ताजा अपडेट »

शिक्षा पत्रकार समूहले पुस्तक प्रकाशनमा ल्याउने

मंगलबार, ०५ असोज २०७८, १९ : ०३
16 Shares
मंगलबार, ०५ असोज २०७८
16 Shares

बुटवल । शिक्षा पत्रकार समुहले शिक्षा बिट पत्रकारिताको प्रर्वद्धन, शैक्षिक मुद्दाकेन्द्रीत बहस अन्तरक्रिया, गुणस्तरीय शिक्षालगायत क्षेत्रमा अनुसन्धान र शिक्षासम्बन्धी पुस्तक प्रकाशन गरी शैक्षिक सुधारका लागि पैरवी गर्ने निर्णय गरेको छ । शिक्षा पत्रकार समूहको मंगलबार सम्पन्न २२ औं केन्द्रीय साधारणसभाले उक्त निर्णय गरेको हो ।

शिक्षा पत्रकार समूहले बितेका दुई दशकमा उठाएका शैक्षिक सवाल, टुंगो लागेका र नलागेका मुद्दाबारे एउटा पुस्तक प्रकाशन गर्ने जानकारी साधारणसभाका दिइएको थियो । त्यस्तै, शिक्षा क्षेत्रका विविध पक्षमा खोज अनुसन्धान र गहन रिपोर्टिङको कार्ययोजना पनि साधारणसभाले पारित गरेको छ ।

कोभिडका कारण भौतिक उपस्थितिमा कार्यक्रम गर्ने स्थिति नरहेकाले शिक्षा पत्रकार समूहले गत वर्षदेखि आफ्ना गतिविधि, अन्तक्रिर्या र कार्यक्रमहरु भर्चुअल माध्यमबाट गर्दै आएको छ । गत वर्ष समूहले शैक्षिक मुद्दामा खोजमुलक रिपोर्टिङ गर्ने ३३ शिक्षा पत्रकारलाई लेखनवृत्ति प्रदान गरेको थियो ।

शिक्षा पत्रकार समूह, शिक्षाका लागि राष्ट्रिय अभियान ९एनसिई० नेपाल र हिमालय टेलिभिजनको साझेदारीमा ‘बहसमा शिक्षा’ कार्यक्रम नियमित प्रसारण गर्दैआएको छ । तीन महिनामा १३ अंक प्रसारण हुँदा यो कार्यक्रममार्फत शिक्षा क्षेत्रका ३४ सरोकारवालासँग अन्तरक्रिया भईसकेका छन् । त्यस्तै, राष्ट्रिय योजना आयोगसँगको सहकार्यमा ‘सामुदायिक विद्यालयको सबलीकरणका निम्ति सबल विद्यालयहरुको अभ्यास अध्ययन’ गरिएको थियो । त्यसको प्रतिवेदन आयोगको वेवसाइटमा समेत छ ।

गत वर्षदेखि प्रादेशिक संरचनामा गएको शिक्षा पत्रकार समूहले प्रदेशस्तरमा पनि आफ्ना गतिविधि संचालन गर्दै आएको छ । कर्णाली प्रदेश समन्वय समितिले स्थानीय तहस्तरमा शैक्षिक मुद्दाबारे अन्तरक्रिया गर्दै आएको छ । त्यस्तै, अन्य प्रदेश समितिले पनि गतिविधि संचालन गरिरहेका छन् ।

काबा अध्यक्ष कृष्ण मल्लको अध्यक्षतामा सम्पन्न साधारणसभामा पूर्वअध्यक्षहरु राजन शर्मा, हरि थापा, सुदर्शन घिमिरे, नारायण अमृतले वर्तमान शैक्षिक मुद्दा, नेपालको शिक्षा पत्रकारिता र शिक्षा पत्रकार समूहको भावी दिशाबारे आफ्नो धारणा राखेका थिए । कर्णाली प्रदेश संयोजक कलेन्द्र सेजुवाल र सुदूरपश्चिम प्रदेश संयोजक शिवराज भट्टले अब प्रदेशमा पनि शैक्षिक बहस सिर्जना गरिने बताए । महासचिव जनक नेपालले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष ममता थापाले पेस गरेको आर्थिक प्रतिवेदन सुझावसहित पारित भएको छ ।

गत वर्षदेखि शिक्षा पत्रकार समूहको सांगठनिक क्यालेन्डर असोज ५ मा साधारणसभा र ५ फागुनमा स्थापना दिवस मनाउनेगरी तय भएको थियो । कोभिड १९ को प्रतिकूल कारणले भौतिक उपस्थिति कम गर्दै भर्चुअल माध्यमबाट साधारणसभा सम्पन्न गरिएको समुहले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।