ताजा अपडेट »

जीर्ण विद्यालयः जोखिम मोलेर आउँछन् विद्यार्थी

विहीबार, ०७ असोज २०७८, २० : ५६
22 Shares
विहीबार, ०७ असोज २०७८
22 Shares

जाजरकोट । एक्काइस वर्ष पहिले सर्वसाधारणले श्रमदानबाट निर्माण गरेको भेरी नगरपालिका–५ साल्टकुरास्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालय जीर्ण हुँदा धरापको रुपमा परिणत भएको छ ।

सरोकारवाला निकायले विद्यालयको भवन निर्माणमा ध्यान नदिँदा विद्यालय पढाउने थलोको रुपमा नभई धरापको रुपमा विकास भएको स्थानीयवासी बताउँछन्। राजनीतिक खिचातानीका कारण विद्यालयको अवस्था नाजुक भएको स्थानीयवासीको पीडा छ ।

पाँच शिक्षक कार्यरत विद्यालयमा १५० भन्दा बढी विद्यार्थी अध्ययनरत छन्। वर्षायाममा विद्यालय भत्कने डरले कक्षा कोठामा पढाउने अवस्था नहुँदा खुल्ला आकाशमा पठनपाठन गरिरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेकबहादुर चन्दले बताए ।

“म अध्यक्ष वैशाखमा भएको हुँ, विद्यालय निर्माणका लागि धेरै पटक पालिकामा गए पनि मुस्किलले यो आर्थिक वर्षमा रु दुई लाख रकम विनियोजन गरेको छ”, उनले भने, “ यो रकमले विद्यालय निर्माण हुन सक्दैन्। यो हात्तीको मुखमा जिरा भएको जस्तै हो।” विद्यालयको अवस्था दैनिक दयनीय भएपछि विद्यार्थी पढ्न छाडेर छिमेकी मष्टा आधारभूत विद्यालय र सरस्वती आधारभूत विद्यालयमा जाने गरेको स्थानीयवासी प्रकाश चन्दले जानकारी दिए ।

लामो समय हिँडेर छिमेकी विद्यालयमा ज्यान बचाउनकै लागि जानुपरेको विद्यार्थी अशोक चन्दले बताए। पानी आए बाहिर पढ्न सकिँदैन, कक्षा कोठामा गए विद्यालय भत्किएर मृत्यु हुने डर छ उनले भने विद्यालयमा खानेपानी, शौचालयसमेत नहुँदा विद्यार्थी हैरान भएका छन्। छ कोठे जीर्ण भवनभित्र सबै काम गर्नुपर्दा हैरान भएको अध्यक्ष चन्दले बताए ।

'हामी सबै गाउँले मिलेर निर्माण गरेको विद्यालय हो, कसैले हेरेका छैनन' -उनले भने ।। भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीले विद्यालयमा देखिएको समस्या समाधानका लागि पहल गरिने बताए । रासस

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।