ताजा अपडेट »

सहुलियत मूल्यमा खाद्यान्न

शनिबार, १६ असोज २०७८, १९ : ५६
16 Shares
शनिबार, १६ असोज २०७८
16 Shares

दाङ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड तुलसीपुरले गत वर्ष झै यस पटक पनि पर्वोत्सवका अवसरमा सहुलियतमा मूल्यमा खाद्यान्न दिन शुरु गरेको छ । तर, यस पटक कम्पनीले २ सय क्विन्टल खाद्यान्न छुटमा दिने कम्पनीका निमित्त प्रमुख नहकुल चौधरीले बताए । उनका अनुसार गत आर्थिक वर्षमा ३ सय क्विन्टल सहुलियतमा खाद्यान्न असोजदेखि माघ महिना सम्ममा बिक्री गर्ने लक्ष्य रहेको थियो । तर, १ सय २ क्विन्टल मात्र बिक्री भएको थियो ।

कम्पनीले चामल बजार मूल्यभन्दा सस्तो र पर्वोत्सवका अवसरमा ५ प्रकारको चामलमा प्रतिकिलो ५ रुपैयाँ छुट दिएको उनको भनाइ छ । उनका अनुसार स्टिम जिरा मसिनो चामलको साविकको मूल्य प्रति केजी ६५ रहेकोमा हाल प्रतिकिलो ६० रुपैयाँमा दिँदै आएको छ । त्यस्तै स्टिम सावा मसिनो चामलको साविक मूल्य ६२ रहेकोमा छुट दिँदा ५७, सावा मसिनो चामल ६० रहेकोमा छुट दिँदा ५५, सोना मन्सुली चामल, ५१।३० रुपैयाँ रहेकोमा छुट दिँदा ४६।३० र अरुवा मोटा चामल प्रतिकेजी ४७ रहेकोमा छुट दिँदा ४२ रुपैयाँ प्रतिकेजी रहेको निमित्त प्रमुख चौधरीले बताए ।

कम्पनीले यही असोज १ गतेदेखि कात्तिकको २४ गते सम्म दशैँ, तिहार र छठ पर्वलाई मध्य नजर गरी सञ्चालन ल्याएको सहुलियत पसलमा हालसम्म करिब २० क्विन्टल चामल बिक्री भएको उनले बताए । ‘अहिले कम्पनीले स्टिम मसिनो जिरा चामल पनि बिक्रीको लागि ल्याएको छ,’ उनले भने, ‘त्यसले गर्दा पनि हामीलाई दिइएको लक्ष्य अनुसार पुग्न सक्छौँ । पहिलो कम्पनीमा मसिनो चामल पाइदैन, भन्ने आम नागरिकहरूको बुझाइ थियो । तर, गत वर्षदेखि कम्पनीले मसिनो चामल पनि बिक्री गर्दै आएको छ । अझ कतिपय नागरिकहरूलाई थाहा छैन् । हामीले प्रचार प्रसारलाई व्यापक बनाएका छौँ ।’ एक जना ब्यक्तिलाई ५० किलो उनीहरुको रोजाइ अनुसार दिने गरेको समेत उनले बताए ।

कम्पनीमा गत वर्ष १३ हजार बढि चामल आएकोमा ११ हजार २३० क्विन्टल चामल बिक्री भएको निमित्त प्रमुख चौधरीले बताए उनका अनुसार १७ सय ८४ क्विन्टल मौजात रहेको थियो । केही समय अगाडि क्विन्टल मसिनो जिरा चामल आएको समेत उनले बताए । कम्पनीले डोल्पामा ४ ठाउँ, रुकुममा २ ठाउँ र जाजरकोटमा १ ठाउँमा चामल पठाउने गर्दछ ।

यसैगरी तुलसीपुर, घोराही, सल्यान र प्यूठानको कारागारमा वार्षिक २५ सय बढि चामल जाने गरेको उनको भनाइ छ । विगतका वर्षभन्दा गत वर्ष कोरोना महामारीका कारणले पहाडी जिल्लाहरूमा खाद्यान्नको माग बढेको बताए । उनले भने , ‘कोरोना प्रभावले अत्याधिक माग बढेको थियो । त्यो समयमा खाद्यान्नमा २० प्रतिशत छुट दिँदा पहाडी क्षेत्रमा पुर्याउन धौ भएको थियो । जिल्लामा पनि स्थानीय तहले पनि ३५ सय क्विन्टलमाग गरेका थिए ।’

सुमन केसी
लेखकको बारेमा
सुमन केसी