प्रतिशत बढी सम्पन्न भएको छ । पहिलो योजना अन्तरगत रहेको पूर्वपश्चिम राजमार्गदेखि उक्तर तर्फका सडकमा कालोपत्रे सुरु भएपछि यहाँका नागरिक खुसी देखिएका छन् । हालसम्म १५ किलोमिटर बढी कालोपत्रे गर्ने काम सकिएको डिभिजन कार्यालय शिवपुरका इञ्जिनियर नेत्र देवकोटाले जानकारी दिए ।
संघीय सरकार र प्रदेश सरकारको सशर्त अनुदान अन्तर्गत ५० करोड बढी लागतमा बन्न लागेको यो चक्रपथले नगरका सबै वडा तथा बस्तिहरुलाई जोड्नुका साथै लुम्बिनी र बुद्धकालिन ऐतिहासिक तथा धार्मिक क्षेत्रहरुलाई पनि समेट्ने नगर प्रमुख चित्रबहादुर कार्कीले बताए । २०७४ साल जेठ १ गते ठेक्का सम्झौता भई २०७८ मंसिर मसान्तसम्म निर्माण सम्पन्न गर्नु पर्ने भए पनि कोरोना महामारीका कारण आगामी चैत्र मसान्तसम्मका लागि म्याद थप भएको छ । भ्याट तथा सम्पूर्ण करसहित ५७ करोड १२ लाख ६२ हजारमा निर्माण सम्पन्न गर्नेगरी शर्मा एण्ड रामण जेभीसँग सम्झौता भए पनि योजनाको पुनः भेरियसन गरी ठेक्का सम्झौताको २५ प्रतिशत लागत थप गरिएको सडक डिभिजनका इन्जिनियर देवकोटाले बताए ।
संघीय सरकारले हेर्ने गरी निर्माण सुरु भएको यो योजना पछि मात्रै लुम्बिनी प्रदेश सरकारले हेर्ने गरी प्रक्रियामा गएको छ । योजनाको जिम्मेवारी स्थानान्तरणका कारण एक वर्ष विलम्ब भएको शिवपुर सडक डिभिजनका इन्जिनियर देवकोटा बताउँछन् । तीब्रताका साथ भइरहेको चक्रपथ निर्माण अन्तरगत हालसम्म ८० प्रतिशत बढी ग्राभेल गर्ने काम सकिएको छ भने ५० प्रतिशत सब बेस र ४० प्रतिशत कालोपत्रेको काम सकिएको उनले बताए ।
पूर्व-पश्चिम राजमार्गदेखि उत्तरतर्फ २० र दक्षिणतर्फ २० किलोमिटर रहेको चक्रपथको काम तिब्रताका साथ अघि बढेको भए पनि मौसमका कारण मंसिर मसान्त भित्र सक्न असम्भव भएको सडक डिभिजनले बताएको छ । चिसो समयमा कालोपत्रे गर्दा गुणस्तरीय नहुने भएकाले पुस, मंसिर र माघ महिनामा काम रोक्नु पर्ने हुन्छ । ३ महिना काम रोक्नु पर्ने भएकाले थप भई तोकिएको मिति चैत्र मसान्तसम्म योजना सक्नै पर्ने दबाब बढेको छ ।
नगर प्रमुख कार्कीको ड्रिम प्रोजेक्टको रुपमा रहेको यो चक्रपथ निर्माण भएसँगै धार्मिक तथा पर्यटकीय स्थलहरुको विकास तथा कृषि उपज सामग्रीको बजारीकरणमा समेत सहज हुने उनको अपेक्षा छ । योजनाप्रतिगम्भिर भएको बताउँदै उनले कोरोना कहर र केहि प्राविधिक कारणले निर्माणमा ढिला भए पनि अहिले भने सन्तोषजनक रहेको बताए । निर्धारित समयमै निर्माणको काम सक्नेगरी अघि बढेको बताउँदै उनले नगरबासीलाई ढुक्क हुन आग्रह गरे ।
निर्माणाधिन चक्रपथले हरेक विपन्न वर्गहरुको घर–घरमा विकास बोकेर जाने दाबी गर्दै कार्कीले सडकको विस्तारसँगै विद्युत, सञ्चार, खानेपानी लगायतका संरचनाहरु पनि लैजान सहज हुनेहुँदा बिकासमा महत्वपूर्ण आयाम थप्ने बताए । चक्रपथ निर्माणले नगरका ७० प्रतिशत बढी जनसंख्या प्रत्यक्ष लाभाम्बित हुने तथा बाँकी रहेका ३० प्रतिशत जनसंख्याले पनि अप्रत्येक्ष रुपमा फाइदा लिने उनको दाबी छ । मुलुकै लामो चक्रपथ दाबी गरिएको यो योजना अन्तरगत यो वर्ष ४० किलोमिटर बढी सडक कालोपत्रे हुने, ६ वटा पक्कि पुल निर्माण हुने र २ वटा पुल निर्माणको चरणमा अघि बढ्ने नगरपालिकाले जनाएको छ ।
चक्रपथ निर्माणको योजना अन्तरगत सैनामैना १० मा ट्रयाक खोल्ने, पुल निर्माण गर्ने लगाएतका काम जारी रहेको नगर प्रमुख कार्कीले बताए । पूर्वाधार विकास महाशाखाले हेर्ने गरी निर्माणको काम भइरहेको यो सडक १० किलोमिटर लामो रहेको छ । यसैगरी वडा नम्बर ११ को पिपलडाँडादेखि जर्लैयाँ जोड्ने सडकमा पनि कालोपत्रेको काम भइरहेको उनले बताए । ४ किलो मिटर यो सडकमा पनि मूल निर्माणको काम समेत भइरहेको उनले जानकारी दिए ।
प्रतिक्रिया