दाङ । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व सभामुख कृष्णबहादुर महराले एमसीसी कुनैपनि हालतमा पास नहुने प्रष्ट पारेका छन् । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)को प्रथम लुम्बिनी प्रदेशस्तरीय सम्मेलनलाई शनिबार घोराहीमा सम्बोधन गर्दे माओवादी केन्द्रका प्रवक्तासमेत रहेका महराले मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसीसी) हिन्द–प्रशान्त सैन्य संगठनसँग जोडिएको विषय भएकाले कुनै पनि हालतमा पास हुन नसक्ने स्पष्ट पारे । नेपाली जनताको भावना र राष्ट्रहीत विपरीत कोही कसैले कदम चाल्न नहुने बताउँदै एमसीसी सम्बोधन गर्ने भए नेपाली जनताको विचार र राष्ट्रिय सहमति कायम गर्नुपर्ने बताए ।
‘एमसीसी पास गर्नका लागि अहिले कहीँ पनि राष्ट्रिय सहमति भएको छैन, यो बेलामा एमसीसी पास गर्ने अवस्था मात्रै होईन् की हिन्द–प्रशान्त सैन्य संगठनसँग जोडिएको विषय भएकाले गम्भिर समीक्षा गर्नुपर्ने हुन्छ, उनले भने, अहिलेको अवस्थामा पाँच दलीय गठबन्दनमै पनि एमसीसी पास गर्ने पक्षमा नेपाली कांग्रेस र जनता समाजवादी पार्टी मात्रै छन् । उनीहरु भित्र पनि मतभेद छ, माओवादी केन्द्र र एकिकृत समाजवादी एमसीसी पास गर्ने भए राष्ट्रिय सहमति कायम गर्दै संशोधन गरेर मात्रै पास गर्नुपर्छ भन्ने पक्षमा छ, जनमोर्चा त खारेजीकै पक्षमा स्पष्ट छ ।’ यति धेरै अन्तरविरोधका बीच पनि एमसीसी पास गर्छु भनेर कसैले भन्छ भने त्यो राष्ट्रिघाती कदम हुने बताउँदै उनले एमसीसी खारेज नै गर्नुपर्नेमा जोड दिए ।
एमसीसी आर्थिक र उर्जा विकासको परियोजना मात्र नभएर नेपाललाई टेकेर छिमेकी मुलुक चीनलाई घेराबन्दीमा पार्ने अमेरिकाको रणनैतिक षडयन्त्र रहेको दावी गरे । कुनै कारणवश यही अवस्थामा एमसीसी पास भएमा माओवादी केन्द्र आन्दोलनमा जाने समेत बताए । वर्तमान राजनीति प्रसंगलाई उठाउँदै नेता महराले अहिलेको पाँच दलीय गठबन्धनमा कुनै पनि समस्या नरहेको प्रष्ट्याएका छन् । उनले केपी शर्मा ओलीको अतिवादका विरुद्धमा पाँच दलीय गठबन्धन निर्माण भएको भन्दै नेता महराले यही गठबन्धनले नै देशलाई सही निकास दिनेमा ढुक्क हुन सबैमा आग्रह गरे । उनले आफुहरुको गठबन्धनलाई भत्काउन राष्ट्रियदेखि अन्तर्राष्ट्रिय शक्ति दिनरात लागे पनि दलहरु कुनै पनि हालतमा विभाजित नहुने विश्वास दिलाए ।
उनका अनुसार दल विभाजन सम्बन्धी अध्यादेशका विषय सर्वाेच्चमा पुगेको हुँदा मन्त्रिपरिषद बिस्तारमा केही ढिला हुन पुगेको बताए । अब यो विषय पनि चाँडै टुंगिने अवस्थामा पुगेको भन्दै दुई तीन दिनमै सरकारले पूर्णता पाउने दावी गरे । उनका अनुसार सम्भवतः यही ११ गते नभए १२ गतेसम्म सरकारले पूर्णता पाउने बताए । ‘अहिलेको अवस्थामा सरकार विस्तार गर्दा अध्यादेशकै कारण जनता समाजवादी फुट्छ कि भन्ने डर उपेन्द्र जीमा थियो, अध्यादेश फिर्ता लिँदा नयाँ गठन भएका पार्टी के हुने भन्ने भएकाले सरकार बिस्तारमा ढिलाई भएको हो, अबको केही दिनमा यी मस्या समाधान हुन्छ र सरकारले पूर्णता पाउँछ’ उनले भने ।
यसैबीच, माओवादी स्थायी समिति सदस्यसमेत रहेका नेता महराले माओवादी पार्टी सोँचे जस्तो नभएको बताए । सर्वहारा, जनताप्रति उत्तरदायी र समाजवादी उन्मुख पार्टीको मूल उद्देश्य भएपनि पार्टीभित्र विकृति, विसंगतिसँगै गुटउपगुटले विग्रिएको स्वीकार गरे । उनले अहिलेको पार्टीको अवस्थाबाट पार्टी अध्यक्ष पुष्पकमल दाहाल पनि खुशी नभएको भन्दै यहि अवस्थामा पार्टी चलाउनुभन्दा विघटन गर्नुपर्छ भन्ने गरेको समेत स्मरण गराए ।
नेता महराले अब फरक तरिकाले अघि बढ्नुपर्ने बेला आएको बताउँदै विद्यार्थी र नेता कार्यकर्तालाई कम्युनिष्टहरु मिलेर क्रान्तिकारी पार्टी निर्माण गर्न अपिल गरे । ‘माओवादी क्रान्तिकारी हो, तर अहिले विकृति र विसंगति मौलाएको छ, त्यसैले अहिलेको अवस्थाबाट सुन्तष्ट हुने अवस्था छैन’, उनले भने, ‘यसरी संगठन र पार्टी पनि चल्न सक्दैन, पार्टीलाई नयाँ ढंगले अघि बढाउन आवश्यक छ, त्यसका लागि सम्पूर्ण कम्युनिष्टहरु मिलेर क्रान्तिकारी पार्टी गठन गर्नुपर्छ ।’ आफुले कम्युनिष्टका पुराना नेता मोहनविक्रम सिंह, मोहन बैद्य, माधव नेपाल, बाबुराम भट्राई, बिप्लवसँग भेटेर नयाँ क्रान्तिकारी पार्टी गठनका लागि प्रास्ताव समेत गरेको जानकारी गराए ।
लुम्बिनी प्रदेशका १२ जिल्लाबाट सहभागी करिब ३ सय विद्यार्थी नेताहरुको सम्मेलनमा माओवादी केन्द्रका केन्द्रीय सदस्य निर्मल आचार्य, दामा शर्मा, प्रदेश सदस्य नरेन्द्र न्यौपाने, विद्यार्थी संगठनका केन्द्रीय उपाध्यक्ष तिलकराज भण्डारी, दिपेश पुन, उपमहासचिव तुकमान महरा, मिलन एमसी, कोषाध्यक्ष केशव रावललागयतले सम्बोधन गरेका थिए ।
नारायण खनालको अध्यक्षतामा भएको सम्मेलनले आगामी कार्यकालका लागि ९९ सय सदस्यीय प्रदेश स्तरीय कार्यसमिति गठन गर्ने भएको छ । जसमा १० प्रति सदस्यपछि मनोनित गरिने अनेरास्ववियू क्रान्तिकारीले जनाएको छ ।लुम्बिनी प्रदेश सहसंयोजक एवम् केन्द्रीय सदस्य स्वागत सुमन श्रेष्ठको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण केन्द्रीय सचिव अनुप पोख्रेलले गरेका थिए ।
प्रतिक्रिया