बुटवल । चुरे पहाड र त्यस क्षेत्रलाई खलबल्याउने गरी पूर्वाधार निर्माण तथा महत्वकांक्षी योजनाहरुले विकासभन्दा बढी विनास निम्त्याउने देखिएको छ । २३ वर्षअघि बुटवलको ज्योतिनगरमा आएको पहिरोले फेरी आफ्नो रुप प्रस्तुत गरेपछि चुरेको संवेदनशिलताप्रति चिन्ता थपिएको हो ।
चुरेको कोखमै रहेको बुटवल उपमहानगरपालिका वरिपरी रहेका पहाड खलबलीने गरी अघि बढाइएका महत्वकांक्षी योजनाहरु केबलकार निर्माण, बीग बुद्धको परिकल्पना तथा चक्रपथ निर्माणले थप विपद् निम्तिन सक्ने भन्दै विज्ञहरुहरुले चिन्ता व्यक्त गरेका छन् । गएको भदौ १३ गते आएको पहिरोले बुटवल–३ ज्योतिनगरका दर्जनौ घर परिवार विस्थापित हुनु परेको छ भने पूर्व-पश्चिम राजमार्ग अन्तर्गत बुटवलको जीतगढी, पाखापानी क्षेत्रमा सडक अवरुद्ध हुने गरी झरेका पहिरोले चुरेको संवेदनशिलतालाई थप उजागर गरेको छ ।
बुटवललाई पर्यटकीय गन्तव्य बनाई आर्थिक लाभ लिने गरी निर्माण गर्न लागिएका यी योजनाहरु बुटवलबासीका लागि धराप बन्ने देखिएका छन् । आफैमा कमजोर जमिन रहेको चुरे पहाड खलबल हुने गरी निर्माण गर्न लागिएका बिकास योजनाहरुले विनास निम्त्याउन सक्ने भन्दै वातावरणविद् तथा भू–गर्व विद्हरुले चेतावनी दिएका छन् । मध्यभागबाट तीनाउ नदिले छिचोलिएको बुटवल शहर चुरे छिया–छिया पर्दै जाँदा प्राकृतिक विपद्को धरापमा पर्दै गएको उनीहरुले बताउँने गरेका छन् । चुरे क्षेत्रमा उत्खनन्, ठूला–ठूला संरचनाहरुको निर्माण, बन विनास लगायत मानवीय त्रुटीका कारण भविष्यमा बुटवलले ठूलो विपद्को सामना गर्नु पर्ने उनीहरुको चेतावनी छ ।
राष्ट्रपति तराई मधेश चुरे संरक्षण समितिको कार्यालय बुटवलका प्रमुख अजय कार्कीले चुरे क्षेत्रमा देखिएका ठूला–ठूला दरार (छिया)हरुले निकट भविष्यमै बुटवलले ठूलो विपद्को सामना गर्नु पर्ने देखिएको बताउँछन् । ‘चुरे पहाड आफैमा संवेदनशील भू–भाग हो, यसलाई हलचल हुने गरी बनाइने कुनै पनि संरचनाले विपद् निम्तिन सक्छ ।’–बुटवलमा अघि बढाइएका केबलकार योजना तथा बीग बुद्धको परिकल्पनाले ल्याउन सक्ने समस्या बारे बताउँदै उनले भने, ‘हामीले चुरेको संरक्षण गर्नुपर्छ भन्दै यस क्षेत्रमा संरचना निर्माण गर्ने विषयमा सचेत गराउँदा विकास विरोधीको ट्याग लाग्ने गर्छ, तर यथार्थमा त्यो विकासभन्दा बढी बिनास नै हो ।’
बुटवलका उत्तरतर्फ रहेका दुई ठूला चुरे पहाडहरु वर्षायाममा मात्र होइन हिउँदको समयमा पनि बग्ने गरेको बताउँदै उनले भने –‘यसका फेदी तथा कुनै ठाउँमा ठूला संरचनाहरु बनाउने कुरामा बीचार पुर्याउनु पर्छ । त्यसमा पनि बुटवल सबैभन्दा बढी जोखिममा छ, चुरेको फेदमा दरारहरु भएको हुँदा जोखिममा छ ।’-उनले भने। बुटवल-नुवाकोटमा ऐतिहासिक सम्पदा मासेर बन्न लागेकोे सिद्धार्थ केबुलकारको योजनाले जोखिम थपिएको छ । ५÷६ वर्ष अघि निर्माण गरिएको वातावरणीय प्रभाव मूल्यांकन सफल नदेखिएको भन्दै कार्कीले पुनः अध्ययनको खाँचो औंल्याएँ । यसैगरी अघि बढाइएको बुटवल–बसन्तपुर केबलकार योजनाले पनि चुरे जोखिममा पर्ने उनले बताए ।
बुटवल–नुवाकोट केबुलकारको गत वर्ष ९ फागुनमा तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले शिलान्यास गरेका थिए भने बुटवल–बसन्तपुर केबुलकारको सोही वर्ष १ फागुनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलन्यास गरेका थिए । सिद्धार्थ केबुलकार प्रालिका अध्यक्ष राजेन्द्रसिंह गुरुङले चुरे क्षेत्रमै भए पनि यसले कुनै पनि असर नगर्ने दावी गर्दै आएका छन् । भौगर्विक अध्ययन गरेर नै योजना अघि बढाइएको बताउँदै उनले जोखिम नरहको बताउने गरेका छन् ।
करिब २ किलोमिटर लामो केबुलकारको लागि ७५ करोडको लागत अनुमान गरिएको छ । सिद्धार्थ केबुलकार प्रालिमा यस क्षेत्रका ५० जनाको लगानी रहेको छ । यता बुटवल–बसन्तपुर केबुलकार निर्माणस्थल पनि चुरेको जोखिमपूर्ण ठाउँ हो । गएको भदौं १३ गते ज्योतिनगर क्षेत्रमा झरेको पहिरो २०५५ अघि पनि झरेको थियो । त्यस समय पनि बुटवलको आदर्शनगर तथा ज्योतिनगरले ठूलो क्षति व्यहोर्नु परेको थियो । त्यो बेला नै जाइकाका प्रतिनिधिहरुले चुरे पहाडको निरीक्षणपछि तत्कालीन बुटवल नगरपालिकालाई बस्ती हटाउन सुझाव दिएको थियो । तर अहिले त्यही बस्तीमाथि चुरे क्षेत्रमा अरबौंको केबुलकारको परियोजना सुरु भइरहेको छ ।
यसैगरी बुटवल स्थित हिलपार्कमा बिगबुद्ध पार्क निर्माणको काम पनि अघि बढाइएको छ । बुटवल नगरको पूर्वी तथा उत्तरमा रहेको चुरे पहाडमा लुम्बिनी परिपथसंग जोडिने गरि हिलपार्क परिसरमा बुद्धको ३५ मिटरको अग्लो प्रतिमासहितको बुद्धपार्क निमार्ण गर्ने योजना अगाडि सारिएको छ । सोही योजनालाई कार्यान्वयन गर्ने क्रममा उपमनगरले प्रस्तावित क्षेत्र हिलपार्कको जग्गा किटान गर्ने गरि अहिले क्षेत्र निर्धारण गरेर सार्वजनिक सूचना जारी गरेको छ । डीपीआरलगायतका आवश्यक काम यसअघि नै पूरा भइसकेका छन् । बुटवलको बुद्धकालीन सभ्यताको पहिचान बढाउने ड्रिम प्रोजेक्टको निर्माणकार्य अघि बढाउने क्रममा वातावरणीय प्रभाव मूल्याङ्कनको काम भइरहेको बुटवल उपमहानगरका प्रक्तता रामप्रसाद रेग्मीले बताए ।
यसरी चुरे पहाडमाथि बनाइने ठूला संरचनाले हिलपार्क तल रहेका बस्तिहरु जोखिममा पर्न सक्ने विज्ञहरुको चेतावनी छ । वातावरण क्षेत्रका जानकार युवराज कँडेल चुरे क्षेत्रमा ठूला संरचना तयार गर्दा भू-क्षयको जोखिम बढ्ने बताउँछन् । हिलपार्क पनि चुरे पहाडमै पर्ने भएकाले विचार पुर्याएर मात्रै योजना अघि बढाउन उनको सुझाव छ । चुरे क्षेत्रमा संरचनाहरु बनेपछि पर्यटकीय गतिविधि बढ्दै जाँदा अव्यवस्थित रुपमा बन र चुरे क्षेत्र ओगटेर संरचना समेत बन्ने भएकाले ठूला संरचना निर्माण गर्दा जोखिमको अनुगमन गर्न जरुरी रहेको उनले बताए । यसैगरी बुटवलका चुरे क्षेत्रमा जनिम खस्कने र बग्ने दुबै समस्या देखिएकाले बेलैमा विचार पुर्याउनु पर्ने उनको सुझाब छ । चुरे क्षयले निम्तने विपद् त्यस क्षेत्रसँग जोडिएका बास्ति मात्र नभई तलसम्म रहेका सबै बस्तिहरुमा प्रभाव पार्न सक्ने चेतावनी दिए ।
लुम्बिनी प्रदेश उद्योग, वन तथा वातावरण मन्त्रालयका प्रवक्ता दिपक ज्ञवालीले पनि चुरे क्षेत्रमा संरचना बन्ने कुरालाई त्यति सकारात्मक रुपमा लिएका छैनन् । ‘सकेसम्म चुरे क्षेत्रमा कुनै पनि संरचना बनाउँनु हुँदैन, चुरे क्षेत्रमा रहेका बस्तीहरुलाई पनि राज्यले स्थानान्तरण गर्न जरुरी छ ।’-ग्लोबल आवाजसँगको कुराकानीमा उनले भने, ‘चुरे क्षेत्र यति कमजोर क्षेत्र हो जहाँ ठूला र बुढा रुखहरु भए पनि जोखिम नै हुन्छ ।’ सधै साना तथा मध्ययम खालका बोटविरुवाहरु राखेर नै चुरेको भू-स्खलन रोक्न सकिने बताउँदै उनले त्यस क्षेत्रमा संरचनाहरु बन्दा मानवीय गतिविधि बढ्न गई जोखिम निम्तिने चेतावनी दिए । चुरे क्षेत्रमा जथाभावी मोटर बाटो निर्माण, ठूला–ठूला संरचनाहरुको निर्माण, हेबी इक्यूप्मेन्ट सञ्चालन लगायतका कारण भू-क्षको समस्या बढ्दै गएको उनले बताए ।
भू-गर्भविद् तथा प्राध्यापक भोजराज काकरियाका अनुसार चुरे पहाड नेपालका सबैभन्दा कान्छो पहाड हो । करिब १० लाख वर्ष पूराना चट्टानहरुमा बनेको यस पहाडका गिट्टी, बालुवा तथा माटोहरु खुकुलो, निकै कमजोर र नरम हुने हुँदा संवेदनशिल मानिन्छ । हालै मात्रै बुटवलको ज्योतिनगर क्षेत्रमा झरेको पहिरोले पनि चुरे क्षेत्र संवेदनशिल हो भन्ने कुरालाई प्रष्ट पार्ने उनले बताउँछन् । यस क्षेत्रको दिर्घकालिन समस्या समाधानका लागि त्यहाँबाट बस्ति स्थानन्तण गरी कुनै पनि संरचना निर्माण नगर्ने, तार जाली तथा ढलान वालहरु निर्माण गर्नु पर्ने देखिन्छ । यसगरी अन्तिम विकल्पको रुपमा त्यस क्षेत्रको भौगर्विक अध्ययन गरी ती पहाडलाई हटाउन पनि सकिन्छ ।
संवेदनशिल क्षेत्र मानियका चुरे क्षेत्रमै विकासको नाममा विना अध्ययन हुने निर्माणका कामले विपद् निम्तिन सक्ने उनको चेतावनी छ । बुटवलको पाखापानी क्षेत्रमा अहिलेदेखि नै भू-स्खलनहरु देखा पर्नुले त्यहा निर्माण गर्न लागिएको संरचना उपयुक्त छैन कि भन्ने प्रश्न उब्जिएको उनले बताए ।
विकासका लागि संरचना तथा पूर्वाधारहरु निर्माण गर्नु सकारात्मक भए पनि बिकासले नै विपद् निम्तिने गरी निर्माण गर्दा त्यसको क्षति अपूरणीय हुन सक्ने उनको चेतावनी छ । चुरे क्षेत्रमा पूर्वाधारहरुको विकास गर्दा मानवीय गतिविधिहरु पनि बढ्दै जाने र भोतिक संरचनाहरु पनि थपिँदै जाने तथा त्यहाँ सञ्चालन हुने हेभी इक्यूप्मेन्टहरुले जमिनमा गर्ने भाइब्रेसन (थर्किने) ले भू-क्षयको थप जोखिम बढ्न सक्छ ।
बुटवलको ज्योतिनगरमा पहिरो आउँदा बस्ति नै स्थान्तरण गर्नु पर्ने अवस्था देखिएको छ भने हिलपार्कमा जमिन भासिएर त्यहाँ निर्माण भएका भौतिक संरचनाहरुमा समेत क्षति पुगेको छ । यसैगरी बुटवलकै पाखापानी क्षेत्रमा पहिरोसहित लेदो झर्ने गरेका छन् भने सैनामैनाको मलमला पार्कमा निर्माण गरिएको सिढी पहिरोले भासिएको छ । भु-कम्प तथा अन्य मानवीय कारणले चुरेमा क्षति हुँदै जाने हो भने थप संकलन निम्तन सक्ने बताउँदै विज्ञहरुले बेलैमा सोँच्न आग्रह गरेका छन् ।
प्रतिक्रिया