बुटवल । राष्ट्रिय जनगणना २०७८’ बुधबारदेखि ‘मेरो गणना, मेरो सहभागिता’ भन्ने नाराका साथ शुरु भएको छ । तर यस पटकको जनगणना विगतभन्दा केही पृथक र बृहत हुने देखिएको छ । दशकौंदेखि आफ्नो अधिकार प्राप्तीका लागि संघर्षरत यौनिक तथा लैंङ्गिक अल्पसंख्यक (महिला समलिङ्गी, पुरुष समलिङ्गी, द्विलिङ्गी, तेश्रो लिङ्गी र अन्तरलिङ्गी) समूदायको पनि तथ्याकं लिइदैछ ।
विगतको जन गणनामा लिङ्गको महलमा महिला र पुरुष मात्र उल्लेख गर्ने गरिएकाले यौनिक तथा लैङ्गिक अल्पसंख्यकको तथ्याकं आउने गरेको थिएन । जसका कारण सरकारसँग अधिकार दाबी गर्न पनि उक्त समूदायका व्यक्तिहरु कानुनी समस्यामा थिए । तर यस पटक पहिचान अनुसारको तथ्याकं आउनेमा अधिकारकर्मीहरु ढुक्क छन् ।
साहसीक कदम नेपालका अध्यक्ष आनिक राना मगरले लामो समयको प्रयासपछि तथ्याकं विभाग एउटा निष्कर्षमा पुगेर हाम्रो समूदायको तथ्यांक लिने काम गरिरहेकाले उत्साह थपेको बताउँछिन् । ‘हुनत भनेजति तथ्याकं आउँछ भन्नेमा हामी विश्वस्त छैनौं । तर यस पटक जुन प्रयास भएको छ त्यो उत्साहको विषय हो ।
हाम्रो अधिकार स्थापित गराउन अब आउने नयाँ तथ्याकंले केही हदसम्म सहायता पुग्छ’, अध्यक्ष मगर भनिन्,‘अब संख्याका आधारमा अधिकार खोज्न थाल्नेछौं । संविधानले दिएको अधिकार माग्नेछौं । यसका लागि देशभर लुकेर रहनुभएका समूदायका साथीहरुले आफ्नो पहिचान खुलाएर जन गणनामा सहभागि भइदिन अनुरोध गर्दछु ।’
प्रतिक्रिया