मानवीय सभ्यताको इतिहासमा विभिन्न समयमा विविध प्रकारका प्राकृतिक प्रकोपहरु आइरहेका छन् । जसको पछिल्लो उदाहरणका रुपमा सन् २ं०१९ मा चीनको वुहान शहरमा पहिलो पटक प्रमाणित भएको नोवल कोरोना भाइरस अथात् कोभिड १९ लाई लिइन्छ । हालसम्म विश्वमा यसबाट पीडित हुनेको संख्या २२ करोड, ९८ लाख, १९ हजार, ७२३ रहेकोमा ४७ लाख,१३ हजार ४२९ मानिसले ज्यान गुमाउन पुगेका छन्। हरेक महामारी वा विपत्तिले केही न केही सकारात्मक सन्देश प्रवाह गरिरहेको हुन्छ।
प्रस्तुत लेखमा कोभिड १९ र यसका विभिन्न भेरियन्टहरुले मानवजातीलाई प्रदान गरेका सकारात्मक सन्देशका बारेमा छलफल गरिनेछ । वास्तवमा यो महामारी हो या विभिन्न अदृश्य कारणहरुले गर्दा महामारी नामाकरण गरिएको छ भन्ने बारेमा आजका दिनमा पनि अनेकौँ शंकाहरु भइरहेका छन् । विश्व स्वास्थ्य संग्ठनले विश्वव्यापी रुपमा नै मानवजातीले आफ्नो अस्तित्वका लागि आखीर लडाई जारी राखेको घटनाका रुपमा यसलाई परिभाषित गरेको अवस्थामा महामारी नै हो भनेर स्विकार्नुको विकल्प हाम्रा सामु छैनन् । कोभिड १९ र यसका नयाँ–नयाँ भेरियन्टले दिएका सन्देशहरुलाई क्षेत्रगत रुपमा निम्नानुसार उल्लेख गरिन्छ:
१ जनस्वास्थ्यका क्षेत्रमा
यो महामारी विशुद्ध रुपमा मानविय स्वास्थ्यसँग सम्बन्धित रहेको छ । मानविय स्वास्थ्यका क्षेत्रमा यसले निकै नै सकारात्मक सन्देश प्रवाह गरेको छ । विकसित मुलुकहरुका बीचमा भईरहेको हात हतियार उत्पादन तथा आवविक भट्टी स्थापना र सञ्चालन गरी शक्तिशाली देशका रुपमा आफूलाई दर्ज गराउने जस्तो अमानवीय कार्यलाई यसले सोँच्न बाध्य बनाएको छ । यसका साथै विकसित तथा विकासोन्मुख दुवै अर्थतन्त्रको प्रमुख प्राथमिकता क्षेत्रमा मानविय स्वास्थ्य पहिलो नम्बरमा पर्नु पर्दछ भन्ने मान्यतालाई जर्बरजस्ती स्थापित गराएको छ ।
त्यसैगरि विश्वका हरेक नागरिकहरुलाई आफ्नो र परिवारको स्वास्थ्य अवस्था प्रति पूर्ण रुपमा जिम्मेवार हुन सिकाएको छ । हरेक नागरिकहरुलाई व्यक्तिगत, पारिवारीक तथा सामुदायिक स्वास्थ्यका क्षेत्रमा आफ्नो व्यस्त दैनिकीका बीच पनि समय व्यवस्थापन गरि सक्रिय रुपमा सहभागिता जनाउन उत्प्रेरित गरेको छ । सर्ने र नसर्ने दुवै प्रकारका रोगहरुको नियन्त्रणको प्रमुख औषधि भनेको आफ्नो दैनिकी हो भन्ने तथ्यलाई समेत यस रोगले प्रमाणित गरेको छ । यसका अक्तिरिक्त हामी हाम्रो स्वास्थ्यलाई स्वस्थ्य राख्नका लागी पालना गर्नुपर्ने नैतिक आचरणका बारेमा समेत स्पष्ट रुपमा व्यवहारिक सन्देश प्रदान गरेको छ ।
२ शैक्षिक क्षेत्रमा
शैक्षिक क्षेत्रमा कोभिड १९ ले युगान्तकारी परिवर्तन ल्याएको छ । विज्ञान र प्रविधिले विकसित गरेका आधुनिक सूचना प्रणालीका प्रविधिहरुलाई जर्बर जस्त तवरले विश्वका अधिकांश देशहरुले प्रयोगमा ल्याएका छन् । जसका कारणले आज संसार शिक्षाका क्षेत्रमा एउटा यन्त्रमा समेटिएको छ। कोभिड-१९ का कारण विश्वभर विश्वविद्यालय तथा सम्पूर्ण शिक्षण संस्थाहरुले अनिवार्य रुपमा डिजिटल प्रविधिलाई दैनिक शिक्षण सिकाई क्रियाकलापको माध्यम बनाइसकेकोले गर्दा शिक्षा र शिक्षण सिकाई क्रियाकलापलाई प्रविधिसँग सम्बन्ध स्थापित गराउने कार्यमा कोभिड १९ को अत्यन्तै सकारात्मक योगदान रहेको छ ।
यो महामारीका कारणले गर्दा सिकारुको सिकाई क्रियाकलापमा कुनै प्रकारको अवरोध उत्पन्न नहोस् भनेर सञ्चालनमा ल्याइएका थुप्रै प्रविधिहरुले अहिले विविध कारणले गर्दा आफ्नो अध्ययनलाई अगाडि बढाउन नसकेकाहरुको लागी बलियो आधार बनेर स्थापित भई रहेका छन । कोभिडकै कारणले गर्दा विकसित गरिएका थुप्रै शिक्षण सिकाई प्रविधिको प्रयोगले गर्दा आजका एक ठाँउका सिकारुहरुले आफ्नो जिज्ञासा वा समस्याहरुलाई सम्बन्धित विषयका विज्ञहरुसँग सजिलै राख्न र बुझ्न समेत पाएका छन् । कोभिड-१९ कै कारणले गर्दा विकासोन्मुख मुलुकहरुमा इन्टरनेटलाई अनिवार्य रुपमा शिक्षण सिकाई क्रियाकलापमा जोड्न थालिएको छ ।
कम्प्युटर र इन्टरनेटसँग सम्बन्धित विषयहरु समेत सैद्धान्तिक कक्षा शिक्षण सिकाईबाट पुरा गरिने नेपालको शैक्षिक पद्धतिमा यसले व्यवहारिक रुपमा नै सकारात्मक सन्देश तथा सिकाई अनुभव प्रदान गरेको छ । कोभि-१९ को सुरुवातदेखि २०७८ भाद्र महिनासम्ममा नेपालमा रु. ७ अर्ब भन्दा बढिका ल्यापटपहरु ऋायात हुनुले पनि शिक्षा क्षेत्रमा विज्ञान र प्रविधिले विकसित गरेका शिक्षण साम्रगीको प्रयोगमा यसले दिएको सन्देशका रुपमा चित्रण गर्न सकिन्छ ।
३ अर्थतन्त्रमा
कोभिड १९ र यसका विभिन्न भेरियन्टहरुले उत्पादन , उपभोगका क्षेत्रमा नकारात्मक प्रभाव पारेको भएता पनि यसका केही सकारात्मक सन्देश पनि दिएको छ । कोभिड–१९ का कारण विश्वका हरेक अर्थतन्त्रले आफ्ना आर्थिक क्रियाकलापहरुलाई अनिवार्य रुपमा डिजिटल माध्यमबाट गर्नुपर्ने कुरालाई स्थापित गराएको छ । विश्वका हरेक अर्थतन्त्रलाई जबर्रजस्त रुपमा अनलाइन भुक्तानीमा लैजाने,हरेक कारोवारमा इन्टरनेट र विद्युतिय यन्त्रको प्रयोग गर्ने प्रणालीमा आधुनिकता र व्यवसायिकतामा वृद्धि ल्याउनको लागि यसले रणनीतिक रुपमा महत्वपूर्ण योगदान पुर्याएको छ ।
त्यसैगरी जस्तोसुकै महामारीको समयमा पनि बजार संयन्त्रहरु मग र आपूतीका बीचमा अवरोध हुनु हुँदैन भन्दै अनलाइनका माध्यमबाट सम्पूर्ण कारोवारलाई व्यवस्थित रुपमा सञ्चालनमा ल्याउनका लागी समेत यसले हामी सबैलाई आवश्यक ज्ञान छोटो समयमा व्यवहारिक रुपले प्रदान गर्न सफल भएको छ । वर्तमान समयमा विश्व अर्थतन्त्र र यसका नियामक सस्थाहरुले स्थापना गर्न कोशिश गरिरहेको ईकर्मश र इबैंङ्गि कारोबारलाई निकै नै सजिलो तरिकाले सबै उपभोक्ताहरुलाई अनिवार्य रुपमा प्रयोगमा ल्याउनका लागि यसले उत्प्ररित गरेको कुरालाई आर्थिक सन्देशका रुपमा बुझ्नु आवश्यक छ ।
४ पर्यावरणीय क्षेत्रमा
कोभिड १९ को संक्रमणको गतीलाई एक ठाँउबाट अर्को ठाँउको मानिसमा सर्नका लागी न्यूनिकरण गर्नका लागि गरिएको बन्दाबन्दीले लामो समय देखी विभिन्न मानवीय तथा औद्योगिक क्रियाकलापहरुबाट नकारात्मक रुपमा प्रदुषित भएको वातावरणमा सुधार आएको थियो ।
जसलाई आधार मानेर विश्वका पर्यावरण विज्ञहरुले हरेक वर्ष कम्तीमा ५ दिन पर्यावरण सुधार र संरक्षणका लागि पनि अनिवार्य रुपमा बन्दाबन्दी गर्नुपर्ने सिफारिस गरेको तथ्यले गर्दा पनि पर्यावरणमा सुधार ल्याउनका लागि सकारात्मक सन्देश प्रवाह गर्नका लागि यो नोवल कोरोना भाईरस सफल भएको छ । हामी आफू अवस्थित रहेको वातावरणको उचित संरक्षण र सदुपयोग गर्न सकेको खण्डमा मानविय स्वास्थ्यका दृष्ट्रिकोणले खतरनाक मानिएका विविध प्रकारका रासयनिक तत्वहरुको उत्पादनलाई समेत न्यूनिकरण गर्न सकिन्छ भन्ने कुरालाई समेत त्यो बन्दाबन्दीले प्रमाण्ति गरेको छ ।
५ पूर्वाधार विकासका क्षेत्रमा
देशको भौतिक पूर्वाधार विकासको अवस्था र प्राप्त सुविधाले त्यो देशका नागरिकहरुको मानव विकासको वास्तविक प्रतिबिम्ब प्रस्तुत गर्दछ । कोभिड १९ का कारणले अब हरेक देशहरुले आफ्नो देशको पूर्वाधार विकासको नमूना वा कार्यायोजनामा आमुल रुपान्तरण गर्नुपर्ने अवस्थाको सिर्जना गरिदिएको छ । विकसित तथा विकासोन्मुख दुवै अर्थतन्त्रले आफ्नो देशमा सञ्चालित सम्पूर्ण पूर्वाधार विकासका कार्यक्रमहरु मुख्य रुपमा आम मानिसको सहज पहुँच स्थापित हुने गरि सञ्चालित हुनु पर्ने तथ्यलाई प्रमाणित गरेको छ ।
विशेषगरि स्वास्थ्य क्षेत्रका पूर्वाधार विकास तथा विस्तारका कार्यक्रमहरु सञ्चालन गर्दा हरेक उमेर समुहका नागरिकको सहज पहुँच हुने गरि अगाडी बढाउनु पर्ने कुरालाई पछिल्लो समयमा नेपाली नागरिकहरुले आभारभूत स्वास्थ्य सुविधा प्राप्त गर्न नसकि मृत्यु वरण गरेको कुराले स्पष्ट पारेको छ । देशका हरेक भौगोलिक क्षेत्रमा समान महत्वका आधारमा विकासका पूर्वाधारहरु जस्तैँः अस्पताल , यातायात तथा सञ्चारका पूर्वाधारहरुको विकास गरिनु पर्दछ भन्ने कुरालाई यसले आफ्नो महत्पूर्ण सन्देशका रुपमा प्रदान गरेको छ ।
कोभिड १९ र यसका विभिन्न भेरियन्टहरु माथी उल्लेख गरिएका बाहेक अन्य विविध क्षेत्रहरुमा समेत सकारात्मक सन्देश प्रवाह गरेको छ । कोभिड १९ का कारणले मानिसहरुले आफ्नो आम्दानीको केही हिस्सा अनिवार्य रुपमा बचतमा लगाउनु पर्दछ भन्ने तथ्यलाई बुझेका छन । राज्यले सबै भन्दा देशको विकासका योजना निमार्ण गर्दा मानव शंसाधन विकासलाई प्रमुख प्राथमिकता दिनुपर्नेमा सचेत गराएको छ । देशको अर्थतन्त्रलाई आत्मनिर्भर बनाउनका लागि स्वदेशी लगानीमा स्थापित भई स्वदेशी श्रम र प्रविधिको प्रयोग गर्ने उद्योगहरुलाई सरकारले विशेष संरक्षणको नीति निर्माण गर्न चुक्न नहुने कुरालाई पनि यस संक्रमणले सन्देशका रुपमा दिएको छ ।
संक्रमणले संकट निम्ताएपछि यससँग जुध्न संघर्ष गर्ने र समाधानका लागि पनि सामथ्र्य तयार गर्दछ । तर, संकटमा मात्रै सावधानी र प्रयासका कुरा गर्ने हाम्रो परम्परागत शैलीलाई त्यागेर आगामी दिनमा संक्रमण र संकट पूर्व नै समाधानका संरचना र संयन्त्र निर्माणमा ध्यान दिन जरुरी छ ।
प्रतिक्रिया