बुटवल । इन्टरनेट सेवा प्रदायकहरुले शुल्क बढाउने गतिविधिप्रति क्यान महासंघले ध्यानाकषर्ण गरेको छ । नेपाल विद्युत प्राधिकरणको गतिविधिका कारण निजि क्षेत्रका इन्टरनेट सेवा प्रदायकबाट प्रदान भैरहेको इन्टरनेटको शुल्क बढ्ने/बढाउने प्रयासप्रति क्यान महासंघको ध्यानाकर्षण भएको जनाएको छ ।
इन्टरनेट सेवालाई सर्बसुलभ बनाउन करको दरहरुलाई विभिन्न प्रकारले समीक्षा गर्न क्यान महासंघ विगतमा दिँदै आएको सुझाबलाई सरकारले बेवास्ता गरेका कारण शुल्क बढाउनु पर्ने अवस्था सिर्जना भएको भन्दै त्यसतर्फ समेत ध्यानाकर्षण भएको जनाएको छ । संघका महासचिव नारायण थापाद्वारा मँगलबार जारी विज्ञप्तिमा भनिएको छ–‘ईन्टरनेट सेवा प्रदायक संघले विगतका निति तथा कार्यक्रम तथा बजेटमा बारम्बार दिएको सुझाव विपरित सरकारी निकायकै गतिविधिका कारण पुर्वाधारको लागत अझ बढन गई ईन्टरनेट सेवा प्रवाहमा प्रति ग्राहक १ सय पचास देखि ३ सयसम्म शुल्क बढ्नु पक्कै पनि सुखद हुन सक्दैन ।’
‘माननीय ऊर्जामन्त्रीस ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय तथा नेपाल विद्युत प्राधिकरणसंग पोल तथा OPGW भाडादर बढाउने निर्णय फिर्ता लिन तथा पोल एवं OPGW भाडादर पुनरावलोकन समितिको प्रतिवेदन र मिति २०७७ साल भाद्र ५ गते बसेको नेपाल विद्युत प्राधिकरण संचालक समितिको बैठकको निर्णय अनुरुप भाडादर (पुरानो आ. व. हरुको र हालैको) लागु गर्न अनुरोध गर्दछ ।’-विज्ञप्तिमा उल्लेख गरिएको छ ।
प्रति किलोमिटरका दरले पोल भाडादर कायम गर्दा इन्टरनेट सेवा प्रदायक, आम उपभोक्ता तथा डिजिटल नेपाल अभियानकै लागि ब्यबहारिक नहुने क्यान महासंघले जनाएको छ । साथै सो सम्बन्धि निर्णयका निम्ति सम्बन्धित पक्षहरु बीच बैठक र छलफलहरु भैरहेको अवस्थामा भरतपुर लगायत देशका विभिन्न ठाउँहरुबाट इन्टरनेट सेवा प्रदायकहरुका दुरसंचार उपकरणहरु विना अनुमति निकाल्ने/लैजाने, इन्टरनेट सेवा मर्मत गर्न रोक लगाउने जस्ता क्रियाकलापहरु रोक्न तथा विना अनुमति लगिएका दुरसंचार उपकरणहरु सम्बन्धित इन्टरनेट सेवा प्रदयाकहरुलाई तत्कालै फिर्ता गर्न सम्बन्धित पक्षहरुलाई क्यान महासंघले आग्रह गरेको छ ।
इन्टरनेट सेवा सम्बन्धि चर्को करका वावजुत पनि नेपालमा निजि क्षेत्रबाट इन्टरनेट सेवा लिइरहेका करिव ९३ प्रतिशत ग्राहकहरुले तारसहितको इन्टरनेट सेवा अहिलेको दरमा उपभोग गर्न पाएको जानकारी गराउँदै संघले विगतमा नेपाल विद्युत प्राधिकरणको सुझबुझपूर्ण निर्णयका कारण निजि क्षेत्रका इन्टरनेट सेवा प्रदायकहरुले विद्युत प्राधिकरणको पोल तथा अप्टिकल ग्राउन्ड वायर (OPGW) भाडा समसामयिक दरमा प्रयोग गर्नाले आमउपभोक्तालाई सर्वसुलभ दरमा इन्टरनेट सेवा प्रदान गर्न सम्भव भएको जनाएको छ ।
प्रतिक्रिया