बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको उत्तर ढोकातर्फ रहेको आकस्मिक कक्षमा भित्रदेखि बाहिरसम्मै बिरामीहरु भूइँमा सुतेर सेवा लिन बाध्य छन्। साँघुरो र सीमित बेड संख्याका कारण एउटा बेडमा २/३ जना बिरामी बस्दापनि सम्भव नभएपछि उनीहरु चिसो भूइँमा सुतेर सुविधा लिन बाध्य भएका हुन्।
आकस्मिक कक्षमा कार्यरत एक स्वाथ्यकर्मीले यो समस्यालाई सामान्य रुपमा लिँदै भने ‘बेड संख्या नपुगेपछि भूइँमै राखेर भएपनि सेवा दिनैपर्यो, अहिले मात्र होइन यो पहिलेदेखि कै समस्या हो ।’ आफूहरुलाई सेवा प्रदान गर्न समेत समस्या हुने गरेको गुनासो गर्दै उनले अस्पतालमा देखिएको यो अवस्था पूरानै भएकाले सामान्य मान्नु परेको बताउँछन् । आकस्मिक कक्षमा रहेका २० वटा बेडमा ३ जनासम्म बिरामीलाई राखेर दैनिक ५५/६० जना बिरामीलाई उपचार गराउनु पर्ने बाध्यता भएको बताउँदै उनले त्यसभन्दा बढी संख्यामा बिरामी भए भूइँमै राखेर उपचार गर्नु परेको उल्लेख गरे ।
पछिल्लो एक सातादेखि मौसमी रुघा-खोकी तथा भाइरलका बिरामीको चाप बढ्दै गएपछि अस्पतालको चिसो भूइँमा सुतेर उपचार लिनेहरुको संख्या थप बढिरहेको छ । प्रदेशकै ठूलो सरकारी अस्पतालमा आउने बिरामीहरुको चाप बढे पनि आवश्यक बेड संख्या व्यवस्था गर्न नसक्दा समस्या हुने गरेको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ड डा. राजेन्द्र खनालले स्वीकार गरे । अस्पतालमा कोभिडका बिरामीको पनि उपचार भइरहेको हुँदा केही बेडहरु छुट्टयाएर कोभिड संक्रमितहरुका लागि प्रयोग भएपछि थप समस्या भएको उनले उल्लेख गरे।
लुम्बिनी प्रदेशका रुपन्देहीसहित पाल्पा, गुल्मी, अर्घाखाँची,प्यूठान, कपिलबस्तु, नवलपरासी लगाएतका जिल्लाबाट उपचारका लागि आउने यस अस्पतालमा सेवाग्राहीका माग अनुसार भौतिक संरचनाहरुको व्यवस्थापन नहुँदा समस्या हुने गरेको छ । प्रादेशिक स्तरको अस्पतालमा नै मौसमी रुखा–खोकी तथा भाइरल ज्वरोको प्रकोप बढ्ने वित्तिकै सेवाग्राहीले चिसो भूइँमा सुत्नु पर्ने बाध्यताले कमजोर स्वास्थ्य सुविधालाई थप प्रष्ट पारेको छ ।
अस्पतालमा हाल कोभिडका बिरामीहरुका लागि छुट्टयाइएको अकस्मिक कक्षमा समेत बिरामीको चाप बढ्दा चिसो भुईंमा नै राखेर उपचार गराउनु पर्ने बाध्यता भएको त्यहाँ कार्यरत एक स्वास्थ्यकर्मीले गुनासो छ । भाइरल ज्वरोसँगै कोभिड संक्रमण देखिएका बिरामीहरुले बेड भरिएपछि चिसो भूइँमा बिरामी राखेर उपचार गर्ने गरेको स्वास्थ्यकर्मीहरु बताउँछन् ।
अस्पतालमा कोभिड बिरामीहरुका लागि आकस्मिक कक्षमा १२ वटा बेड राखिएको छ । कोरोना फोकल पर्सन डा. नन्दु पाठकका अनुसार कहिलेकाँकी बिरामीको चाप बढी भएको अवस्थामा यस्तो समस्या आउने गरेका छन् । अस्पतालमा कोभिड संक्रमितहरुका लागि २० वटा आइसियू र २६ वटा साधारण बेडको व्यवस्था रहेको छ । आकस्मिक कक्षबाट बिरामीलाई वार्डमा स्थान्तरण गर्ने समयमा कहिले काही समस्या आउने गरेको बताउँदै उनले उक्त समयमा बिरामीलाई बेड अभाव हुने गरेको बताए । पाठकका अनुसार बिहीबारसम्म अस्पतालको आइसियू कक्षमा १८ जना संक्रमित रहेका छन् भने साधारण वार्डमा १६ जना तथा आकस्मिक कक्षमा १० जना बिरामी रहेका छन् ।
अस्पतालका मेसु डा. खनालले अन्य रोगका बिरामीहरुका लागि आइसियू अभाव भएको बताए । अस्पतालमा आगामी कार्तिकदेखिनै सञ्चालनमा ल्याउने गरी ३७ वटा आइसियू बेड थप गर्ने योजना रहेको बताउँदै उनले अन्य बिरामीका लागि अहिले रहेको ६ वटा आइसियू बेडले थाम्न नसक्ने अवस्थामा रहेको बताए। जनशक्तिको समेत समस्या भएको बताउँदै उनले त्यसको पनि छिट्टै व्यवस्थापन हुने उल्लेख गरे ।
प्रतिक्रिया