ताजा अपडेट »

सरावलको हसनी माता थानलाई बुद्धकालिन कुण्डियनगर घोषणा

विहीबार, १४ असोज २०७८, २१ : १२
18 Shares
विहीबार, १४ असोज २०७८
18 Shares

परासी । पश्चिम नवलपरासीको सरावल गाउँपालिका– १ भगडास्थित हसनि माताको थान रहेको पतजिव बगैंचालाई बुद्धकालिन कुण्डियनगर घोषणा गरिएको छ । बुद्ध ग्रन्थ त्रिपटकमा उल्लेख गरिएको पुत्रन्जिवि जडिबुटी यसै क्षेत्रमा फेला पर्नुका साथै यहाँ पाईएका पुरातात्त्विक वस्तुको आधारमा भगडाको हसनि माता थानलाई प्राचीन कोलिय गणराज्यको कुण्डिनगर घोषणा गरिएको हो ।

जितिया पर्वको अवसर पारि हसनि माताको थान रहेको भगडामा एक समारोहको आयोजना गरि सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चौधरीको प्रमुख आतिथ्यमा प्राचीन कुण्डिय नगर घोषणा गरिएको हो । कोलिय गणराज्यका तत्कालीन १२ शहर मध्ये कुण्डियनगर पनि एक हो । बुद्ध ग्रन्थका अनुसार सालवास जंगल (हालको सालवास) र कोलिय गणराज्यकि एक मात्र अग्रउपासिका सुप्पवासा र लाभि भन्तेले परिचित सिवलि भिच्छु जन्मेको स्थल प्राचीन सज्जनेल नगर (हालको बासा) क्षेत्रको नजिकमा भगवान् बुद्धका अग्रचिकित्सक जिवकको नामले चिनिने जीवक वन रहेको भनी उल्लेख गरेको र उक्त क्षेत्र हालको भगडा रहेकोले यो क्षेत्रलाई कुण्डिय नगर घोषणा गरिएको गाउँपालिका अध्यक्ष चौधरीले बताए ।

यस क्षेत्रमा भगवान् बुद्धको बास रहेको बौद्धकालिन ईतिहास पाईन्छ । बुद्धका अग्रसेवक भिच्छु आनन्द बेला बेलामा आएर बास बसेको सालवास जंगल अहिले सालवास नामले चिनिन्छ । यहाँ भगवान बुद्धका अग्रसेवक आनन्द आफ्नो भिच्छुसंघ सहित बास सकेको त्रिपिटकको अगुत्तर निकायमा उल्लेख भएको पाईन्छ । भिच्छुसंघमा चिकित्सकको रुपमा रहेका जिवक समेत आएकोले सो क्षेत्रलाई जिवक बन भनेर चिनिने गरेको थियो । अहिले स्थानीय स्तरमा हसनी माई स्थानको रुपमा पतजिव भनेर चिनिने पुत्रन्जिवी जडिबुटी रहेको बगैचा समेत रहेको छ । एक सय भन्दा बढि साना ठूला पुत्रन्जिवी रुख र बोटहरु रहेका छन् ।

आयुर्वेद चिकित्सामा पुत्रलाभ नहुने दम्पतीले यसको सेवन गर्दा पुत्रलाभ प्राप्त हुन्छ । यसको अहिले आधुनिक कालमा परिक्षण समेत भई रहेको छ। यो बुद्धकालिन नै बनस्पती जडिबुटीको रुपमा रहेको छ । अहिले पनि स्थानीयले एलर्जी भएको बखत पुत्रन्जिवी (पतजिव) को फलको माला लगाउने गरेको बुद्धकालिन क्षेत्रका अध्येता एवम् पत्रकार बेचु गौडले बताए । यश पुरातात्त्विक क्षेत्रलाई गाउँपालिकाले अपनत्व ग्रहण गरि संरक्षण प्रवर्द्धनमा लागेकोमा उनले खुशी व्यक्त गरे ।

भगडामा रहेको पतजिव बगैंचालाई संरक्षण र थप विस्तार गरि प्राचीन जीवक वन र मिनि लुम्बिनीको रुपमा विकास गर्नुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष उत्तमा राय,प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेल, जिल्ला समन्वय समिति सदस्य आशादेवि चौधरी, सरावल- १ का वडाध्यक्ष भेषनारायण चौधरी,सामुदायिक रेडियो दाउन्ने एफएमका स्टेसन म्यानेजर मोहन पौडेल, समाजसेवी पिताम्बर चौधरी,हेमनारायण चौधरी,ईन्द्र बहादुर चौधरी लगायतले शुभकामना व्यक्त गरेका थिए । उक्त अवसरमा विभिन्न थारुनाच प्रदर्शन गरिएको थियोे ।

बेनी माधव बस्याल
लेखकको बारेमा
बेनी माधव बस्याल