बुटवल । मिलनचोकमा अवस्थित तिलोत्तमा इन्स्टिच्यूटद्वारा बधाई,सम्मान तथा शुभकामना कार्यक्रम आयोजना गरिएको छ । सो कार्यक्रममा नेपाल प्रहरी तथा शसस्त्र प्रहरीतर्फ उक्त संस्थामा सेवा प्रवेश तयारी कक्षा अध्ययन गरी प्रहरी सहायक निरिक्षक (असइ) तथा जवानमा प्रवेश गरेका नव प्रवेशीहरु सहभागी थिए । सो कार्यक्रमको प्रमुख अतिथि नेपाल सरकारका उपसचिव तारा ज्ञवाली रहेका थिए ।
सेवा प्रवेश गर्न सफल करिब २५ जना सहित अन्य विशिष्ट अतिथिहरुमा नागरिक उड्डयन प्राधिकरणका उप प्रवन्धक किशोर आचार्य, नेपाल सरकारका शाखा अधिकृत श्याम कुमार पौडेल, नेपाल प्रहरीका अवकाश प्राप्त डिएसपि मेघराज कंडेल, संजीवनी कलेजका कार्यकारी प्रमुख दिपक रोका रहेका थिए । संस्थाका प्रबन्ध निर्देशक नवीन अधिकारीको अध्यक्षता तथा राजु अर्यालको संचालनमा सम्पन्न उक्त कार्यक्रममा नव सेवा प्रवेशी सबैलाई प्रमाणपत्रद्वारा सम्मान तथा अभिनन्दन गरिएको थियो ।
उपस्थित प्रमुख अतिथि तथा विशिष्ट अतिथिहरुले नव सेवा प्रवेशीहरुलाई बधाइ ज्ञापन गर्दै थप सफलताको लागि शुभकामना व्यक्त गरेका थिए । सभापति नवीन अधिकारीले प्रशिक्षार्थीहरु, प्रशिक्षकहरु र सस्थाको अथक प्रयासले काठमाण्डौ बाहिरबाट यति ठूलो संख्यामा असई र जवानमा सेवा प्रवेश गराउन सफल भएकोमा खुसी व्यक्त गरे । उपस्थित नव प्रवेशी असइ मध्येबाट आफ्नो मन्तव्य राख्दै ध्रुव कुमार कुँवरले तिलोत्तमा इन्स्टिच्युट, आवद्ध सम्पुर्ण प्रशिक्षकहरु एवम् सहपाठी सबैको संयुक्त प्रयासले सफलता प्राप्त भएको बताएका थिए ।
उनले मोफसलको उत्कृष्ट इन्स्टिच्युटको रुपमा तिलोत्तमा इन्स्टिच्युट रहेको भन्दै आफ्नो सफलताको प्रमुख सारथी समेत सो इन्स्टिच्यूट रहेको कुरा उनले सो कार्यक्रममा बताए । बुटवलको होटल मेरिगोल्डमा सम्पन्न सो कार्यक्रममा केही सांस्कृतिक झलकहरु समेत प्रस्तुुत गरिएको थियो।
प्रतिक्रिया